|

कोरोनाको संक्रमणबाट हुने कोभिड-१९ का सूचना आएपछि सबैभन्दा दीर्घरोगका बिरामीहरूलाई निकटवर्ती मृत्युको भयले गाँजेको होलाजस्तो मलाई लागिरहेको छ। लकडाउन र होम क्वारेन्टाइनले गाउँ र शहरमा छाएको शान्ति मुर्दाशान्ति पो हो कि!

कोभिड १९ को समस्याबारे सूचनाहरू सार्वजनिक हुने बेलामा म त्यति सजग थिइनँ। यो गर्मीयाम लागेपछि मौसमी ज्वरो आफैँ हराएर जान्छ भन्ने ठानियो। तर, अवस्था त्यस्तो रहेन, गर्मी सुरु भइसक्दा पनि रोगले चिनको वुहान शहरबाट इटली हुँदै अमेरिकामा आफ्नो इपिसेन्टर सारेको छ। 

वास्तवमा विश्व अर्थतन्त्रको मूलप्रवृत्ति नवउदारवादी पुँजीवादी आर्थिक मोडेलहरूले काम गर्न छाडेका छन्। जीवन र मृत्युका बीचमा छटपटाइरहेका मानिसहरूलाई आश्वस्त पार्ने उनीहरूसँग कुनै आशावादी सन्देश छैनन्।

रिपोर्टहरू सार्वजनिक हुदै गर्दा वुहानमा मरेका ८० प्रतिशत कोरोना भाइरसका बिरामी मध्ये मुटु फोक्सो र मधुमेहका बिरामी छन, अधिकांश ६० बर्ष भन्दा बढि उमेरका छन। रोग शुरु भएको दुई महिनामा नै यसले ’बिश्वव्यापी यात्रा‘ सम्पन्न गरि सकेको छ।  वर्ल्डोमिटरको तथ्याङ्क अनुसार यस आलेखको तयार गर्दा १६ लाख संक्रमित मध्ये ९५ हजार बढिको मृत्यु भएको छ भने झण्डै ३ लाख ५० हजार निको भएका छन।

 

रोग सक्रमण अस्पतालहरूको डिष्चार्ज रिपोर्टमा २१ प्रतिशत मृत्यु प्रतिशत र ७० प्रतिशत निको हुने दर छ। विशेषता के छ भने ७१ प्रतिशत पुरुषलाई यो संक्रमण देखिएको छ। यसले गर्दा संसारमा यस अदृष्य भाइरसका कारण ‘मृत्युभय’ले सबैभन्दा बढी त्रसित बनाएको छ, मानिसहरूलाई थरथर कपाइरहेको छ।  

सत्ता, भय र बजार

सत्ता मानिसले भयकै कारण निर्माण गरेको हो। त्यो ‘भय‘ हो मृत्युको ‘भय‘ । बाह्‍य मानवसिर्जित सत्ता वा राज्यहरू पनि त्यही डर निर्माणका सार्वजनिक क्षेत्र हुन्। यो ‘भय’ को परिभाषा, क्षेत्र, प्रभाव अध्ययन गर्दै जाने हो भने विश्व अर्थ राजनीति पनि ‘भय’मा टुंगिन्छ। संसारमा अहिले जुन सत्ता छ यो त्यसको केन्द्रीय अभिव्यक्ति भनेको सुरक्षा हो। सुरक्षाको विपरीत हुने कुरा भय हो।

‘भय’ को व्यापार अहिले पुँजीवादको केन्द्रीय विषय बनेको छ। यसैबाट सिर्जना हुन्छ, राज्य, सेना, प्रहरी, हतियार अर्कोतिर व्यक्ति स्वयं आफूलाई सुरक्षित राख्‍न राज्य चाहिन्छ, अर्को आफूलाई सुरक्षित राख्‍न स्वास्थ्यलाई राम्रो बनाउन चाहन्छ, रोगव्याधीबाट नमरियोस, दुर्घटनाबाट बाँचियोस् भन्‍ने ठान्छ। मानिसको यही भयमाथि उभिएर शासनसत्ताहरू हामीमाथि थोपरिई रहन्छन्।

