|

कञ्चनपुर : भारतसँगको सबै प्रवेश विन्दु र खुला सिमानाबाट मानिसहरूलाई अवैद्य ढङ्गबाट प्रवेश गराउने र लुकाउन माथि कारबाही गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको आदेशमा सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका व्यक्तिहरुलाई लुकाउने कार्य गरेको गराएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने उल्लेख छ। सीमा क्षेत्रमा यात्रुहरु आगमनको कार्य जेठ १८ गतेको मध्यरातसम्म स्थगित गर्ने गरी निरन्तरता दिइने भएको छ।

अर्को व्यवस्था नभएसम्मका लागि जेठ ५ गते सोमबार मध्यरातसम्म जिल्लाभर स्वास्थ्य सुरक्षा मापदण्ड पालना र सामाजिक दुरी कायम गरी पशुपन्छी, माछा, कखुरा, पालन र नर्सरीबाट बिरुवा उत्पादन तथा दाना उत्पादन, फलफुल तरकारी दुध, दुग्धजन्य पदार्थ उत्पादन, संकलन भण्डारण, एग्रोभेट भेटेनरी औषधी पसलहरुको सञ्चालन, सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्था, अस्पताल, नर्सिङहोम, पोलिक्लिनिक ल्याब, सबै प्रकारका खोप लगायत अत्यावश्यक सेवाहरुको सञ्चालन जुनसुकै समयमा पनि गर्न पाइने भएको छ।

औषधी पसलहरुको सञ्चालन, कृषि सामग्री, पानी, ग्याँस, खाद्य सामग्री, पेट्रोलिय पदार्थ बोकेका ढुवानीका साधन, रासायिनिक मल, प्रांगारिक मल बोकेका ढुवानी सधान, बढीमा पाँचजना कामदार रहने गरी सवारी साधन मर्मत गर्ने वर्कसप, इनरनेट जडान र मर्मत लगायतका कार्यसमेत गर्न पाइने भएको छ।

स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दुरी कायम गरी खाद्यान्न, फलफुल तरकारी, र दुग्धजन्य पदार्थ लगायतका अत्यावश्यक सामग्री बिक्री गर्ने पसल बिहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ। औद्योगिक कच्चा पदार्थ र तयारी मालबस्तु बोकेका ढुवानीका सधानहरु राती ९ बजे देखि बिहान ६ बजेसम्म सञ्चालन गर्न पाइने छ।

विकास आयोजनामा प्रयोग हुने उपकरण, सिमेन्ट, छडलगायतका निर्माण सामग्री बोकेका ढुवानीका साधनहरु साँझ ७ बजे देखि बिहान ७ बजेसम्म, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट पाठयपुस्तक बिक्रीको अनुमति लिएका पुस्तक पसल सञ्चालन गर्न बिहान १० बजे देखि २ बजेसम्म, माछाको भुरा, कुखुराको चल्ला तथा अन्य पशुपन्छि र सोको लागि आवश्यक दाना भित्र्याउनका लागि साँझ ७ बजे देखि बिहान ७ बजेसम्मको समय निर्धारण गरिएको छ।

नदी नियन्त्रणका कार्यहरु जिल्ला प्रशासनको स्वीकृति लिएर गर्न सकिने जारी आदेशमा जनाइएको छ। श्रमिक कामदारलाई छुट्टै स्थानमा राख्ने बन्दोबस्त मिलाई काममा लगाउने तथा खाना खाजाको व्यवस्था गर्ने र सोकको खर्च सम्बन्धित उद्योग प्रतिष्ठानले व्यहोर्ने गरी उद्योगहरुले कार्यस्थललाई अनिवार्य रुपमा सेनिटाइजेसन गर्ने र नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्नुपर्ने छ।

राष्ट्रिय गौरवका आयोजना,सिचाई, खानेपानी,सडक तथा पुल,सरकारी भवन निर्माण र प्रवलिकरण सम्बन्धि काम र अन्य सहरी पूर्वाधार विकास निर्माण कामहरु एक स्थानमा एकपटकमा अधिकतम १० जनामा नबढने गरी सञ्चालन गर्न सकिने छ।

निर्माण व्यवसायीले खर्च व्यहोर्ने गरी श्रमिकलाई सम्बन्धित आयोजनाले दैनिक स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने, कार्यस्थलमै खाना खाजाको व्यवस्था मिलाउने, आवास स्थल देखि निर्माण स्थलसम्म श्रमिकलाई सुरक्षित आवतजावत गर्न स्वास्थ्य मापदण्ड पालना गरी निर्माण व्यवसायीले परिवहनको व्यवस्था मिलाउनु पर्ने, चामल, दाल, तेल चिउरा, चिनी, बिष्कुट, पाउरोटी पीठोजस्ता दैनिक उपभोग्य बस्तु, पानी प्रशोधन, औषधी स्वास्थ्य सामग्री, सावुन उत्पादन र सोको प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योगहरु सञ्चालन गर्ने सकिने छ।

बैंक तथा वित्तीय संस्था बीमा, धितोपत्र, सहकारीमार्फत अति आवश्यकीय सेवा प्रवाह गर्नु पर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारी मध्ये एक तिहाई कर्मचारीद्वारा सेवा प्रदान गर्ने, अत्याआवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय र सार्वजनिक संस्थामा अतिआवश्यक न्यूनतम कर्मचारीलाई आलोपालो मिलाई तोकिएका स्वास्थ्यसम्बन्धि मापदण्ड अनुशरण गरी कार्यालय सञ्चालन गर्नु पर्ने छ।

विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोभिड १९को संक्रमण फैलिने संभावना देखिएकाले सो रोग रोकथाम र निर्मुल गर्न संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जेठ ५ गते मध्यरातसम्म लागु हुने गरी आदेश जारी गरिएको हो।

कृषिमा अभाव देखाउने, कालोबजारी जम्माखोरी गर्ने वा आपूर्तिमा अबरोध गरेको पाइएमा प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिइने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारकाको कार्यमा उपयोग गरिने बताइएको छ।

कञ्चनपुर प्रवेश गर्ने मालवाहक सवारी साधनमा यात्रु ओसार पसार गर्न पाइने छैन। झुटा विवरण दिई यात्रा गरेमा सवारी साधन नियन्त्रणमा लिई कारबाही गरिने छ। आदेश कार्यान्वयनको सम्बन्धमा कुनै दुविधा भएमा जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार हुने बताइएको छ।

औषधी उपचार, खाद्य बस्तु खरिद जस्ता अत्यावश्यक काममा र आदेशबमोजिम सञ्चालन गर्न पाइने सेवामा संलग्न व्यक्ति बाहेक अन्य कुनै पनि व्यक्ति घरबाट निस्कन निषेध गरिएको छ।

आदेश उल्लंघन गरेमा वा लकडाउनको अनुशासन विपरीत भीड बढी संक्रमणको जोखिम बढेको पाइए कुनै पनि बेला अनुमति प्राप्त गरेका कुनैपनि सेवा तत्काल बन्द गराइने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.