|

ओखलढुंगाः कोरोना संक्रमण फैलन नदिन भन्दै लगाइएको लकडाउन लम्बिइरहँदा ओखलढुङ्गामा दैनिक ज्याला मजदुरी गरेर जीवन धानिरहेका मजदुरहरूले सरकारसँग राहत नभई काम दिन आग्रह गरेका छन्‌। ४४ दिनदेखि लगाइएको लकडाउन पुन: लम्ब्याउने तयारीमा सरकार लागेपछि श्रमिकहरूले खान समेत धौ-धौ परेको बताएका हुन्‌। 

जिल्लाको लिखु गाउँपलिका वडा नं ७ का गणेश श्रेष्ठ मिस्त्रीको काम गर्छन्। साविक समयमा लगातार काम गर्दा पनि खान लाउन र छोराछोरी पढाउन कठिनाई भोगिरहेका श्रेष्ठले काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्‌। काम नभएका कारण राहतको आशामा बसेको बताउँदै उनले सरकारले काम गर्ने वातावरण बनाइदिए गरिबलाई राहत दिनुनपर्ने बताए। उनी भन्छन्, 'राहत चाहिंदैन, गरीबलाई काम गर्न दिए हुन्छ, राहतले हामीलाई झनै गरीब बनाउँछ।'

मिस्त्री काम गर्ने लिखु गाउँपालिका ६ का राजु रम्तेललाई पनि परिवारको गर्जो टार्न मुस्किल परिरहेको छ। काम गर्न नपाएको ३५ दिन नाघिसक्यो। दैनिकी धान्न कठिन भएपछि लकडाउनकै अवस्थामा पनि आफूले चार-पाँच दिनसम्म काम गरेपनि काम पूरा हुन नसक्दा भुक्तानी नपाएको बताए। उनले भने‌, 'ठेकदारले मालिकसँग लिएर दिने हो, मालिकले काम नसकेसम्म पैसा दिँदैन, काम सकिएको छैन, केही दिन त काममा गएर गर्‍यौं, तर प्रहरी आएर काम गर्न दिएन्, अब कसरी  बाँच्ने?'  

गाउँपालिकाले राहत दिने कुरा गरेर नाम लिष्ट तयार पारेपनि राहतले काम गरी खानेलाई झनै आहत हुने उनले बताए। उनी भन्छन्‌, 'दैनिक ज्याला मजदुरी गर्नेलाई राहत होइन काम गर्न देउ, आफैँ गर्छौं-खान्छौं।' 

जिल्लामा यसरी दैनिक काम गरेर गुजारा टार्ने सैयौं परिवार छन्‌। लगातारको बन्दाबन्दीका कारण काम गर्न नपाउँदा विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नेलाई समस्या परिरहेकोे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.