भुसाहा र करुनिया गाउँ सिल

|

रौतहट : मंगलबार थप कोरोना संक्रमण देखिएका २ जना मध्ये १ जनालाई क्‍वारेन्टाइनबाट फर्केको १० दिनपछि संक्रमण पोजेटिभ देखिएको छ। 
उनी रौतहट वृन्दावन नगरपालिका ९ भुसाहा टोलका २४ वर्षीय किशोर हुन्। 

गत वैशाख ६ गते प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरको ल्याबबाट उनको रिपोर्ट नेगेटिभ आएको र घर फर्काइएको थियो। भारतको दिल्लीमा काम गरेर चैत १७ गते नेपाल आएका उनी २२ गते चन्द्रपुर नगरपालिका ६ स्थित महिला फुटबल एकेडेमीमा स्थापना गरिएको क्‍वारेन्टाइनमा बसेका थिए।

ती युवकको वैशाख २९ गते नेगेटिभ रिपोर्ट आएको थियो। ३ दिनअघि उनको स्वाब पुनः काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। 
उक्त परीक्षणबाट ती युवालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको देखिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए। 

अर्का देबाही गुनाही नगरपालिका १ करुनियाका ३५ वर्षीय कोरोना संक्रमित भने भने देबाही गुनाही नगरपालिकाकै क्‍वारेन्टाइनमा बस्दै आएका थिए। 
उनी भारतको कोलकाताबाट लकडाउनकै क्रममा चोरबाटो हुँदै वैशाख ६ गते नेपाल आएका थिए। 

त्यही दिन उनलाई क्‍वारेन्टाइनमा राखिएको हो। तीन दिनअघि उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो। त्यहाँ गरिएको पिसीआर परीक्षणमा नतिजा पोजिटिभ आएको हो।

७ जनाको समूहमा रहेका उनीहरुमध्ये उनको मात्र रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय गौरका अधिकृत महेश साहले जानकारी दिए। रौतहटमा केरोना भाइरस संक्रमण हुनेको संख्या ३ पुगेको छ।  थप दुई जनाको मंगलबार कोरोना संक्रमण भएको पुष्टि भएको हो। एकजना भने उपचार पछि घर फर्किसकेका छन्। 

लकडाउनकै समयमा आएका थिए उनीहरू

वृन्दावन नगरपालिका ९ स्थित भुसाहा गाउँका २४ वर्षीय पुरुष भारतको दिल्लीमा झोला कारखानामा काम गर्थे। भारतका विभिन्न सहरहरुमा कोभिड–१९ को संक्रमण फैलिएपछि उनी घर फर्कने जमर्को गरे।

तर भारतमा पनि लकडाउन भएकाले खाद्यान्न बोक्ने ट्रयाक्टर र केही स्थानमा पैदल हिँडेर सीमामा आएका थिए। चोरबाटो हुँदै चैत १७ गते उनी नेपाल प्रवेश गरे। उनीसँगै अन्य चार जना थिए। ४ दिन घर बसेपछि स्थानीयले थाहा पाएर उनीहरुलाई चन्द्रनिगाहपुर क्‍वारेन्टाइनमा ल्याएका थिए।

उता देबाही गोहनीका ३५ वर्षीय पुरुष पनि दिल्लीमै झोला कारखानामा काम गर्थे। उनी दिल्लीबाट एम्बुलेन्समा सहयोग मागेर चैत १८ गते बिहारको ढाका आई केही समय त्यहीँ लुकेर बसेका थिए। त्यसपछि हिँडेर वैशाख ५ गते नेपाल प्रवेश गरेका थिए। 

उनको ससुराली करुनिया भएकाले त्यतैतिर लाग्ने क्रममा लालबकैया नदीको किनारमा बसेका बेला त्यहाँका वडाध्यक्ष सेख निरुल्लाहले देखेर सोधपुछ गरेपछि क्‍वारेन्टाइनमा ल्याइएको थियो। 

उनी १० दिनदेखि क्‍वारेन्टाइनमै बसेका छन्। कोरोना संक्रमित २ जनालाई नै वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए।

भुसाहा र करुनिया गाउ सिल गरियो 

कोरोना संक्रमित भेटिएको रौतहटको २ वटा गाउँ जिल्ला प्रशासन कार्यालय रौतहटले सिल गरेको छ। बृन्दावन नगरपालिका ९ को भुसाहटोलको चारैतर्फ र देबाही गुनाही नगरपालिका १ को करुनियाटोलको पनि चारैतर्फ सिल गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

अहिलेसम्म रौतहटमा ३ सय ८६ जनाको पिसिआर परीक्षण गरिएको र ३ जनालाई कोरोना भाइरस संक्रमण भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी गराएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.