परिवार, समाज, राज्य, सरकार,संघ, संगठन यी सबै भयमुक्ति निवारणका लागि खोलिएका हुन्। तर यसभित्र सामूहिकता र सामाजिकता कम ‘भय’को व्यापारको नीजिकरणलाई पुँजीवादले वैध बनाएको छ। त्यो औषधिको उद्योग र अस्पताल। अर्को हो हतियारको व्यापार र प्रविधिमाथि कब्जा। तर यी सबैभन्दा बलवान भएर अदृष्य रूपमा फैलिएको भाइरस ‘कोभिड १९’ ले यी सबै पक्षलाई फितलो बनाइदिएको छ।

कोभिड-१९ सुरु भएको चीनमा नियन्त्रणमा आइसकेको यो भाइरसले गर्दा मानिसहरू आफ्नो घरबाट बाहिर निस्कन पाएका छैनन् र सरकारहरूले मानिसहरूलाई घरभित्रै बस्‍न आह्‍वान गरिरहेका छन्। आशा गरौं कि – चिकित्सकहरूमार्फत लडिँदै गरेको यो समग्र मानवजाति र अदृष्य कोरोना भाइरसबीचको लडाइँमा मानवजातिले जित्‍नेछ।

 शासन व्यवस्था, भ्रम र विज्ञान

मानिसलाई अलगाव (आईसोलेसन), घरायसी नियन्त्रण (होमक्वारेन्टाइन) र लकडाउन (समग्रबन्द) तर्फ लैजाँदै छ। चमात्कारिक विज्ञान पनि आज फेल खाएको भूमण्डलीकृत विश्व व्यवस्था नै गलत भएको, भौतिकताले होइन अलौकिक आध्यामिकता मात्रले यो प्रभाव रोक्न सकिने आदि तर्कहरू अघि सारिँदै छन्। प्रविधिको चरम विकासवान अमेरिका र युरोपेली असफलतालाई यसलाई नजिर बनाएर विज्ञानले हारेको पनि तर्क गरिँदैछ।

वास्तवमा विश्व अर्थतन्त्रको मूलप्रवृत्ति नवउदारवादी पुँजीवादी आर्थिक मोडेलहरूले काम गर्न छाडेका छन्। जीवन र मृत्युबीचमा छटपटाइरहेका मानिसहरूलाई आश्वस्त पार्ने उनीहरूसँग कुनै आशावादी सन्देश छैनन्।

यस अप्रत्यासित घटनाबाट औषधिको अभाव, मानिसलाई बचाउन कृत्रिम मेडिकल उपकरणहरूको आपूर्तिमा कमी, अस्पतालहरूको अपर्याप्तता, निजी अस्पतालहरूले देखाएको गैरजवाफदेहिताले निजीकरण र नाफाको जगमा उभिएको वर्तमान अर्थव्यवस्था मानवजातिलाई विश्वव्यापी संकट आउँदा काम लाग्दैन भन्‍ने देखिन थालेको छ।

तुलनात्मक रुपमा राज्यनियन्त्रित वा सार्वजनिक क्षेत्र बलशाली राज्यहरू चीन, क्युवा, भियतनाम, उत्तर कोरिया, नर्वे जस्ता राष्ट्रहरूले महाव्याधिको नियन्त्रणमा आफूलाई प्रभावकारी रुपमा प्रस्तुत गरेर विश्वलाई नयाँ सन्देश दिएका छन्।

राज्यको नियन्त्रण र नियमन प्रभावकारी भएको चीनले एक महिनामै महाव्‍याधी नियन्त्रणमा लियो, उत्तरकोरियामा कोभिड १९ प्रवेश नै भएको छैन। क्युवा, भियतनाम, लाओसले पनि प्रभाव बढ्न दिएका छैनन्। 

