इँटा उद्योगी भन्छन् : हामी आफैँ समस्यामा छौँ

|

दाङ :  लकडाउन थपिँदै जाँदा दाङमा  इँटा उद्योगमा काम गर्ने हजारौँ  भारतीय श्रमिक संकटमा परेका छन्। दाङमा २६ वटा इँटा उद्योग छन्।

एउटा इँटा उद्योगमा एक सयदेखि साढे २ सय भारतीय श्रमिक काम गर्दै आएका छन्। अहिले  लकडाउनका कारण इँटा उद्योग बन्द भएपछि उद्योगमा काम गर्ने करिब  ७ हजार  भारतीय मजदुरहरुले ‘कि काम देऊ कि माम देऊ’ भन्‍न थालेका छन्।

स्थानीय प्रशासनको ध्यानाकर्षण

दाङको नारायणपुर बडहरास्थीत मनकामना इँटा उद्योग र गोल्ड इँटा उद्योगमा कार्यरत भारतीय श्रमिकहरुले आफूहरु घर फर्कन माग गर्दै उद्योग परिसरमा  बुधबार नाराबाजी गरी स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।

दुवै उद्योगमा गरी कम्तीमा ५ सय भारतीय श्रमिकहरु कार्यरत छन्। लकडाउनसँगै विगत एक महिनादेखि कामविहीन बनेपछि उनीहरुले घर जान पाउने व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरेका हुन्।

जिल्लाभर कम्तीमा ७ हजार भारतीय मजदुर इँटा उद्योगमा  रहेको दाङ जिल्ला इँटा उद्योगी व्यवसायी संघले जनाएको छ। उनीहरु भारतीय सीमा जिल्लाका स्थानीय नागरिक हुन्। त्यसरी काम गर्नेहरुसंगै बालबालिका पनि उद्योगमा आएका छन्।

बालबालिका मात्रै एकहजार

अनुमानित तथ्यांकअनुसार कम्तीमा एक हजार बालबालिकासमेत रहेको बताइएको छ। यसले बालबालिकामा पनि सामाजिक दुरी कायम हुन नसक्दा कोरोना संक्रमणको समेत सम्भावना देखिएको छ।

उनीहरु विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका रुपले पनि बढि जोखिममा छन्। ‘काम देऊ वा माम देऊ, अन्यथा हामीलाई घर फर्कने वातावरण मिलाऊ' वडहराको मनकामना इँटा उद्योगमा कार्यरत भारतीय श्रमिक विश्वनाथ चौहानले भने।

उनीसंगै सयौं महिला पुरुष तथा बालबालिकाहरु समेत नाराबाजीमा आएका थिए।

अर्की श्रमिक महिला सुनिचा चौहान भन्छिन्, ‘न दाल चामल, न त दवाइको व्यवस्था, यस्तो अवस्थामा हामी जसरी पनि घर पुग्न चाहन्छौं, सरकारले हाम्रा समस्या सुन्नुपर्‍यो।’

उद्योग बन्द भएसँगै गाउँमा घुमफिर गर्ने मजदुरहरुको चहल पहलसँगै कोरोनाको संक्रमण फैलने सम्भावनाका विषयमा स्थानीयबासीसमेत त्रसित छन्।

‘हामी उद्योग बन्द होस् भन्ने चाहेका होइनौं, तर लकडाउनको समयमा अव्यवस्थीत भएर हिंडडुल र घुमफिर गर्ने भारतीय श्रमिकका कारण संक्रमण फैलन सक्नेमा त्रसित छौं,‘ स्थानीय जय बहादुर बुढाले भने।’

उनले भारतीय मजदुरहरुको घुमफिर देख्दा स्थानीयबासीमा समेत कोरोनाको त्रास सुरु भएको बताए। त्यसैगरी अर्का स्थानीय शरद गौतमले भारतीय मजदुरहरुको व्यवस्थापन गर्ने सवालमा स्थानीय प्रशासन गम्भीर बन्नुपर्ने बताए।

श्रमिकहरु व्यवस्थित भएर नबस्दा गाउँबस्तीमा समस्या आउन सक्ने उनको भनाइ छ । ‘हामीले नै जग्गा लिजमा दिएर उद्योग सञ्चालनको वातावरण बनायौं, तर अहिलेको विषम परिस्थीतिमा सकेसम्म भारतीय श्रमिकहरुलाई सहज रुपमा घरफर्कने वातावरण सरकारले गराउनु पर्दछ,' उनले भने।

दोहोरो मारमा उद्योगी

यता  यो वर्ष इट्टा उद्योगीहरु दोहोरो मारमा परेका छन्। प्रतिकूल मौसमका कारण विभिन्न समयमा पानी पर्दा करोडौंको क्षति व्यहोर्न बाध्य इँटा उद्योगी काम गर्ने समयमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण लकडाउन हुँदा फेरि समस्यामा परेका छन्।

‘काम रोकिएको करिब एक महिना भयो, जेनतेन दाल, चामलको व्यवस्थापन गरेका छौं, तर कतिसम्म गर्ने भन्नेमा हामीहरु समेत समस्यामा छौं’ मनकामना इँटा उद्योगका सञ्चालक तथा दाङ देउखुरी इँटा व्यवसायी संघका अध्यक्ष रोम वलीले बताए।

यता,  दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले इँटा उद्योगमा कार्यरत श्रमिकहरुको  खानपिनको ब्यवस्थापन उद्योगहरुले नै गर्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.