|

उदयपुर : कोरोना भाइरस (कोभिड–१९) विश्वभर महामारी रुपमा फैलिएपछि नेपाल सरकारले  लकडाउन लगाएको छ। लकडाउनको मारमा सबैभन्दा बढी दैनिक मजदुरी गरी खाने सर्वसाधरण परेका छन्।

दैनिक मजदुरी गर्नेहरु लकडाउनका कारण कामविहीन भएका छन्। कामविहीन भएपछि उनीहरुलाई बिहान बेलुका खान धौधौ परेको छ। त्यसैले उनीहरु काम गरेको ठाउँबाट घरसम्म जान भोकभोकै केही पैदल त केही आफुले काम गरेका कम्पनीको गाडीबाट घरसम्म जान थालेका छन्।

सोलुखुम्बुको सोलु–बेनी हाइड्रोपावरमा काम गर्ने सप्तरी र सिरहा घर भएका १२ मजदुर सोलुखुम्बुदेखि उदयपुरको कटारी नगरपालिकाको घुर्मीसम्म पैदल आएका थिए। त्यहाँदेखि उनीहरु पास लिएको युपी ११ टी ५०६८ नम्बरको ट्रकमा भोकभोकै सोमबार कटारी आइपुगेका थिए। लकडाउनले समस्या भएपछि घर फर्केका उनीहरुलाई अस्थायी ट्राफिक प्रहरी पोष्ट कटारीका जवान नवीन दाहालले चेकजाँचका क्रममा एक सातादेखि खाना नखाएको पाए। त्यसपछि उनले ती मजदुरहरुलाई चिउरा,चाउचाउ, दालमोड र पानी दिए। एक सातापछि खाना खान पाउँदा खुसी देखिएका उनीहरुले जवान दाहाललाई धन्यवाद दिएका थिए।

सोलुखुम्बु, ओखलढुंगाका सबै होटल र पसलहरु बन्द रहेकाले उनीहरु एक सातादेखि भोकभोकै पैदल र घुर्मीदेखि ट्रकमा कटारी र्आइपुगेका थिए। पैदल हिँड्दा उनीहरुको खुट्टा सुन्निएको प्रहरी जवान नवीनले बताए। ‘ट्रकको डालीमा आएका उनीहरुलाई सोधखोज गर्दा एक सातादेखि खाना नखाइ आइपुगेको बताएपछि चिउरा, खाजा दिएँ,’ दाहालले भने, ‘सोधखोजपछि डिएसपी सापलाई जानकारी दिएर खुवाएँ।।’

खाना खाइसकेपछि उनीहरुलाई कोरोनासम्बन्धी सचेतना दिंदै कटारीबाट पैदल घर पठाइएको पनि दाहालले बताए। केही साताअघि उदयपुरकै ट्राफिक प्रहरी जवान शिवी राईले सिराहाबाट पाँच दिन हिँडेर आएका ८२ वर्षीय वृद्धलाई सडकमा भेटेपछि खाना दिएका दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.