अर्ध-समाजवादी मोडेलका स्केण्डिनभियन देशहरू पनि कोभिड १९ को प्रकोपको सामना गर्न सफल नै देखिन्छन्। अर्थ व्यवस्थाका नवउदारवादी पुँजीवाद, कर्पोरेट पुँजीवाद वा उपभोक्तावादी प्रणालीका खराबीहरू गहिरोगरी उदांगो भएका छन्। जसले विश्वराजनीतिमा नयाँ क्षितिज पनि देखिन थालेको छ।

यस्तो महामारी मानवजातिले हरेक १०० वर्षमा बेहोर्दै आएको ऐतिहासिक मितिरेखाबाट उद्घाटित हुन्छ। सन् १४ औँ शताब्दीमा ‘ब्ल्याक डेथ’ले ७ करोडभन्दा बढी मानिसको ज्यान लिएको थियो। सन् १५२० मा ‘विफर’ले अमेरिकामा मात्रै ३३ प्रतिशत मानिसको ज्यान लिएको थियो। त्यसबेलामा भूमण्डलीकरणको सम्‍भावना थिएन।

सन् १९१८ मा फ्लुले ५ प्रतिशत मानिसको जीवन सकेको थियो ती सबैलाई चिकित्सा विज्ञानले एकस्तरमा नियन्त्रण लिन सफल भएको छ। यसको अर्थ भूमण्डलीकरण समस्या र विज्ञान असफलता भन्‍न मिल्दैन। यसो भनेर समाज ढुंगे युगतिर जान असम्भव छ।

अलगावबाद र लकडाउन मात्र होइन सहकार्य

इजरायली लेखक तथा युवा दार्शनिक युवल हरारी टाइम्समा लेख्छन् ‘वर्तमान अवस्थामा विश्वले महामारीविरुद्ध लड्ने नेतृत्व गुमाएको छ। ‘म नै पहिला’ भन्‍ने घमण्ड ‘जिनोफोविया’का कारण अमेरिका तथा युरोपमा ठूलो क्षति भएको छ।

‘सूचनाको वैज्ञानिक विश्लेषणले नै आज कोभिड १९ देखिएको २ हप्तामा यसको जिनोम र संक्रमित पहिचान गर्न सक्ने हुने अवस्था आएको छ। विगतमा जसरी तर कम क्षतिमा नै मानवजातिले यो समस्याबाट मुक्ति पाउने आशा गर्न सकिन्छ।

उनि भन्छन ‘तर अलागाववाद र  यसको दीर्घकालीन समाधान हैन। यो त आपसी एकता, सदभाव र विश्वव्यापी सहकार्यबाट मात्र सम्भव छ।’

नयाँ भाइरसहरूको आनुवांशिक विकास भविश्यमा पनि दोहोरिन सक्छ, यसर्थ वैज्ञानिक रूपमा सूचनाको विश्लेषण गरी समाधान खोजिनुपर्ने उनको तर्क छ।

उनको जोड छ – ‘हिजो महामारी आउँदा देवीदेवताका पूजा गर्ने, प्रार्थना गर्ने कुराहरू मात्र गरिन्थ्यो तर त्यसले कुनै पनि समस्या समाधान गर्दैनथ्यो। पछिल्लो शताब्दीमा चिकित्सा वैज्ञानिकहरूले महामारीका कारण, नियन्त्रण गर्ने तरिकाबारे सूचना संकलन गरे, त्यसलाई व्यवस्थित गरे, जेनेटिक्सले  सूक्ष्म जीवाणुहरूको निगरानी गर्न सक्ने र अध्ययन गर्न सक्ने बनायो।

महामारीको कारण थाहा पाएपछि यसबाट जोगिने उपायहरू पनि पत्ता लागे, खोपहरू र एण्टिवायोटिक्सहरू आविष्कार भए। कोभिड १९ को समाधानका लागि पनि यसरी नै काम गर्नुको विकल्प छैन।’

