|

दाङ : घोराही उपमहानगरपालिका ८ दुन्द्रामा नवराज केसी र वसन्त राजवंशीले संयुक्तरूपमा करिब ८ बिघा जग्गामा तरकारी खेती गर्दै आएका छन्।अहिले बन्दाबन्दी हुँदा उनीहरुले उत्पादन गरेको तरकारी बिक्री नहुँदा कुहिन थालेको छ। बारीमा स्क्वीस अर्थात सानो फर्सी, लौका र बोडी लगायतका तरकारी लटरम्‍म फलेका छन्।

तर, लकडाउनका कारण बजार तथा होटल बन्द हुँदा तरकारी बिक्री नभएपछि उत्पादन भएको तरकारी कुहिएर जान थालेको कृषक नवराज केसीले बताए। स्क्वीस मात्र अहिले दैनिक ३० क्विन्टल उत्पादन हुँदै आएको छ।  तर, बिक्री भने ५ क्विन्टल मात्र हुने गरेको केसी बताउँछन्। त्यसैगरी लौका पनि दैनिक १० क्विन्टल उत्पादन हुन्छ, बिक्री भने ४ क्विन्टल हुन्छ।

आफूहरूको मिहिनेत र लगानी डुब्ने अवस्थामा पुगेको राजवंशीले बताए। अहिलेसम्म ५२ लाख बढी खर्च भइसकेको छ। बिक्रि गर्न तयारी अवस्थाको झण्डै १ करोड रुपैयाँ मूल्य बराबरको तरकारी खेर जाने देखेर उनीहरु चिन्तित भएका छन्।

यस्तै,  दाङ देउखुरी सिसहनीयाका किसान वामदेव चौधरीले किसानले उत्पादन गरेको ताजा तरकारीको बजारीकरण नहुँदा  तरकारी सडेर गएको बताए। स्थानीय तहबीच समन्वय हुन नसक्दा किसानहरूले उत्पादन गरेको ताजा तरकारी सडेर गइरहेको उनले गुनासो गरे।

करेसाबारीमा उत्पादन गरेका साना किसान र व्यावसायिक खेती गर्ने किसानको तरकारी संकलन गरी बिक्री गर्ने व्यवस्था मिलाउन उनले आग्रह गरेका छन्। अहिले बन्दको कारण तरकारी खपत हुनुपर्ने जिल्लाको तरकारी सड्न थालेको हो।

भारतबाट भित्रिन्छ तरकारी

यता, नेपाली किसानको उत्पादन बजारीकरण गर्न नसक्दा भारतबाट लुकीछुपी ट्रकका ट्रक हरियो तरकारी भित्रिएका छन्। भित्रिएका तरकारीलाई नियन्त्रणमा लिई नष्ट गरिएको छ, भने ल्याउने चालक र व्यवसायीलाई कोरोना भाईरसको संक्रमणको त्रासले घोराही र तुलसीपुरमा कारेन्टाईनमा समेत राखिएको छ।

भारतबाट तरकारी ल्याउँदा कोरोनाको जोखिम अत्यधिक हुने भएकाले जिल्ला भित्रका किसानले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्न लागिएको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी बताए।

त्यसैगरी, उनले थोरै उत्पादन गर्ने किसानहरुलाई बिहानको समय होमडेलीभर गर्न दिने र ठुलो मात्रामा उत्पादन भएको तरकारीहरुलाई उद्योग वाणिज्य संघसंग समन्वय गरेर वडा वडामा बिक्रि गर्ने गरी विशेष योजना बनाएको बताए। ‘यति बेला हामी बाँच्न ठुलो कुरो छ’उनले भने,‘ तर व्यवसायी साथीहरुले धेरै नाफा लिने होइन्, जे छ, त्यसैलाई बचाएर उपभोक्तालाई परिपूर्ति गर्नुपर्छ। ’

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तरकारीलाई संकलन गरिराख्न कोल्ड स्टोर सञ्‍चालनको लागि पहल गर्ने बताए। अहिले तुलसीपुरमा जम्मा ५० मेट्रिक टन स्टोर गर्ने शीतभण्डार रहेकोमा अब बढाउनुपर्ने उनी बताउँछन्।

आर्थिक वर्ष २०७५/७६ तथ्यांकअनुसार दाङमा ७९ हजार २ सय ८७ मेट्रिक टन तरकारी उत्पादन भएको छ। उत्पादकत्व १३.०५ मेट्रिक टन प्रतिहेक्टर भएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले बताए। २ हजार ३ सय १५ हेक्टरमा हिउँदे तरकारी खेती गरिएको थियो। उक्त जमिनमा ३७ हजार १ सय २० मेट्रिक टन तरकारी उत्पादन भएको केन्द्रले जनाएको छ।

उत्पादकत्व १६.०३ मेट्रिक टन प्रति हेक्टर तरकारी उत्पादन भएको थियो। दाङमा २ हजार ३ सय १३ हेक्टरमा खेती गरिएको थियो। उक्त जमिनमा गरिएको तरकारी खेतीबाट २७ हजार १सय ४५ मेट्रिक टन वर्षे तरकारी उत्पादन भएको थियो। ११.७४ मेट्रिक टन प्रतिहेक्टर तरकारी उत्पादकत्व रहेको छ। १ हजार ४ सय ५० हेक्टर जमीनमा दाङमा बेमौसमी-मौसमी तरकारी खेती गरिएको थियो।

उक्त जमिनमा १५ हजार २२ मेट्रिकटन उत्पादन भएको थियो भने १०.३६ मेट्रिक टन प्रतिहेक्टर बेमौसमी- मौसमी तरकारी उत्पादन भएको थियो। यसअघि दाङमा उत्पादन गरिएको तरकारी काठमाडौं, पोखरा, बुटवल, धनगढी लगायतमा निर्यात हुँदै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.