|

ताप्लेजुङ :  शुक्रबार राति ताप्लेजुङ सदरमुकाम फुङलिङमा भएको आगलागीबाट ८ घर जलेर नष्ट भएका छन्। आगलागीबाट ३२ परिवार प्रभावित भएका छन्। यस्तै ५ वटा संघसंस्थाका कार्यालयमा क्षति पुगेको छ। शनिबार बिहान संकलन भएको प्रारम्भिक विवरणअनुसार ८ घर परिवारसहित ती घरमा पसल, डेरागरी बस्ने ३२ परिवार विस्थापित बनेका छन्।

साना होटल तथा पसलहरु जलेकाले अहिले नै क्षतिको विवरण संकलन भइनसकेको र अनुमानसमेत गर्न सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।

बैठकले क्षतिको विवरण संकलन गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलको संयोजकत्वमा ४ सदस्यि समितिको गठन गरेको छ। उक्त समितिले क्षतिको विवरण संकलन गरिरहेको छ।

आगलागी पीडितहरुलाई ताप्लेजुङ बहुद्देशीय सहकारी संस्थाले प्रतिपरिवार २ हजारका दरले राहत वितरण गरेको छ। यस्तै नेपाल रेडक्रस सोसाइटीले समेत राहत प्रदान गर्ने तयारी गरिरहेको छ। जिल्ला विपद् व्यवस्थापन समितिले भने क्षतिको पूर्णविवरण आइसकेपछि राहत उपलब्ध गराउने तयारी भएको जनाइएको छ।

शुक्रबार राति करिब साढे १० बजेबाट सुरु भएको आगलागीले खेम केसी, नारायण भट्टराई, नेत्र कार्की, चन्द्र प्रसाद निरौला, ठगबहादुर कार्की, हस्तमाया लेछर्बो, रामकुमार शाह,  विष्णु कार्कीको घर जलेको छ।

यस्तै, जिल्ला फुटबल संघ, पाथीभरा ट्याक्सी काउण्टार, जिल्ला प्याब्सन, नेपाली कांग्रेस, अलैँची व्यवसायी संघ र वर्ल्‍ड मनि ट्रान्सफरका कार्यालयमा समेत क्षति पुगेको छ।

आगलागीको कारण खुलेको छैन। आगलागी ३ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो। नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय आगलागी नियन्त्रणमा खटिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.