दाङ : लकडाउनका कारण खाने समस्या भएपछि भक्तपुरको चारपाते बिएम इँटा उद्योगमा काम गर्ने दाङका तीनजनासहित सल्यान र रोल्पाका ३२ जना मजदुर ७२ घण्टापछि दाङ आइपुगेका छन्। उनीहरु पैदल, ट्रक र बसमा यात्रा गरी दाङ आइपुगेका हुन् ।
भक्तपुरबाट तीन दिन तीन रातमा दाङ आइपुगेको मानपुर लहलौराका सुमन रोकाले बताए। उद्योग मालिकले खाने बस्ने कुनै व्यवस्था नगरेकाले ज्यान जोगाउनका लागि पैदल भए पनि घर फर्किएको बुद्धिराम पुनले बताए।
‘हामीसँग दुई विकल्प थियो,’ बुद्धिरामले सुनाए, ‘कि त भोकभोकै मर्नुपथ्र्यो, कि पैदल यात्रा तय गरी घर पुग्नुपथ्र्यो, हामीले दोस्रो विकल्प रोज्यौं।’ पहिलोपटक काठमाडौं उपत्यका पुगका उनी ठेकेदारले बताए बमोजिमको पुरै महिना काम गर्न नपाउँदै घर फर्किन बाध्य भएका थिए।
बुद्धिरामका अनुसार उनीहरु तीन दिनअघि भक्तपुरको इँट्टा उद्योगबाट कलंकीसम्म पैदल आए। कलंकीमा एउटा ट्रक भेटे। त्यसले धादिङको धार्के पुर्यायो। त्यहाँबाट नारायणघाटसम्म पैदल हिँडे। यहाँ पुग्दा भोकले रिँगटा लागिसकेको थियो। त्यहाँका युवाहरुले निःशुल्क व्यवस्थापन गरेको दालभात पेटभरी खाए। त्यसपछि उनीहरुलाई एउटा बसले नवलपरासीसम्म लिफ्ट दियो। नवलपरासीबाट बुटवलसम्मको पैदल यात्रा गरे।
‘लकडाउनपछि उद्योग बन्द भएको तीन साता नाघेको थियो। त्रिपालमुनिको भान्छामा एक गेडा पनि अन्न थिएन,’ दलवीर बुढा दुःख सुनाए, ‘रेडियोमा राहत बाढ्ने कुरा सुन्यौं। केही दिनसम्म त आशा गर्यौं। राहत बाँड्न फ्याक्ट्रमा कुनै पनि सरकारका प्रतिनिधिहरु आएनन्।’
दलवीरका अनुसार काठमाडौंमा राहत नपाउने अनगिन्ति मजदुर छन्। राहत वितरणमा पनि सरकार गम्भीर नदेखिएको नउको अनुभव छ । ‘सरकारले राहत त दिन सकेन,’ उनले भने, ‘तर हामीलाई एउटा ट्रकमै कोचेर भए पनि घरसम्म पुर्याइदिएको भए सरकारप्रति आभारी हुन सकिन्थ्यो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।