|

सिर्जना अधिकारी

लमजुङ : कोरोना भाइरस संक्रमणको कारण देश लकडाउन भएसँगै लमजुङका दुग्ध उत्पादक कृषक मर्कामा परेका छन्। दैनिक उत्पादित दूध र दूधजन्य परिकारले बजार नपाएपछि कृषक समस्यामा परेका हुन्। 

लकडाउनका कारण दूध खपत हुने बजार बन्द भएपछि दैनिक उत्पादित दूध र दूधजन्य परिकारले बजार नपाएको भन्दै कृषकहरुले चिन्ता व्यक्त गरेका हुन्। दूधको बजार नपाएपछि अन्य विकल्प खोजेका कृषकले त्यसमा पनि सफलता नपाएपछि दैनिक नोक्सानी सहनु परेको सुन्दरवजार ७ पाउदीका कृषक ध्रुब पोख्रेलले बताए। 

दूध बिक्री हुन नसकेपछि दूधबाट बन्ने पनिर तथा चिज उत्पादन गर्दै आएपनि दूधजन्य परिकारको पनि बजार नपाएर दैनिक करिव ४० हजार नोक्सानी सहनुपरेको कृषक पोख्रेलको भनाई छ। दैनिक आफ्नो व्यक्तिगत करिव तीनसय लिटर र अन्य छिमेकीको सोही अनुपातमा जम्मा हुने दूध बिक्री नभएपछि ठूलो मात्रामा नोक्सानी सहनु परेको पोख्रेलको भनाई छ। 

लमजुङको मुख्य बजारसहित पोखरासम्म दूध र दूधजन्य परिकार बिक्री हुने गरेकोमा हाल लकडाउनका कारण सवारी सँगै बजार नहुँदा कठिनाई भएको पोख्रेलले बताए। उनका अनुसार शहरी क्षेत्रमा रहेका ठूला तथा साना होटल बन्द भएपछि चिज तथा पनिरको पनि बजार नपाउदा दैनिक दूध खेर जाने गरेको छ।

दैनिक दुईसय ५० लिटर दूध बिक्रीगर्दै आएका सुन्दरवजारकै अर्का कृषक मनमोहन अधिकारीले पछिल्ला साताबाट दैनिक ५० लिटर दूधमात्रै बिक्री हुने गरेको बताए। उनले दूधसँगै पनिर र चिज पनि बिक्री हुन छोडेपछि घ्यू उत्पादन गर्ने प्रयास गरेको बताए। तर घ्यू उत्पादनका लागि लगानी अनुसारको प्रतिफल नआउने हुँदा दैनिक नोक्सानी बेहोर्नु उनको भनाई छ। 

लकडाउनकै कारण दूध र दूधजन्य उत्पादन बिक्री नहुने र यही समयमा दाना तथा पराल पाउन र ढुवानीमा समेत समस्या हुँदै आएको अधिकारीको भनाई छ। दाना, चोकर तथा पराल ढुवानी समस्यासँगै खरिद मूल्य समेत महँगीएको कृषक अधिकारीले बताए।

जिल्लाका अधिकांश कृषकले बढी मात्रामा लमजुङसहित अन्य जिल्लाका होटलमा दूध बिक्री गर्दै आएका थिए। तर लकडाउनकै कारण होटल बन्द भएपछि बजार अभाव भएको बेसीशहर ४ किरिन्चेका कृषक ऋषिकान्त खनालले वताए। 

नालका अनुसार आफ्नो फार्ममा मात्रै दैनिक तीनसय लिटर भन्दा बढी  दूध उत्पादन हुने गरे पनि पछिल्लो समय बिक्री नहुँदा ठूलो नोक्सानी सहनुपरेको छ र दैनिक कृषकहरु ठूलो मारमा परेको भन्दै कृषक खनालले सरकारी निकाय वा सरोकारवाला निकायले कृषकलाई राहात हुनेगरी काम गर्नुपर्नेमा जोड दिए।

बजार व्यवस्थापनमा सम्वन्धित निकायले ध्यान दिन सकेको भए कृषक मर्कामा नपर्ने उनको भनाई छ। दूध बिक्री नहुँदा अहिले कृषक दैनिक १० हजारदेखि ३० हजारसम्म नोक्सानी बेहोर्नु परेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

दूध र दूधजन्य उत्पादनको बजार नपाएपछि दैनिक नोक्सानीले झनै समस्या बनाएको कृषकको दुखेसो छ। जिल्लामा ६० भन्दा बढी व्यवसायिक कृषक गाई भैँसी पालेर दूध तथा दूधजन्य परिकार बिक्री गर्दै आएका छन्।

जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा केन्द्रका अनुसार लमजुङमा दैनिक ४६ हजार लिटर दूध उत्पादन हुने गरेको छ। उत्पादित दूध वा दूधजन्य परिकारमध्ये आधा भन्दा बढी जिल्लामा खपत हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताए। हाल कोभिड–१९ को संक्रमण डरले मुलुकभर लकडाउनको प्रभाव परेपछि दूध र दूधजन्य परिकार बिक्री हुन सकेको छैन। जसले उत्पादित दूध जिल्ला बाहिर पठाउन सकिएको छैन भने पहिलेको अनुपातमा जिल्लाभित्र पनि दूध बिक्री हुन सकेको छैन। 

दैनिक गाईभैँसीलाई दाना, चोकर, पराल खुवाउनुपर्ने तर त्यहिँ खाना खरिद गर्ने मुल्य समेत नपाउदा दैनिक नोक्सानीमा जानुपरेको कृषकहरुको दुःखेसो छ। पछिल्ला दिनमा दूधले बजार नपाएपछि कृषकले गाई भैसीको दूध नदुहुने, साविक भन्दा बढी बाच्छाबाच्छी वा पाडापाडीलाई खुवाउने गर्दै आएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.