|

जाजरकोट : जाजरकोट र रुकुम पश्चिममा ३८ जनाको स्वाब संकलन गरी सुर्खेत पठाएको छ।

जाजरकोटको भेरी नगरपालिकामा भारत तथा तेस्रो मुलुकबाट आएका ९ जना र रुकुम पश्चिमका बिभिन्न स्थानीय तहबाट २९ जनासहित ३८ जनाको स्वाब परीक्षणका लागि सुर्खेत पठाएको हो। रुकुम पश्चिमबाट स्वाब परीक्षणका लागि नमुना लिइएको यो दोस्रो पटक हो। 

पहिलो पटक दुई जनाको लिइएकोमा दुवै नेगेटिभ रिपोर्ट आएको थियो। दोस्रो पटक कोरोना संक्रमण परीक्षण गर्न जिल्लामा अहिलेसम्मकै बढी स्वाब संकलन गरिएको छ। स्वाब संकलन गरिएका मध्ये ९ जना मात्र क्वारेन्टाइनमा बसेका हुन्। 

पछिल्लो तथ्यांकअनुसार जिल्लाका विभिन्न क्वारेन्टाइनबाट ५० भन्दा बढी मान्छे स्वाब परीक्षण नगरी घर गएका छन्। दुई हप्ता क्वारेन्टाइनमा बस्दा पनि स्वास्थ्यस्थिति सामान्य भएपछि घर पठाइएको स्थानीय तहले जनाएका छन्।

सरकारले दोस्रो तथा तेस्रो देशबाट आएका सवैलाई स्वास्थ्य परीक्षण अनिवार्य गनुपर्ने भएकाले सोही अनुसार सवैको स्वाब संकलन गरी जाँचका लागि सुर्खेत पठाएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए। रुकुम पश्चिम चौरजहारी नगरपालिकाले बनाएको आइसोलेसनमा एक जनालाई राखिएको छ। 

१२ शय्याको आइसोलेसन नयाँ भवन निर्माण कार्य जारी 

रुकुम पश्चिम आठविसकोट नगरपालिकामा १२ शय्याको आइसोलेसन कक्ष स्थापनाका लागि धमाधम काम भइरहेका छ। १२ शय्याको आइसोलेसन कक्ष स्थापना गर्न १० दिनमै भवन निर्माणको काम सम्पन्न गर्ने गरी रातदिन काम भइरहेको नगर प्रमुख गोरखबहादुर केसीले बताए। उनका अनुसार विश्वभरि महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्यनजर गरी नगरपालिकाले १२ वेडको आइसोलेसन कक्ष स्थापना गर्न लागेको हो।

कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखा परेका विरामीलगायत अन्य कुनै पनि सरुवा रोगका विरामीलाई अलग्गै राखेर उपचार गर्नका लागि आइसोलेसन कक्ष स्थापना गर्न लागिएको उनले बताए। १० दिनभित्रै सुविधायुक्त भवन निर्माण गर्ने गरी काम भइरहेको नगर प्रमुख केसीले दाबी गरे।

वडा नम्बर ९ स्थित आठविसकोट नगर अस्पताल नजिकै अहिले भवन निर्माणको काम धमाधम भइरहेको छ। काम छिटो सम्पन्न गर्नका लागि राति दिन काम भइरहेको उनको भनाई छ। भवन निर्माणमा अहिले दैनिक ३२ जना श्रमिक काममा खटिएका छन्।

भवन निर्माणका लागि आवश्यक सामग्री पनि ल्याउने क्रम जारी छ। बिहीबार मात्रै १७ हजार इँट्टा आइपुगेको निर्माणको जिम्मा लिएका भीमराज केसीले बताए। भवन निर्माणका लागि करिव ५० हजार इँट्टाको आवश्यकता पर्ने उनले जानकारी दिए।

थप सामग्री पनि तत्कालै ल्याउने र टार्गेट अनुसार निर्माण सम्पन्न तीब्र गतिमा काम भइरहेको उनको भनाई छ। यसैबीच नगर प्रमुख केसीले कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि तीब्र रुपमा तयारी भइरहेको बताए। अहिले निर्माण गर्न लागिएको आइसोलेसन कोरोनाका विरामी मात्र नभई सबै प्रकारका विरामीको उपचारका  लागि प्रयोग हुने उनले बताए।  

सरुवा रोगका विरामीलाई अलग्गै राखेर उपचार गर्न सजिलो होस् भनी स्थायी रुपमा आइसोलेसन कक्ष स्थापना गर्न लागिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.