‘समयमै सक्न छलफल तर बाचामा चुक्दै सरकार

|

काठमाडौँः बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को असर परेको छ। कोरोनाको कारणले कामदार अभावले मेलम्ची आयोजना समयमै पुरा हुनेमा आशंका पैदा भएको हो। 

कारोनाको कारणले मजदुरीमा आएकाहरु घर फर्किएपछि आयोजनाको काम समयमै सम्पन्नु हुनेमा आशंका पैदा भएको छ। विश्वभर महामारीको रुपमा  फैलिएको कोरोनाको कारणले सरकारले नेपालमा पनि लकडाउन गरेको छ। 

लकडाउनपछि आयोजनाको काममा समस्या परेको मेलम्ची खानेपानी आयोजनाको सुचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए। 

‘कोरोनाको त्रासको कारणले नजिक घर भएका श्रमिकहरु गएका छन्’, उनले भने, ‘नेपालमा पनि टाढा घर भएका र केही चिनियाँ कामदार मात्रै अहिले छन्।’

लकडाउनकोे समयमा पनि आयोजनाको काम सञ्चालन भइराखेको भएपनि आयोजना बेलैमा पुरा हुनेमा आशंका पैदा भएको उनको भनाई छ। 

‘अहिले आयोजनामा करिब ५० नेपाली र ५० चिनियाँ कामदारले मात्रै काम गरिरहेका छन्। उनीहरु पनि फर्कन चाहान्थे। तर, भ्याएनन्’ उनले भने, ‘उनीहरु घर फर्कन नभ्याएका कारण अहिले थोरै भएपनि आयोजनाको काम भइरहेको छ।’

लकडाउनपछि आयोजनामा निर्माण सामाग्रीको अभाव देखिन थालेको उनी बताउँछन्। ‘काम सञ्चालन भइरहेको छ। तर, कामलाई तिव्रता दिनको लागि अहिले निर्माण स्थलमा पर्याप्त सामाग्री छैनन्’, उनले भने। 

निर्माण सामाग्री व्यवस्थापनाको लागि करिब एक सय श्रमिकले ६ स्थानबाट फरकफरक काम गरिररहेको उनको भनाई छ। आयोजनाको मुख्य जिम्मेवारी लिएको सीएमसीले गतसाल काम छाडेपछि अर्को चिनियाँ कम्पनी सिनोे हाइड्रोले काम सुरु गरिरहेको छ।

यद्यपि सिएमसीले काम छाडेपछि आयोजनाको काम करिब १ वर्ष अवरुद्ध हुन पुगेको थियो। लामो विवादपछि सरकारले आयोजनाको जिम्मा नयाँ निर्माण कम्पनीलाई दिइएको थियो। 

आयोजनामा नयाँ निर्माण कम्पनीले काम सुरु गरेपछि सुरुङभित्रको काम करिब ७५ प्रतिशत र हेडवस्सको काम करिब ४५ प्रतिशत सम्पन्न भएको उनको भनाई छ। 

दुई दशकदेखि निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनाको हालसम्म करिब ९६ प्रतिशत काम सम्पन्न भएको आयोजनाको सुचना अधिकारी पन्तले थाहाखबरलाई जानकारी दिए। 

समयमै सक्न छलफल 

सरकारले मेलम्चीको पानी यही आर्थिक वर्षको अन्यमा काठमाडौंबासीको धारामा खसाल्ने योजना बनाएको थियो । विभिन्न बाधा अड्चनमा रुमल्लिएको आयोजनाकोे काम अन्तिम चरणमा पुगेको अवस्थामा कोरोनाको असर परेको छ । 

‘कोरोनाको कारणले घर फर्किएका कामदारहरु फर्किएपनि उनीहरुलाई सिधै काममा लगाउन मिल्दैन’ उनले भने, ‘उनीहरुलाई १४ दिनको क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने हुन्छ। त्यसैले आयोजनाको काम कसरी समयमै सक्ने भन्नेबारेमा छलफल चलिरहेको छ।’

आयोजनाको काम समयमै सक्न सरकारी अधिकारीहरुसँग छलफल गरिरहेको उनको भनाई छ। ‘कोरोनाको त्रास रोकिएपछि कामदारकोे संख्यामा आवश्यकता अनुसार वृद्धि गरेर आयोजनालाई समयमै सक्नेबारे छलफल चलिसकेको छ’,उनले भने। 

बाचामा चुक्दै सरकार

निर्माण कम्पनी सिएमसीले काम छाडेलगत्तै सरकारले सरकारले एक वर्षभित्र काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने बाचा गरेको थियो। 

तर, झण्डै एक वर्षसम्म नयाँ निर्माण कम्पनी खोज्दैमा बितायो। देशको प्रधानमन्त्रीसँगै पटक पटक सर्दै आएको आयोजना सम्पन्न हुने मिति पछिल्लो समय सरकारले यही आर्थिक बर्षको अन्यलाई तोक्यो। 

आयोजनामा कोरोनाको प्रभाव देखिएपछि मेलम्चीको पानी कहिले काठमाडौँ आउँछ भन्नेमा पुनः अनिश्चित भएको छ। सरकारको नीति तथा कार्यक्रममा मेलम्ची खानेपानी आयोजना यही आथिर्क बर्षभित्र सम्पर्न गर्ने योजना सहित अघि बढेको थियो। 

सीएमसीले काम छोडेपछि आयोजनाको काम करिब दुई वर्षपछि धकेल्लिको आयोजनाका कर्मचारीहरुले बताउँदै आएका थिए। लामो समयदेखि मेलम्ची खानेपानीको पर्खाइमा बसेका उपत्यकावासीले सरकारले यस पटक तोकेको समयमा पानी खान नपाउने भएका छन्। गत दसैंमा नै मेलम्ची खानेपानी आउने आश्वासन सरकारले दिएको थियो। 

त्यसो त मुख्य निर्माण कम्पनी सिएमसीले काम छोडेपछि स्थानीय श्रमिक, ठेकेदार र निर्माण सामाग्रीको करोडौ रकम तिर्न बाँकी छ। 

आयोजनाले रकम तिर्ने सहमति पछिमात्रै लामो विरोधपछि काम अघि बढेको थियो। तर, अझैसम्म पनि स्थानीयले सो रकम पाउन सकेको छैन। रकमको माग गर्दै स्थानीयले पुनः आन्दोलन गर्ने चेतावनी दिदै आएका छन्। 

मन्त्रीको बाचा पनि अलपत्र 

खानेपानी मन्त्री बीना मगरले आयोजना अन्तगर्त गत महिना सुरुङ परिक्षणका क्रममा आयोजनाको काम तीव्र गतिले भइरहेको बताउँदै समयअगावै सक्ने बताएकी थिइन्। तर, उनको त्यो बाचामा कोरोनाको प्रभावले विफल हुने संकेत देखियो।   

काम सुरु भएको करिब दुई दशकपछि आयोजनाको ब्रेक थ्रू २०७५ चैतमा नै गरेको थियो। अम्बाथानबाट सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ मार्ग निर्माण भएको छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याउने सरकारको योजना छ। 

मेलम्चीपछि दोस्रो चरणमा याग्री ल्यार्के खोलाको पानी पनि काठमाडौँ ल्याउन काम सुरु गर्नको लागि मुआब्जा वितरणको काम सुरु गरेको थियो। तर, स्थानीयले आयोजनामा मुआब्जा बुझ्‍न नआएपछि काम सुरु हुन सकिरहेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.