नवउदारवादी अर्थनीतिको असफलता

अहिले मानवजातिले बेहोरेको वैश्विक हो। भारतीय लेखिका अरुन्धती रोयले एक लेखमार्फत ‘अहिले विश्वमा पुँजीवादको इन्जिन हेर्नलायक’ भएको विचार सार्वजनिक गरेकी छिन्। उनी भन्छिन् ‘अब पार्टपुर्जा मर्मत गरेर फेरि त्यही चलाउने कि फेर्ने?’ भन्‍ने बहसमा सहभागी हुने बेला आएको छ। केही वर्ष अघिसम्म भारतीय नेता आरपीसराफ ‘मानव प्रकृतिकेन्द्रित अन्तर्राष्ट्रिय लोकतन्त्र’को बहसमा थिए। उनि यसका लागि ‘कर्पोरेट पुँजीवाद र राज्य नियन्त्रित समाजवादी मोडेल’ दुवैका आलोचक थिए। प्रकृतिमाथिको अनावश्यक दोहनले ‘पर्यावरणीय वैश्विक संकट’ ल्याउने धारणा उनको थियो।

यसैगरी अमेरिकी अर्थव्यवस्थाका कटु आलोचक दार्शनिक नोमचोम्सकीको ‘ट्रुथआउट’ पत्रिकाको एक अन्तरवार्तामा भन्छन् – कोभिड १९ को महाव्याधी ‘डरलाग्दो’ भए पनि आश्चर्यजनक भने हैन। यो सन् २००३ मै वैज्ञानिकहरूले दिएको चेतावनीको वेवास्ताका कारण सिर्जित समस्या हो।

सत्रबर्ष अगाडि नैं वैज्ञानिक अनुसन्धानबाट प्राप्त निष्कर्षको कार्यान्वयन गरिएन। बजारमुखि अर्थ व्यवस्थाले नाफामात्र हेर्छ, उसले दायित्व, मानवियता, कर्तव्य बिर्सिन्छ। महाव्याधि नियन्त्रणमा अमेरिकाको असफलता नवउदारवादी पुँजीवादको चरम असफलताको रुपमा बुझनु पर्छ।

चोम्स्की भन्छन – ‘अमेरिकामा पुर्व राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको कार्यकालबाट आरम्भ भएको नवउदारवादी पुँजीवादी नीतिले मानिसका आधारभुत आवश्यकताको आपुर्तिमा राज्यको भुमिका खुम्च्याउने र नीजि क्षेत्रको भुमिका बढाउने नीति लिएको थियो। जसले गर्दा शिक्षा र स्वास्थ्य पनि नीजि क्षेत्रका उत्पादनका बिषय बने। यही कारण आज युरोप र अमेरिका चरम सार्वजनिक स्वास्थ्य क्षेत्रको संकट बेहोर्न परेको मात्र होइन यी राष्ट्रहरूले छिमेकीहरू संगको प्रभाव क्षेत्र पनि गुमाएका छन।

बरु त्यसका तुलनामा ३० बर्षदेखि अमेरिकी नाकाबन्दी खेपेको क्युवा आफु सुरक्षित रहेर युरोप र अमेरिकामा सहयोग गर्न तयार देखिएको छ। तर अमेरिकाले यही बेला यमनलाई स्वास्थ्य क्षेत्रमा दिएको राहत रकम समेत कटौति गर्न पुग्यो। इरान इराक जस्ता राष्ट्रमा अमेरिकी नाकाबन्दी यसखालको मानवीय संकटमा समेत नखोल्नु उसको अनुहार बिश्वसामु झन क्रुर रुपमा देखिएको छ।

चोम्सकी अगाडि भन्छन्–‘हामी यो सबै जनधनको क्षतिका लागि ट्रम्प प्रशासनलाई दोषी ठहराउन सक्छौं तर समाधान ट्रम्पभन्दा पर पुगेर खोज्‍नुपर्छ।’

