|

दमक :  कोरोनाका कारण लम्बिएको लकडाउनका कारण उत्पादित कृषि उपज बिक्री गर्न नपाएका झापाका किसानलाई फेरि अर्को मार परेको छ। व्यावसायिक रुपमा गरिएको मकैखेतीले यसवर्ष किसानलाई थप मार पारेको हो।

मकैमा दाना लाग्नुपर्ने बेलामा खोया मात्र फलेपछि किसानहरुमा ऋणको भार थपिने देखिएको हो। झापाको कमल गाउँपालिका वडा नं ७ का किसान महेन्द्र दाहालले आफूले करिब डेढ बिघमा लगाएको मकैका कारण ऋणको भार थपिएको बताए। ऋण गरेर बिउ, मल, सिँचाईमा खर्च गरे पनि अहिले घोगा विनाका मकैका ढोड मात्र निकाल्न पनि थप ऋण काड्नुपर्ने अवस्था आएको बताए।

गाउँपालिका कृषि शाखाका अनुसार वडा नं. ७ लगायत ३ र ६ मा समेत यस प्रकारको समस्या देखिएको छ। लकडाउनका कारण घरदेखि टाढा खेती भएका किसानहरु नियमित रुपमा खेतमा पुग्नसमेत कठिन थियो।

तर, अहिले केहि किसानको समस्या बाहिरिएपछि अरू किसान पनि बारीमा पुग्न थालेका छन्। अहिले मकैमा घोगा लाग्ने बेला भएकाका कारण अन्य वडाहरूबाट समेत दाना नलागेको समस्या किसानहरूले जानकारी गराई रहेको कृषिशाखा प्रमुख महेन्द्र बोहोराले बताए। यसप्रकारको समस्या देखिने क्रम बढ्दो छ।

मकैमा दाना नलागेको समस्या पछि अनुगमनमा पुगेका गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले किसानहरु समस्यामा परेको पाइएको भन्दै कसका कारण यो समस्या सिर्जना भएको हो भनेर अनुसन्धान थालिएको बताए।

सूचीकृत नभएको बिउले समस्या

मकैमा दाना नलाग्ने समस्याको एउटा कारण सूचीकृत नभएको बिउ पाइएको छ। किसान दाहालले आफूले हाइब्रिड ८२६ जातको मकैको बिउ रोपेको बताए। गाउँपालिकाको कृषि शाखाले भने नेपालका लागि यो बिउ सूचीकृत नभएको जनाएको छ।

सूचीकृत नभएको बिउका कारण किसानले नोक्सानी व्यहोर्नु परेको विक्रेता जिम्मेवार हुनुपर्ने शाखा प्रमुख बोहोराको भनाइ छ। किसानले भने आफूले बिउ बिक्रेतालाई अन्य जातको बिउ मागे पनि बढि फल्ने भन्दै सोहि बिउ दिएको बताएका छन्।

खुल्ला सिमानाका कारण भारतीय बिउ सहजै बजारसम्म आउने र कतिपय किसान आफैँ सीमावर्ती भारतीय बजार पुगेरसमेत आफूखुसी बिउ ल्याउने गरेका छन्। सूचीकृत नभएका कृषि उपजका बिउ रोप्दा विभिन्‍न समस्या झेल्नुपर्ने भन्दै गाउँपालिकाले अन्य बालीमा समेत सूचीकृत बिउसमेत रोप्‍न आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.