|

दाङ : दाङका वन तथा खोलाहरूमा लकडाउनको मौका छोप्दै तस्करहरूले रजाइँ गर्न थालेका छन्‌। 

गत साता तुलसीपुरको बटोलपुरको पातुखोलामा तस्करहरुले अवैध उत्खनन् गरिरहेको भेटिएको थियो। दैनिक रुपमा अवैध उत्खनन् हुँदा पनि प्रहरीले चासो नदिएपछि त्यहाँका स्थानीयले तस्करहरूलाई खोलाजन्य र वन पैदावार लैजान नदिन अवरोध नै गरेका थिए।

वन फँडानी र उत्खनन्‌मा स्थानीयले अवरोध गरेपछि तस्कर र गाउँलेका बीच भनाभन भएको थियो। स्थानीयहरुले तत्काल खबर गरेपनि समयमै प्रहरी नपुग्दा तस्करहरू भाग्न सफल भएका छन्‌।

राती उत्खनन् गर्न लागेको थाहा पाएपछि आफूहरूले अवरोध गरेको स्थानीय शुशील चौधरीले बताए। उनले भने, 'राती खोलामा अवैध रुपमा उत्खनन् गर्न लागेको थाहा पायौं, लगत्तै प्रहरीलाई खबर गर्‍यौं, खबर गरेको तीन घण्टापछि प्रहरी आइपुग्दा तस्करहरू भागिसकेका थिए।' स्थानीय शान्तिलाल चौधरीका अनुसार राती १० बजेतिर खोलामा उत्खनन् गर्न बेला स्थानीयले अवरोध गरेपछि भागेर गएको तस्करहरु फेरी राती १२ बजेतिर आएका थिए।


तस्करहरूले अवैध उत्खनन गरेर भताभुङ्ग पारेको पातुखोला।

स्थानीयका अनुसार तस्करको तीनवटा गाडीसमेत नियन्त्रणमा लिएका थिए, तर पटक-पटक प्रशासनलाई जानकारी गराउँदा पनि नआएपछि तस्करहरू भागेका र रातको समयमा खोला दोहन र वन फँडानी गर्ने काम रोकिएको छैन। स्थानीयले फोनमार्फत जानकारी गराएपनि तस्कर समूह भागेपछि मात्र प्रहरी त्यहाँ पुग्ने गरेको छ। 

'हामी जनप्रतिनिधीहरुले मान्छेहरुलाई पक्राउ गर्न मिल्दैन,' तुलसीपुर उपमहानरपालिका वडा नम्बर ८ का वडाध्यक्ष वेदु केसीले भने, 'अवैध उत्खननबारे पटक-पटक खबर गर्दा पनि प्रहरी मुकदर्शक बन्‍ने गरेको छ, प्रशासनले नै अवैध दोहन नियन्त्रण गर्न चासो देखाइरहेको छैन।' 

यता जिल्ला प्रहरी कार्यालय दाङले पातुखोलामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्न प्रयोग भएका पाँचवटा टिप्पर, जेसीवी एकथान र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

खोलामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गरी रहेको भन्ने सुचना प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले रा १ क ६०६८ नम्बरको जेसीवी, ना ८ ख ६५२१ , ना ८ ख ७९०७ , रा १ ख २१६७, रा १ ख २२२७ र प्र २ ०२०३००१ ख ०९६७ नम्बरको टिप्पर र रा १ प ५७१७ नम्बरको मोटरसाइकललाई नियन्त्रण लिई आवश्यक कारवाहीको लागी तुलसीपुर उपमहानगरपालिकाको कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले बताए।

डिभिजन वन कायालय दाङले थालेको वन गस्तिले वन पैदावार चोरी निकासीमा संलग्न १० जनालाई पक्राउ गरेको जनाएको छ। वन गस्ती टोलीले लकडाउन अवधिमा विभिन्न घटनामा वन पैदावार चोरी तस्करीमा संलग्न भएको अभियोगमा १० जनालाई पक्राउ गरेको अधिकृत दिपक ज्ञवालीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.