|

ताप्लेजुङ : यतिवेला विश्व नै कोरोनाको महामारीले आक्रान्त बनेको छ। यस्तो बेला नेपाल पनि अछुतो रहने कुरै भएन। महामारीको जोखिम रोक्न सरकारले वैशाख १५ गते सम्मका लागि लकडाउनको घोषणा गरिसकेको छ। मानिसहरु कोरोनाको डरका कारण घरबाहिर निस्किएका छैनन्।

तर, ताप्लेजुङका ग्रामीण भेगका स्थानीयलाई भने कोरोनाको भन्दा वनमा लागेको डढेलोको बढि डर छ। यतिवेला जिल्लाका अधिकांश वनमा डढेलो लागेको छ। फक्ताङलुङ गाउँपालिकाको सावादिन, मिक्वाखोलाको खोक्लिङ र लिवाङ, मेरिङ्देनको सान्थाक्रा, आठराई त्रिवेणीको फुलबारी, फुङलिङको दोखु, पाथीभरा याङवरकको नाङखोल्याङ लगायतका जंगलमा अहिले डढेलो लागिरहेको छ।

डढेलोका कारण कतिपय बस्ती र स्थानीयको घरसमेत जोखिममा परेका छन्। बुधबार दिउँसो मात्रै नाङखोल्याङको मेवाखा जंगलमा आगो लाग्यो। मेवाखा बस्तीलाई आगोबाट जोगाउन फुङलिङ नगरपालिकाको दमकलसहित सुरक्षा निकायका प्रमुखहरू पुगे। आगो नियन्त्रणका लागि सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बस्तीछेउमा अग्निरेखा बनाए।

जतातजै डढेलो लागेपछि धुवाँका कारण ताप्लेजुङको आकाश प्रदूषित बनेको छ। पुस माघदेखि वैशाख जेठसम्म वनमा लाग्ने डढेलोको त्रास हुने पाथिभरा याङ्वरक १ नाङ्खोल्याङका जयनारायण श्रेष्ठ बताउँछन्। कोरोना भइरसको भन्दा पनि आगोको डर धेरै रहेको मेवाखाका डम्बर श्रेष्ठले बताए।

कोरोनाले भन्दा डढेलोमा परिने डर

‘साँझपख बस्ती नजिकै वनमा डढेलोको मुस्लो देखिन्छ’, श्रेष्‍ठले भने, ‘कसरी निदाउन सक्नु? हामीलाई कोरोनाको डर छैन तर जंगलमा लागेको डढेलोले घर लैजाला कि भन्ने डर छ।’ वनक्षेत्रमा देखिने डढेलो घाँस–दाउरा गर्न, वस्तु चराउन जाने गोठाला र नदिमा माछा मार्न जानेले लगाउने गरेको स्थानीयको बुझाइ छ।

यतिखेर सुकेर झरेका पतिङ्गरमा डढेलो लगाए त्यसपछि वर्षा हुनासाथ राम्रो घाँस पलाउने र चरण बढ्ने आसले घाँसे र गोठालाले डढेलो लगाउने गरेको फक्ताङलुङ गाउँपालिकाका वीरबहादुर लिम्बू बताउँछन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.