|

इलाम : एपिएफ क्लबका पूर्वखेलाडी तथा महिला टिमका प्रशिक्षक नरकुमार राईले आफ्नी छोरीको उपचारार्थ सहयोगको याचना गरेका छन्।  उनकी ११ वर्षीया छोरी कुसुमी राई गत मंसिरबाट ब्लड क्यान्सरसँग लडिरहेकी छन्। इलामको देउमाई नगरपालिका–३ का स्थायी बासिन्दा राईकी छोरीलाई गत मंसिर १८ गते क्यान्सर पुष्टि भएको हो।

हाल उनको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। क्लबमा रहँदा नरे दाइ नामले परिचित राईले आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गरेर छोरीको जिवन बचाइदिन आग्रह गरेका हुन्। ‘सन्तानको नाममा त्यही एउटी छोरी थिइन् ब्लड क्यान्सर भएको छ। उपचारमा अहिलेसम्म करिब १४ लाख रुपैयाँ खर्च भइसकेको छ। अब थप उपचार गर्ने सार्मथ्य मसँग छैन,’ उनले भने,‘पेन्सनबाट आएको पैसाले घर खर्च चलाउन पनि पुग्दैन।’

२०६२ सालदेखि २०६८ सालसम्म एपिएफमा खेलाडी रहेका नरकुमारले २०६४ सालबाट २०७३ सालसम्म महिला टिमलाई प्रशिक्षण दिएका दिए। जागिरे जीवनपछि उनी वैदेशिक रोजगारीको लागि बहराइन गएका थिए। ‘विदेश गएको २१ महिना पनि भएको थिएन छोरी बिरामी भएपछि विदा मागेर आएको थिएँ,’ उनले भने।

कुसुमीलाई दशैँअघि बिरामी भएपछि स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा लगिएको थियो। ‘डेंगुको महामारी फैलिएको थियो। डेंगुको आशंका उपचारका लागि लगिएको थियो चेकअप गर्दा डाक्टरहरूले स्क्रब टाइफिस पोजेटिभ देखाए,’नरकुमारले भने,‘त्यही रिर्पोटलाई फलो गर्दा रगत कम देखियो।

९-१० दिन हस्पिटलमा राखेर फुलपातीको दिन घर ल्याइएको थियो। मंसिर १७ गते विहान फोन आयो रगतमा खराबी छ भनेर। डाक्टरले ब्लड क्यान्सरको संकेत देखियो।’

मनमोहनले व्लड क्यान्सर देखाएपछि कुसुमीलाई कान्ति बाल अस्पताल रिफर गरिएको थियो। त्यसपछि अहिले पनि उनको कान्तिमा उपचार जारी छ। उपचारका कति रकम लाग्छ भनेर अहिलेसम्म अस्पतालबाट जानकारी नआएको नरकुमारले बताए। एपिएफ महिला टिमको जग बसाएका नरकुमारले छोरी बचाउन सबैसँग आग्रह गरेका छन्।

हालसम्म कुसुमीको उपचारका लागि दाताहरुले २ लाख ५० हजार बराबर सहयोग गरेका छन्। हाल महिला फुटबलमा बलियो स्थितिमा रहेको एपीएफ महिला टिमको निमार्णकर्ता नै नरकुमार हुन्। प्रशिक्षक रहँदा उनले राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेको खेलाडीहरुलाई प्रशिक्षण गराएका थिए।

राष्ट्रिय टिमकी गोलरक्षक समेत रहेकी इलामकै एन्जिला तुम्वापो सुब्बा सहित सावित्रा भण्डारी (साम्बा), अनिता बस्नेत, अनिता केसी, मनमाया लिम्बु, गिता राना, सरु लिम्बु जस्ता खेलाडीलाई प्रशिक्षण गराएका थिए।

उनले परिवारको आर्थिक अवस्था दयनीय रहेको कारण सहयोग गरिदिनसमेत आग्रह गरेका छन्। ‘दीर्घकालीन रोग रहेछ। फाइनान्सिल अवस्थामा धेरै समस्या आएको छ। धेरै भार भएको छ। इच्छुक व्यक्तिहरुको सानो सहयोगले ठूलो समस्या हल हुने थियो,'उनले भने,‘क्लबलाई लामो समयसम्म योगदान दिएको थिए।

खेलाडीहरुले व्यक्तिगत सहयोग गर्ने बचन दिएका छन्। अब त दाताहरुकै आशा हो छोरी बचाउन।’ सहयोगी दाताहरुले रिना राईको नाममा सिद्धार्थ बैंक स्वयम्भु शाखामा रहेको खाता नं ०१९१५२६९१४६ मा रकम जम्मा गर्न सक्ने नरकुमारले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.