|

पर्सा : आर्थिक अवस्था कमजोर भई अनौपचारिक विद्यालयमा मात्र अध्ययनरत पर्साका ५० विद्यार्थीलाई राहत वितरण गरिएको छ। पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीको अनौपचारिक विद्यालयमा अध्ययनरत उनीहरुलाई शनिबार राहत वितरण गरिएको हो।

विद्यालयमा पढ्नेलाई अनलाइन शिक्षा र सुविधाका कुरा राज्यले गरिरहे पनि ती ५० विद्यार्थीले भने राज्यले विद्यालय भनेको ठाउँको गेटसम्म अझै टेक्न पाएका छैनन्। विद्यालयको अनुहार टाढैबाट हेरेका उनीहरुलाई शनिबार भने राहत वितरण गर्दा मनियारीकै एक बोर्डिङ्ग स्कूलको फिल्डमा बोलाई वितरण गरिएको छ।

विद्यालयसम्म पुग्न नपाई अनौपचारिक विद्यालयमा अध्ययनरत ५० विद्यार्थीको घरको अवस्था निकै दयनीय नै छ। तर लकडाउनको यतिका दिनसम्म कसैले सोधपुछ समेत नगरेको उनीहरुले बताए। शनिबार भने जापान इन्टरनेशनल लेभर फाउन्डेशनको सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेस पर्साले उपलब्ध गराएको छ। राहत लिन पुगेका उनीहरुलाई दूरी कायम गर्दै स्थानीय एउटा बोर्डिङ्गको प्रांगणमा जम्मा पारिएको ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल प्रसादले बताए। 

राज्यद्वारा विद्यालयको मान्यता दिएका ठाउँको गेट समेत टेक्न नपाएका सबै बालबालिका मुसहर, धाँगड र पासवान अर्थात पिछडिएको जातीका हुन् उनले भने। तीन बर्ष अगाडी जिल्लाका विपन्न बालबालिका मध्येबाट छनौट गरी अनौपचारिक विद्यालयमा पढाउन थालिएको हो। घर परिवार पनि उनीहरुको ज्यादै कमजोर भएर विद्यालय जान सकेका थिएनन्।

जापानिज संस्थाकै सहयोगमा अनौपचारिक विद्यालय स्थापना गरी ट्रेड युनियन कांग्रेसले नै पर्सामा पनि १५-२० वर्ष पहिलेबाट यस्तो कक्षा संचालन गरिदै आएको उनको भनाई छ। हरेक तीन वर्षमा परिवर्तन हुने त्यस्ता विद्यार्थीहरुलाई कुनै सरकारबाट केही सहयोग प्राप्त नभएको ती विद्यार्थीहरुले बताए।

दाता जापनीज संस्थासँग ट्रेड युनियन कांग्रेस मिलेर देश भरीमा ८ वटा विद्यालय संचालन गरिएको छ। त्यसै मध्येको पर्साको पनि यो अनौपचारिक विद्यालय हो। बिहान २५ जना र साँझ २५ गरी ५० जनालाई तीन बर्ष लगातार शिक्षा दिइन्छ। अनि ५ देखि ७ कक्षाको बीचमा भर्ना हुन सक्ने बनाएर तीन वर्ष पछि विदाइ गरिने गरेको सो अनौपचारिक विद्यालयकी शिक्षिका रचना अधिकारीले बताइन्। यो अवधिमा उनीहरुको ड्रेस, कापी, किताब सबै खर्च जापान इन्टरनेशनल लेवर फाउन्डेशन र नेपाल ट्रेड युनियन कांग्रेसले उपलब्ध गराउने गरेको उनको भनाई छ। 

शनिबार भने सबै विद्यार्थीलाई जनही १० किलो चामल, १ किलो दाल, १ प्याकेट तेल, १ प्याकेट नुन र २ वटा साबुन वितरण गरिएको नेपाल शिक्षक संघ पर्साका अध्यक्ष प्रदीप कुमार जैसवालले बताए।

जापानको अन्तराष्ट्रिय श्रमिक संघको सहयोगमा संचालित अनौपचारिक विद्यालयका बालबालिकालाई राहत पनि श्रमिक दिवसकै अवसर पारेर वितरण गरिएको श्रमिक संघ पर्साका अध्यक्ष शिवशंकर प्रसाद कुर्मीले बताए।  विद्यालयमा रचना अधिकारी र रेनु यादव दुइजना शिक्षिका मात्र छन्। उनीहरुको पारिश्रमिक पनि जापानीज दाता संस्था र ट्रेड युनियनले नै उपलब्ध गराउने गरेको अध्यक्ष कुर्मीको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.