|

कञ्चनपुर : गहुँबाली भित्र्याएर फुसर्दिला भएका कञ्चनपुरका थारु समुदाय लकडाउनका बेला ‘माउस हन्टिङ' (मुसाको शिकार) गर्न व्यस्त हुन थालेका छन्‌। 

खेतबारीमा दुलो खोज्दै मुसाको शिकार गर्न यहाँका थारूहरू दिनभर खट्ने गरेका हुन्‌। दिनभरीको खाना समेत फरुवामै झुण्याएर चार देखि पाँच जनाको समूहमा मुसाको शिकारमा व्यस्त हुने गरेका छन्‌।

मुसा मार्नमा खटिने समुहले दैनिक २० देखि ६० वटा मुसाको शिकार गर्ने गरेका छन्‌। थारु समुदायका व्यक्तिहरु गहुँबाली भित्र्याएपछि डकर्मी, सिकर्मी र मजदुरीमा जाने गरेका थिए। कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण यतिखेर घर वरपर नै मुसाको शिकार गर्न व्यस्त हुने गरेका छन्‌।

थारु समुदायमा मुसा शिकार गर्ने कार्य सामुहिक र एकल रुपमा भने पुस्तौँदेखि चल्दै आएको छ। 'पहिले मुसाको शिकार गर्न गाँउ-गाँउबाट हुलका हुल जाने गर्दथे,' कल्सुराम चौधरीले भने, ‘कोरोना महामारी आए पछि चार/पाँच जनाको समुहमा मुसा मार्न जान थालेका छौं।’ कोरोना भाइरसबारे धेरै कुरा थाहा नभएपनि एक व्यक्तिले अर्काको नजिक जाँदा दुरी कायम गरे कोरोना नसर्ने र अपरिचित व्यक्तिको नजिक नजाने भनेकाले निश्चित चिनेजानेहरुसँग खेतमा मुसाको शिकार गर्न (मुस मार) जाने गरेका गरेको उनले बताए। 

कोद्रा लगाएर, मुसाको दुलोमा पानी खन्याएर, मुसाको दुलो खनेर, खप्का र छन्की लगाएर मुसाको शिकार गर्ने गरिएको छ। यी मुसाको शिकार गर्ने थारु समुदायका परम्परागत तरिका हुन्‌। थारु समुदायले विशेष गरी गहुँबाली र धानबाली भित्र्याएपछिको समय मुसाको शिकार गर्ने गर्छन्‌। यस बेला खेतमा अन्नपात नहुने र बर्षाको मौसम समाप्त हुने हुँदा सहज रुपमा मुसाको शिकार गर्न सकिन्छ।

पहिला वन क्षेत्रमा समेत थारु समुदायका मानिसहरू मुसाको शिकार गर्न जाने गरेका थिए। हाल वन क्षेत्रमा मुसा लगायतका अन्य जीवजन्तुको शिकार गर्नमा प्रतिवन्ध लागेपछि खेतमै मुसाको शिकार गर्दै आएका छन्‌। शिकार गरिएको मुसालाई अचार बनाएर, मासुका रुपमा, लौकाको तरकारीसँग मिसाएर, पोलेर नुन खुर्सानी दलेर खाने गरिन्छ। 

थारु समुदायले सबैभन्दा बढी लौकाको तरकारीसँग पोलेको मुसाको मासु मिसाएर खान रुचाउने गरेको खुसिराम चौधरीले बताए। मुसाको शिकार गर्ने कार्य धान नरोप्दासम्म जारी रहने उनले बताए। थारु समुदायले मात्रै खाँदै आएको मुसाको शिकारको माग अन्य समुदायले समेत गर्न थालेका छन। स्थानीय होमस्टेमा एउटा मुसा ३०० देखि ६०० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ। आन्तरिक र बाह्य पर्यटकले मुसाको मासु खुबै मन पराउने शुक्लाफाँटा नगरपालिका ३ जोनापुरस्थित खैयरकन्द्रा होमस्टेका सञ्चालक दान सिंह चौधरीले बताए। 

'आन्तरिक तथा बाह्य पर्यटकले मुसाको शिकार माग गर्छन्‌,माग गरे अनुरुप मुसाको शिकार उपलव्ध गराउन कठिन छ/' उनले भने, 'आजकाल पहिले झैं धेरै संख्यामा मुसा पाइँदैन।’ पहिले-पहिले मुसाको दैनिक ३०० वटासम्म  मुसा मार्न सकिएपनि अहिले दैनिक ३० देखि ४० वटा मात्रै सिकार गर्न सकिने बुधराम चौधरी बताउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.