सरकारको भूमिकामा नेमकिपाको प्रश्न

|

भक्तपुर : नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले एकपक्षीय रुपमा बाटो बनाई मानसरोबर मार्ग खोलेको विरोधमा भक्तपुरमा प्रर्दशन भएको छ। नेपाल मजदुर किसान पार्टीका भातृ संगठन नेपाल क्रान्तिकारीसहितले संयुक्तरुपमा प्रदर्शन गरेका हुन्।

भक्तपुरको कमलविनायकबाट सुरु भएको युवा–विद्यार्थीको उक्त जुलुस च्याम्हासिंह–सूर्यमढी–दतात्रय–गोल्मढी–सुकुलढोका–टौमढी हुँदै सूर्यविनायक चोक पुगेर कोणसभामा परिणत भएको हो।

जुलुसमा सहभागीले भारतीय विस्तारवाद–लिपुलेक छोड्, कालापानी हाम्रै (नेपालकै) हो, लिम्पियाधुरासम्म हाम्रै हो, भारतीय विस्तारवाद–मुर्दावाद, भारतीय सेना कालापानी छोड्, सीमा अतिक्रमण–बन्द गर जस्ता नारा लगाएका थिए। जुलुसमा सयौंको संख्यामा युवा विद्यार्थी तथा स्थानीय सहभागी थिए।

प्रदर्शनपछि आयोजित कोणसभामा नेक्राविसंघका केन्द्रीय अध्यक्ष सविन ख्याजुले सबै प्रमाणहरूले लिपुलेक, कालापानी, लिम्पियाधुरासम्मको क्षेत्र नेपालको हो भनी प्रस्ट हुँदाहुँदै भारतले कब्जा गरी राख्नु बिस्तारवादी र हेपाहा प्रवृत्ति भएको बताए। 

‘नेपालको भूमिबाट भारतिय सेना हटाउन नसक्नु र भारतले कब्जा गरेको नेपालको भूमि फिर्ता लिन नसक्नु नेपालका शासकहरुको नालायकी लाचारीपन हो’, उनले भने। 

भारतले अतिक्रमित सबै नेपाली भूमि नेपाललाई फिर्ता गर्नुपर्ने माग गर्दै युवा–विद्यार्थीले संघर्ष गरिरहने प्रतिवद्धता व्यक्त गरे।

नेक्रायुसंघका भक्तपुर अध्यक्ष मिनबहादुर बाटाले कोरोना भाइरस महामारीको अवस्थामा भारतीय विस्तारवादले नेपाली भूमिमा सडक बनाएर आफ्नो मौकापरस्त अनुहार उदाङ्गो पारेका आरोप लगाए। 

उनले नेपाली भूमि अतिक्रमण गरी ७८ किमि सडक बनाउँदासमेत नेपाल सरकार आफूलाई थाहा छैन भनी पन्छनु गैरजिम्मेवारीको पराकाष्टा भएको बताए।

नेमकिपाको विरोध

यसैबीच नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्नुलाई नेपालको सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप भन्दै विरोध एवम् भत्सर्ना गरेको छ। 

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टी सचिव प्रेम सुवालले विज्ञप्ती जारी गर्दै भारतको उक्त कदमको विरोध गरेको हो।

‘भारतीय विस्तारवादले नेपाली भूमि गुञ्जी, नाभीढाङ र लिपुलेक अतिक्रमण गरी सडक निर्माण कार्य गरेको नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप हो’, विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक नेपाली भूमि हो। नेमकिपा यो भारतीय हस्तक्षेपको विरोध एवं भत्सर्ना गर्दछर’

विज्ञप्तीमा सन् २००८ देखि निर्माण सुरू गरी गत महिना सम्पन्न गर्दासमेत नेपाल सरकारले चासो नदेखाएको र आफ्नो भूमि रक्षा गर्न नसकेको भन्दै खेद प्रकट गरेको छ। 

भारतले नेपालका ७१ भन्दा बढी ठाउँमा सीमा अतिक्रमण गरी ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि कब्जा गरिसकेको विज्ञप्तिमा जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.