|

सल्यान : कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम हुन नदिन 'लकडाउन' भएपछि पोल्ट्री व्यवसाय संकटमा परेको छ। अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्नै छाडेपछि किसान र व्यवसायी मारमा परेका हुन्‌।

माछा मासुबाट पनि भाइरस सर्छ भन्ने मान्यता र कुखुराका लागि दानाको अभाव हुँदा व्यवसाय नै संकटमा परेको छत्रेश्वरी गाउँपालिका ६ रानागाउँमा व्यवसायिक कुखुरापालन गर्दै आएका किसान लोकराज भण्डारीले बताए। 'लकडाउन'कै कारण १० लाख घाटा व्यहोर्नु परेको उनको भनाई छ। उनले भने, 'मसँग अहिले २००० कुखुरा छन्, दिनमा १० देखि १५ हजार रुपैयाँको दाना लाग्छ, तर दिनभर १०० पनि आम्दानी भइरहेको छैन।' दानाको अभावका कारण झन्डै १,६०० कुखुरा मरिसकेको उनले बताए। 

यस्तै २ दुई २ सय कुखुरापालन गर्दै आएका श्रीनगरका युवा व्यवसायि हिमाल यात्रीले दानाको अभावका कारण कुखुरा मर्ने अवस्थामा पुगेका बताए। विगतमा सप्लार्यसले कुखुराको चल्ला र दाना उपलब्ध गराउदै आएको भए पनि 'लकडाउन' पछि सप्लार्यसले दाना उपलब्ध गराउन नसकेको बताए।

विगतमा ३ हजार २ सयमा किनेको दाना अहिले ३ हजार ६ सयमा किन्नु पर्ने बाध्यता र महंगोमा पनि दाना नै पाउन नसकेको उनको भनाई छ। बजारमा लिन तयार भएका कुखुरा विक्री नहुँदा र साना कुखुराले दाना खान नपाउँदा झन्डै ६ लाख घाटा लागेको उनको भनाई छ।

अण्डा बिक्री नहुँदा कुखुरापालक किसान संकटमा परेको शारदा नगरपालिका १ श्रीनगरका कृषक किसान बुढाथोकीले बताए। 'लकडाउन' अघि दैनिक ५०० अण्डा उत्पादन भइरहेकोमा दानाको अभावमा हिजोआज ३०० अण्डा मात्र उत्पादन भइरहेको उनको भनाई छ। उनले भने, 'म सँग अहिले ६०० कुखुरा छन्, यी कुखुराले दैनिक ३,५०० रुपैयाँ बराबरको दाना खान्छन्‌, तर आम्दानी भने निकै कम छ।' दाना अभावमा कुखुरालाई बचाउनै समेत समस्या हुने गरेको उनले बताए।

किसानहरूका अनुसार साविक दिने गरेको दानाको परिमाण ३० प्रतिशतले कटौती गर्दा अण्डा उत्पादन पनि निरन्तर घटिरहेको छ। उत्पादन भएका अण्डा तरकारी पसलहरुमा छोड्ने गरेपनि खासै बिक्री हुने गरेको छैन। दानामा ३,००० खर्च गर्दा २,००० रुपैयाँ कमाई भएको र दैनिक १,००० रुपैयाँ घाटा व्यहोरिरहेको बुढाथोकी बताउँछन्‌। बजार र होटल ठप्प भएपछि अण्डा बिक्न छाडेको र नाफा लिने समयमा 'लकडाउन'ले समस्या पारको उनको भनाई छ।

शारदा नगरपालिका ४ शाहुटोलका इन्द्र शर्माले लोकल जातका कुखुरापालन गर्दै आइरहेका छन्‌। उत्पादित अण्डा नबिकेपछि अहिले आफूले गाउँघरमा सित्तैमा वितरण गरी रहेको शर्माले बताए। उनले भने, 'सीमित अवधिसम्म अण्डा नबिके खेर फाल्नुपर्छ, बरू आफन्त, छिमेकीलाई सित्तैमा दिने गरेको छु।' अहिले ब्यहोरिरहेको घाटाले आफूहरूको जीवनयापनमै समस्या पार्ने देखिएको उनले बताए।

सल्यानमा १ सय १२ मासु पसल, ८२ ब्रोइलर व्यवसायी, ८ जना लोकल व्यवसायी, ७ जना लेर्यस पालक रहेका छन्। कुखुरापालक किसानहरूका अनुसार बजारमा लैजान तयार भएका कुखुरालाई दाना पुर्‍याउन समस्या भएपछि भुस र माटो खाँदा फार्ममै कुखुरा मरिरहेका छन्‌। यो घाटा परिपूर्ति गर्न नसके आफूहरूको बिल्लीवाठ हुने भन्दै किसानहरूले आफूलाई अनुदान नचाहिने, तर सहुलियतपूर्ण या निर्ब्याजी कर्जा उपलब्ध गराउन आग्रह गरेका छन्। लाखौं घाटामा रहेका किसानलाई उत्पादनको हिसाब गरी एक देखि दुई वर्षसम्मलाई बिना ब्याजको ऋण उपलब्ध गराउन उनीहरूले आग्रह गरेका हुन्‌। 

जिल्लामा चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा ४३ दशमलव ९२ प्रतिशत अण्डा खपत भएकोमा अहिले यो परिमाण ह्वात्तै घटेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख धन बहादुर बानियाले बताए। उनका अनुसार खसी र ब्रोइलर गरी यो अवधिभित्र जिल्लामा ८६ दशमलव ९४ किलोग्राम खपत भएकोमा अहिले शुन्यप्राय: छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.