|

म्याग्दी : हिमालपारीको जिल्लाका रुपमा चिनिएको मुस्ताङमा कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको छ। जिल्लाका विभिन्न स्थानीय तहहरुमा ९३ वटा शय्या क्षमताको क्वारेन्टाइन निर्माण गरिएको हो।

घरपझोङ गाउँपालिकामा सबैभन्दा धेरै ३९ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ। थासाङ गाउँपालिकामा २५, लोमान्थाङ गाउँपालिकामा १४, बाह्रगुङ मुक्तिक्षेत्रमा १० र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पाँच शय्या क्षमताको क्वारेन्टाइन निर्माण गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।

थासाङको घाँसामा निर्माण गरिएको क्वारेन्टाइनमा विदेशबाट आएका सातजनालाई राखिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए। 

पाँचवटै स्थानीय तहले सडक, बजार तथा बढी भीडभाड हुने ठाउँमा कीटनाशक छर्किएका छन्।

मुखिया र कटुवालको सक्रियता

कोरोनाको सम्भावित संक्रमण रोकथाम र नियन्त्रणका लागि मुस्ताङका मुखियाहरुले पनि सक्रियता देखाएका छन्।

मुखियाहरुले कोरोनाविरुद्ध सतर्कता अपनाउन कटुवाल प्रथामार्फत घोक हालेर सुरक्षित रहन स्थानीयलाई सचेत गराएका छन्। सूचना प्रविधिको पहुँच नपुगेका तथा प्रयोग गर्न नजानेका व्यक्तिहरुलाई पनि कोरोनाको संक्रमणबाट बच्ने उपाय सिकाउन कटुवालले घोक हालेर जानकारी दिने गरेको स्थानीय थम गुरुङले बताए।

मुस्ताङ प्रवेश गर्ने सीमानाका बन्द 

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने मुख्य नाका घाँसा क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, एक्याप र स्थानीयवासीको सहयोगमा मुस्ताङ प्रवेशमा रोक लगाइएको प्रजिअ अर्यालको जानकारी दिए।

त्यस्तै, मनाङको थोरङ्लापास क्षेत्र हुँदै मुस्ताङ प्रवेशमा पनि रोक लगाइएको छ भने सीमानाकाका जनतालाई सचेत रहन आग्रह गरिएको छ।

मुक्तिनाथमा भक्तजनलाई रोक

हिन्दू र बौद्ध धर्मावलम्बीहरुको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा तीर्थयात्री र पर्यटकका लागि पूजाआजा बन्द गरिएको छ।

मन्दिरका पूजारीले नित्यपूजाबाहेक कोही पनि भक्तजन, दर्शनार्थी र पर्यटकहरुलाई मन्दिर परिसरमा जान दिइएको छैन।

२६ जना विदेशी पर्यटक मुस्ताङमा 

लकडाउन हुनुभन्दा पूवै नै मुस्ताङ भ्रमणमा पुगेका विभिन्न देशका २६ जना पर्यटक मुस्ताङमा नै रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।

उनीहरु आफ्नो देशभन्दा नेपालमा नै सुरक्षित हुने भन्दै मुस्ताङका विभिन्न होटेलहरुमा दुईतीन जनाका दरले बसेका छन्। मुस्ताङमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीहरु पनि पर्याप्त रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

लकडाउनको समयमा खाद्यान्न, औषधि र बिरामी बोकेका सवारीसाधन, एम्बुलेन्स र सुरक्षाका सवारीहरु भने चलेका छन्। यस्तै ज्याला, मजदुरी गरेर खाने तथा विपन्न परिवारलाई राहत दिनका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलन गरी राहत वितरणको काम अगाडि बढाएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.