१८ बैशाखसम्म सीमानाका बन्द रहने

|

काठमाडौं : सरकारले हाल जारी लकडाउनलाई बैशाख १५ गतेसम्म थप्‍ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म थप्‍ने निर्णय लिएको हो। 

यसैगरी बैठकले बैशाख १८ गतेसम्मका लागि सीमानाका बन्द नै राख्‍ने निर्णय गरेको छ। सरकारले यसअघि नै बैशाख १८ सम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिसकेको छ।

बिहान साढे ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो। नेपालमा मन्त्रिपरिषद् बस्नुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ बैशाख २१ सम्मका लागि लकडाउन लम्ब्याइसकेका छन्। 

मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन एकसाता लम्ब्याइएको एक मन्त्रीले जानकारी दिए। 

विश्वभर महामारीका रुपमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा सरकारले गत वर्षको चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो। त्यस पछि दुई पटक थपिएको लकडाउनको समय बुधबार सकिन लागेको अवस्थामा १२ दिन थपिएको हो। 

हिजो र आज मात्रै नेपालमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छन्। कैलालीकी एक महिला र रौतहटका एक युवकमा कोरोना भाइरसको संक्रमण भेटिएको हो।

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा समेत दुईजना कोरोना संक्रमित भेटिएपछि लकडाउनलाई लम्ब्याउने निर्णयसहित थप कडाइ गर्ने नीति लिएको हो।  

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ पुगेको छ। पहिलो पटक चीनबाट आएका एक युवामा देखिएको संक्रमण अहिले देशका विभिन्‍न जिल्लामा देखिएको छ। 

कोरोना भाइरसका कारण सुदूरपश्चिम प्रदेशमा पाँचजना, गण्डकी प्रदेशमा दुई जना, प्रदेश-२ मा चार जना र काठमाडौंमा दुई जना उपचाररत छन्। एक जना भने उपचारपछि घर फर्किसकेका छन्। 

तीव्रगतिमा कोरोना फैलिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ वैशाख अर्थात मे ३ तारिखसम्मलाई लकडाउन लम्ब्याउने घोषणा गरेका छन्। भारतसँग खुल्ला सिमाना भएको नेपालमा पनि अझै उच्च सतर्कता बढाउन लकडाउन थपिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.