सार्वजनिक क्षेत्र निजी क्षेत्रको अविच्छिन्‍न स्वतन्त्रताले कमजोर भएको छ। स्वास्थ्य र शिक्षा जस्ता आम विषय पनि निजीकरणको चपेटामा हुँदा गरिबीको दर बढेको छ। स्वास्थ्य र शिक्षा महँगो भएपछि सीमान्तकृत मानिसहरूका लागि त्यो कहर जस्तो बन्छ अरू बेला पनि।

जुनसुकै महामारी वा महाप्रकोपका २ वटा पक्ष जहिले पनि पेचिला हुन्छन् ‘पूर्वतयारी र र उद्धार’ महामारी बच्‍ने सबैभन्दा पहिलो तरिका हो ‘पूर्वसूचना’। यद्यपि, अहिले युरोप र अमेरिकाले बढी क्षति बेहोर्नुका पछाडि प्राप्त पूर्व-सूचनाको नजरअन्दाजी महत्वपूर्ण मानिएको छ।

कोभिड १९ को शिक्षा

अमेरिकामा रहेका नेपाली खाद्य वैज्ञानिक नारायण घिमिरेका भनाइ पूर्वतयारीका लागि महत्वपूर्ण हुन सक्छन्। उनी भन्छन् – लकडाउन दीर्घकालीन समाधान हैन यद्यपि, यो अल्पकालीन व्यवस्थापन हो। भाइरसहरू फेरि पनि आइरहने हुँदा हाम्रो खानपान, सांस्कृतिक जीवनशैलीमा आएका परिवर्तनहरूमाथि पुनर्विचार गर्नुपर्छ। परम्परागत खानपान, संस्कारको वैज्ञानिकता खोज्‍नुपर्छ।

उनको सुझाव छ – खासगरी नेपाली खानामा रोगप्रतिरोधी क्षमता बढाउने पोषकतत्व पाइन्छ, त्यसको सन्तुलित सेवनलाई यो बेला बढाउनुपर्छ।

यस्तै नेपालमा जन्मेर भारतमा ’पतञ्जली योग पीठ‘मार्फत आयुर्वेदको अनुसन्धान र उत्पादन कार्यमा सक्रिय आचार्य बालकृष्ण यही कुरामा जोड दिन्छन्। रोगसँग लड्ने पर्याप्त प्रतिरोधात्मक क्षमता भए कोरोना भाइरससँग डराउन पर्दैन। यो शरीरभित्रै पराजित हुन्छ।

औषधियुक्त भान्छालय हुँदा हामी धेरै रोगहरूबाट बच्‍न सक्छौं जुन कुरा घरवरिपरिकै जडीबुटी, मरमसला, सागसब्जीबाट प्राप्त गर्न सकिन्छ। हामी जस्तो गरिब राष्ट्रका लागि जडीबुटीयुक्त खानपान ‘कमोडिटी पुँजीवाद’को चर्खामा नघुमी सिधै भान्छामा पुर्याउँदा गरिब र न्यून आयका मानिसहरू सबैभन्दा बढी लाभ लिन सक्छन्।

यसर्थ कोभिड १९ को महामारी पर्याप्त पूर्वतयारीका साथ राज्य अघि बढनुपर्छ। राज्यले सूचनाहरूको विश्लेषण र अनुसन्धान गर्ने संयन्त्र बनाउनुपर्छ। ‘परम्परागत ज्ञान’मा रहेका वैज्ञानिकतालाई आधुनिक विज्ञानसँग मिलाएर उत्पादनमुखी स्वरूपमा रूपान्तरण गर्नुपर्छ। वैज्ञानिकहरूलाई काम गर्ने वातावरण दिनुपर्छ, यो बेला बुद्धिजीवीहरू, अध्येताहरू सबैभन्दा बढी सक्रिय भएर स्वास्थ्य क्षेत्रको अर्थराजनीति अध्ययन गरी नयाँ ढंगले उठ्न कोसिस गर्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.