|

जाजरकोट : बारेकोट गाउँपालिकाले आयातित खाद्यान्नलाई विस्थापित गरी स्थानीयस्तरमै उत्पादन गरिएको मकै खरिद गरेर विपन्न नागरीकलाई राहत दिन लागेको छ।

दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न परिवारलाई लामो समयको 'लकडाउन'का कारण दैनिक हातमुख जोर्न समस्या परेको गुनासो आएपछि गाँउपालिकाले स्थानीयस्तरमै उत्पादित अन्न राहत दिने निर्णय गरेको हो। गाँउमा उपलब्ध मकै खरिद गरेर राहत दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए।

गाँउमै रहेको अन्न (मकै) किनेर प्रतिपरिवार पाँच पाथीका दरले उपलब्ध गराइने अध्यक्ष महेन्द्र शाहले बताए। विपद्‌ व्यवस्थापन कोषबाट खाद्यान्न व्यवस्थापनका लागि प्रतिवडा डेढ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने र वडाले सम्बन्धित वडा वा अर्को वडाबाट मकै किनेर विपन्न तथा मजदुरको पहिचान गरी पाँच जनासम्मको परिवारका लागि प्रतिपरिवार पाँच पाथी मकै, आधा लिटर तेल र एक केजी नुन उपलब्ध गराउने भएको हो।

कम्तिमा एक महिनाका लागि पुग्ने करिब ८५० परिवारलाई खाद्यान्न दिने गरी वडा समितिलाई जिम्मा दिइएको अध्यक्ष शाहले बताए। उनले भने, 'त्यसको लागी पहिलो चरणमा करीव ३०० क्वीन्टल मकै आवश्यक पर्छ, जुन गाउँपालिकामै मौज्दात रहेको छ।'

बारेकोटमा धान उत्पादन निकै कम हुने गर्दछ। गहुँ र जौ पाकेका छैनन्। मकै प्रशस्त उत्पादन भएपनि पशुलाई खुवाउन र जाँड रक्सी बनाउन प्रयोग गर्ने गरीन्छ। स्थानीय रुपमा उत्पादिन अन्न अन्य प्रयोजनमा खेर जाने, तर खाद्य संस्थान र तराईको चामलमा भरपर्ने अवस्‍थालाई निरुत्साहित गर्न गाँउमै उत्पादिन मकै राहत दिने निर्णय गरिएको अध्यक्ष शाहले बताए।

स्थानीय उत्पादनमा जोड दिइरहेको गाँउपालिकाले कृषि उत्पादन बढाउन विशेष अनुदान दिने कार्यक्रम अघि सार्ने तयारी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए। बर्षेनी खाद्य संकटको समाचार आउने बारेकोटमा खाद्य संकट नभएर भात (चामल) संकट भएको सिंहले बताए। भाते बानीमा सुधार गरी स्थानीय अन्न उपयोगमा जोड दिने गाउँपालिकाको नीति रहेको उनले बताए। चामलभन्दा मकै सस्तो पर्ने भएकाले कम रकममा धेरै खाद्यान्न खरिद गरी धेरैलाई पुर्‍याउने गाउँपालिकाको योजना छ।

अन्य स्थानीय तहले नेपाल खाद्य संस्थान र सुर्खेत, नेपालगञ्जबाट चामल ल्याएर वितरण गरेका छन्। शिवालय गाउँपालिकाले १५० घरधुरीलाई चामल वितरण गरेको छ। नलगाड नगरपालिकाले चामल नै उपलब्ध गराउँदै आएको छ। जुनिचाँदे गाउँपालिकाले खाद्य संस्थानको चामल उपलब्ध गराएको छ। छेडागाड र कुशे गाउँपालिकाले राहत दिने कुनै सुरसार नै गरेको छैन।

यस्तै डोल्पामा राहत वितरणको काम सुरू गरिएको छ। ठूलीभेरी नगरपालिकाका विभिन्न वडाहरूमा राहत वितरण सुरू गरिएको हो। नगरपालिका-६ मा १३० विपन्‍न घरपरिवारलाइ राहत वितरण गरेको वडा अध्यक्ष धर्मलाल बुढाले जानकारी दिए।

अध्यक्ष बुढाका अनुसार विपन्‍न र दलितका प्रतिघरपरिवारलाई ३० केजी चामल, एक पोका तेल र दुई पोका नुन वितरण गरिएको हो। सरकारले गरेको 'लकडाउन’ले दैनिक ज्यालादारी गरेर छाक टार्नेहरूको चुलो बल्न समेत कठिन भएको भन्दै गाउँमै पुगेर राहत वितरण गर्न सुरू गरेको हो। 

हालसम्म ठुलीभेरी नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ मा मात्र राहत वितरण भएको वडाध्यक्ष बीरमलकुमार भण्डारीले जानकारी दिए। त्यसैगरी काइके, जगदुल्ला, मुड्केचुला लगायतका गाउँपालिकामा समेत राहत वितरणका गर्ने क्रम सुरू भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.