नेपाल सम्झिँदै भने : मेरो जीवनको एउटा गर्विलो क्षण

|

इलाम : २९ अप्रिलमा नेपाल राष्ट्रिय फुटबल टिमका पूर्व-प्रशिक्षक स्टेफेन कोन्स्टाइनले ट्विटरमा एउटा फोटो पोष्ट गरे। जहाँ राजा वीरेन्द्रले उनको गलामा पदक लगाइदिइरहेका थिए। र, छेउमा उभिएका थिए तत्कालीन युवराज दिपेन्द्र। २ दशक अघिको त्यो नोस्टाल्जिया फोटोको क्याप्सन थियो,‘मेरो जीवनको एउटा गर्विलो क्षण।’

२ वर्ष नेपाली टिमलाई प्रशिक्षण गरेका कोन्स्टाइनको उपलब्धिमूलक क्षण नेपालले घरेलु भूमिमा आयोजना गरेको सन् १९९८ को आठौँ दक्षिण एसियाली खेलकुद (साग) बन्यो। जहाँ नेपाल बंगलादेशसँग १-० हार्दै रजत पदक पाएको थियो। कोन्स्टाइनकालमा सागको तेस्रो स्वर्ण जित्ने अवसर नेपालले गुमाउन पुग्यो।

तर, उनका लागि नेपाल बसाई उपलब्धिमूलक नै रह्यो। त्यही प्रदर्शनको आधारमा राजा वीरेन्द्रले उनलाई प्रवल गोर्खा दक्षिण बाहु पदकले सम्मान गरे। २ दशकअघि पदक पाएपछि कोन्स्टाइनले भनेका थिए 'यो पूर्णरूपमा अप्रत्याशित थियो र अहिले पनि म यो विश्‍वास गर्न सक्दिनँ। मलाई भनिएको थियो कि म यो पुरस्कार पाएको पहिलो र एक मात्र फुटबल प्रशिक्षक हुँ र म खुसी छु। उनीहरूले मलाई भने कि यो नेपाली फुटबल विकासको लागि हो।’

१० वर्षअघि दिएको अन्तर्वार्तामा कोन्स्टाइनले नेपाल, नेपाली फुटबल र स्वर्गीय राजा वीरेन्द्रको तारिफ गरेका छन्। ‘नेपाल एक अद्भूत ठाउँ हो र मानिसहरू पनि यत्तिका राम्रा छन् मैले विश्‍वमा कतै भेटेको छैन। सम्झनाहरु धेरै छन् स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाह देवद्वारा सम्मानित त्यो पदक जुन म कहिल्यै बिर्सने छैन।’

उनले भनेका थिए, ‘हिमालयबाट उदाएको सूर्यको किरण आफ्नो जीवनमा एकपटक हेर्नुपर्छ। अनि राष्ट्रिय टिमलाई दक्षिण एसियाली खेलकुदको फाइनलसम्म पुर्‍याउनु पनि एउटा संसार जितेसरहको काम हो। एभरेष्टसम्म जाने यात्रीहरुको सामान बोक्ने शेर्पाहरुले जानका लागि इन्कार गरेका थिए। किनभने उनीहरू नेपालको खेल गुमाउन चाहँदैनथे।’

सन् १९९९ देखि २००१ सम्म नेपालमा बिताएका कोन्स्टाइनले उपाधि दिलाउन नसके पनि २ वटा प्रतियोगिताको उपाधि होडमा पुर्‍याएका थिए। सन् १९९९ को साग र २००० को एन्फा कप। उनले नेपालको उमेर समूहको टिमलाई पनि प्रशिक्षण दिएका थिए।

ग्रिक-साइप्रियोट मुलकका बेलायती कोन्स्टाइनको खेलाडी जीवन सुखद थिएन। इङल्यान्डमा एनफिल्ड, साइप्रस र संयुक्त राज्य अमेरिकामा अर्ध-व्यावसायिक फुटबल खेलका थिए। लिगामेन्टको चोटपछि उनले २६ वर्षको उमेरमा फुटबल करिअर छाडेर प्रशिक्षण सुरु गरे।

केही समय साइप्रसमा प्रशिक्षणपछि उनको यात्रा नेपालतर्फ मोडिएको थियो। इङ्ल्यान्ड फुटबल एसोसिएनसले उनलाई नेपालको मुख्य प्रशिक्षकको रूपमा पठाएको थियो। त्यसपछि भने कोन्स्टाइनको प्रशिक्षण करिअरले उचाई लियो। 

