|

धनकुटा : कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण हरेक क्षेत्र प्रभावित भइरहेको छ। लकडाउनकै कारणले व्यावसायिक रूपमा कुखुरापालन गरेका किसानको लगानी संकटमा परेको छ।

लकडाउनले खोर तथा फारममा हुर्किएका कुखुरा पुर्‍याउन नसक्दा लगानी डुब्ने अवस्थामा पुगेको हो। यसैगरी, बजारमा सहजरुपमा दाना नपाइँदा र ढुवानी गर्न नसक्दा खोरका कुखुरा पाल्नसमेत कठिनाइ भएको किसानहरूको गुनासो छ। लकडाउनका कारण घरखेत धितो राखी ऋण निकालेर कुखुरापालन व्यवसायमा लागेका कृषक निराश बन्दै गएका छन्।

लकडाउनका कारण कुखुरा बिक्री गर्न नसकिएको धनकुटा–६ का किसान युद्धबहादुर कार्कीले बताए। ‘जग्गा बैंकमा राखेर १० लाख ऋण लिएर सुरु गरेको व्यवसाय संकटमा परेको छ। ६० दिन पाल्दा समेत लकडाउनले बजार ठप्प भएकाले कुखुरा बिक्री गर्न समस्या पर्दै आएको छ,’ उनले भने, ‘दाना सकिएपछि खान नपाएर कुखुरा मर्न थालेका छन्।’

कुखुराको बिजोग देख्नुभन्दा घाटा सहेरै पनि बिक्री गरौ भनेको किन्ने मान्छे पनि नपाएको उनको गुनासो छ। हाल २ हजार ब्रोइलर कुखुरा पालेका उनलाई यो लटमा सबै लगानी घाटा हुने भएकोमा चिन्ता लागेको छ। कार्कीका अनुसार लकडाउन भन्दा पहिले प्रतिकिलो १ सय ७५ रुपैयाँदेखि २ सय ६० रुपैयाँसम्म कुखुरा बिक्री हुने गर्दथ्यो।

दैनिक एउटा एउटा कुखुरा बिक्री गरेर लगानी उठाउन किसानलाई धेरै समस्या छ। माछा मासुबाट पनि भाइरस सर्छ भन्ने मान्यता र कुखुराका लागि दानाको अभाव हुँदा व्यवसाय नै संकटमा परेको छ। कोरोना भाइरस नियन्त्रणका लागि सुचना प्रवाह गर्दा मासु तथा अण्डा राम्रोसँग पकाएर खान भनिएकाले धेरैमा मासु खान नहुने रहेछ भन्ने भ्रम सिर्जना गरेको किसान रत्न कार्कीले बताए। उनको खोरमा ३ हजार कुखुरा हुर्किएका छन।

लकडाउन हुनु अगाडि ३० दिनका भएका उनका कुखुरा ७० दिनका भएका छन्। ब्रोइलर कुखुरा ४५ दिनमा बिक्री गर्न सके मात्र किसानले लाभ लिन सक्छन। तर, लकडाउन अघि नै एकमहिना कटेका कुखुरा बिक्री नहुँदा किसानलाई पाल्दा झनै नोक्सानी बढ्दै उनको भनाइ छ। ब्रोइलर कुखुराको जीन नै छोटो आयुको भएकाले किसानले चाहेर पनि पाल्न सक्ने अवस्था नभएको उनी बताउँछन्।

चारो सकियो भुस र माटोले मर्न थाले कुखुरा

लकडाउनका कारण बजार नखुलेपछि कुखुरालाई दाना पुर्‍याउन समस्या भएपछि भुस र माटो खाँदा फार्ममै कुखुरा मरिरहेका किसान दीपक कार्की बताउँछन्। वैदेशिक रोजागारबाट फर्किएपछि तीन वर्षदेखि कुखुरापालनमा लागेका उनको फर्ममा २ हजार ५ सय ब्रोइलर कुखुरा छन। उनको पनि १० लाख रुपैयाँको लगानी जोखिममा परेको छ। उनले कोरोनाका कारण जिल्लाका पोल्ट्री व्यवसाय नै धारासायी हुने स्थितिमा पुगेको बताए।

जिल्लामा कुखुरालाई खुवाउने दानाको अभाव पनि कायमै छ। मासुका लागि बिक्री गर्ने समय भएका कुखुरा सप्लायर्सले उठाउँदैनन। बजार क्षेत्रमा मासु खपत हुने भनिए पनि लकडाउनको प्रभावले सबै फ्रेस हाउस बन्द भएका छन्।

अत्यावश्यक वस्तुको ओसारपसार र बिक्री गर्न पाइने सरकारले जनाए पनि ठाउँठाउँमा कुखुराको ढुवानीमा अवरोध भइरहेको किसानको गुनासो छ। प्रशासन र सुरक्षा निकायबाट ढुवानी र बिक्रीमा सहजीकरण गरिदिने हो भने पनि किसानको नोक्सानी आधा घट्ने किसानहरूको भनाइ छ। किसानले ढुवानीका लागि सवारी पाससमेत पाउन नसकेको बताएका छन्।

धनकुटाका प्रमुख जिल्ला अधिकारी केशब प्रसाद विमलीले कृषिजन्य सामान ढुवानीका लागि सवारी पासको आवश्यकता नरहेको र कतै अवरोध भए खबर गरेमा तत्काल समस्या समाधान गरिने बताए। उनले अहिले परिस्थितीमा ठाउँठाउँमा चेकजाँच हुने र त्यसलाई अवरोध मान्न नहुने बताए।

यस्तै, बिक्री गर्ने स्थानमा समेत सर्धैं जस्तो बजार सञ्चालन नगरी सुरक्षित रुपमा बिक्रीको वातावरण बनाउन किसान तथा स्थानीय सरकारले पनि समन्वय गर्नुपर्ने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.