‘मैले फुटबल संघबाट एउटा पत्र पाएँ, जसमा मलाई एसियामा कोचिङ गर्न इच्छुक छौ कि छैनौँ भनेर सोधिएको थियो। मलाई त्यस्तै अवसरको खाँचो भएकाले स्विकारेँ’ कोन्स्टाइनले भने, ‘कम्बोडियाबाट फ्याक्स प्राप्त गर्दा म न्युयोर्क आइपुगेको थिएँ। र मलाई नर्थ क्यारोलिनाबाट जागिरको प्रस्ताव पनि आएको थियो। यो हुँदै गर्दा कसैले एएफसीमा मलाई सिफारिस गरिदियो र एएफसीबाट नेपालमा। धेरै फोन वार्तापछि म काठमाडौं पुगेँ र २ दिनमा आफ्नो काम पनि सुरु गरे’

नेपालपछि १८ वर्षको अवधिमा अन्य ४ देशका टिम र ५ वटा क्लब सम्हाले। नेपालपछि ३ वर्ष उनले भारतीय टिमको प्रशिक्षक बनेर बिताए। भारत छाडेपछि एक वर्ष मिलवाल टिम सम्हाले। जुन क्लबबाट अष्ट्रेलियन स्टार टिम काहिलले सिनियर फुटबल करिअर सुरु गरेका थिए। यद्यपि कोन्स्टाइन क्लबमा जाँदा काहिलले मिलवाल छाडेर एर्भटन गइसकेका थिए।

२००७-०८ मा उनले अफ्रिकन मुलुक मलाबीको राष्ट्रिय टिम सम्हाले। जहाँ देशले अफ्रिकी कप अफ नेशन छनोट र अन्य केही प्रतियोगिता खेल्यो। टिमलाई राम्रो नतिजा दिलाउन नसकेपछि उनलाई वर्खास्त गरिएको थियो। त्यसपछि सुडान टिम सम्हाल्दा पनि नतिजा राम्रो आएन।

सन् २०१० पछि उनको प्रशिक्षक करिअर उकालो लाग्यो। उनको प्रशिक्षणमा क्लब र देशले उत्कृष्ट नतिजा निकाल्यो। सुडान छाडेलगत्तै साइप्रियोट लिग क्लब निया सालामिसलाई डिभिजन टु वाट बढुवा गरे। सन् २०१४ बाट रुवान्डाको राष्ट्रिय टोलीलाई सम्हाले। उनकै कालमा रुवान्डा फिफा वरीयताको ६८ औ स्थानमा रहन सफल रह्‍यो। जुन त्यसअघिको सबैभन्दा उच्च वरीयता थियो।

एक वर्षपछि पुनः भारतीय टिममा फर्किए। भारतीय टिमबाट दोस्रो इनिङ नेपाल विरुद्धबाटै सुरु भयो। १२ मार्च २०१५ मा विश्वकप क्वालिफायरअन्‍तर्गत कोन्स्टाइनकै प्रशिक्षणमा रहेको टिमले इन्दिरा गान्धी रंगशालामा नेपाललाई २-० ले हरायो। जहाँ दुवै गोल सुनिल क्षेत्रीको नाममा थियो।

त्यसलगत्तै नेपाली भूमिमा बराबरी खेल्यो। नेपाल विरुद्धको नतिजाकै कारण भारत २६ स्थान सुधार गर्दै १४७ औँ वरीयतामा पुगेको थियो। सन २०१५ को साफको उपाधि जिताएका थिए। 

सन् २०१६ मा भएको एसिया कप क्वालिफायरमा लाओस विरुद्धको जितपछिका १३ खेलमा भारत अपराजित रहेको थियो। जसका कारण सन् २०११ पछि एसिया कपमा छनोट हुन सफल रह्यो। सन् २०१८ मा केन्यालाई हराउँदै उनले भारतलाई अन्तरमहादेशीय कपसमेत जिताएका थिए।

१७३ औँ स्थानमा भारत रहँदा टिम सम्हालेका कोन्स्टाइनले ९७ औ वरीयतासम्म पुर्‍याएका थिए। कोन्स्टाइनल हाल कुनै पनि टिमसँग आवद्ध छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.