विज्ञ भन्छन्‌ : 'संक्रमण झन्‌ फैलन सक्छ'

|

काठमाडौं : कोरोना भाइरस परीक्षण दायरा फराकिलो बनाउन सरकारले केही दिनयता पुलिङ परीक्षण विधि अपनाइरहेको छ। तर विज्ञहरुले यसो गर्दा संक्रमित पहिचान नै नहुने जोखिम रहने बताएका छन्‌।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुलिङ परीक्षण विधि अपनाउँदै अहिले देशभर एकै दिनमा एक हजारभन्दा बढी नमूनाको पीसीआर परीक्षण भइरहेको छ। यसअघि पिसीआर कीट अभाव हुँदा कोरोना भाइरसका शंकास्पद बिरामीबाट लिइएको नमूना परीक्षण सुस्त भएको थियो।

तर कीट उपलब्ध भएपछि पछिल्ला केही दिनयता सरकारले कोरोना परीक्षण गर्न पुलिङ अपनाएको छ। यो विधि अपनाउँदा पीसीआर परीक्षण दरसमेत बढेको मन्त्रालयले जनाएको छ। विभागीय मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहाकार डा. खेम कार्कीका अनुसार धेरैभन्दा धेरैको परीक्षण गर्न पुलिङ विधि अघि सारिएको हो।

कार्कीले भने, ‘हाल धेरैजना क्वारेन्टाइनमा छन्, उनीहरु सबैको परीक्षण गर्न हामीले पुलिङ विधि अपनाएका हौं, यसले परीक्षणको दायरासमेत फराकिलो बनाउने हाम्रो विश्वास छ।‘

के हो पुलिङ परीक्षण विधि?

पुलिङ टेष्टमा शंकास्पद पाँचजना व्यक्तिको स्वाब संकलन गरेर राखिन्छ। पाँच जनाबाट संकलित स्वाबलाई एउटै ट्युबमा मिसाइन्छ। जसमध्ये एक जनाबाट १४० माइक्रोलिटर नमूना निकालेर त्यसलाई एउटै नमूनाको रुपमा कोरोना परीक्षण गरिन्छ। एक जनाबाट १४० माइक्रोलिटरका हिसाबले पाँच जनाको सात सय माइक्रो लिटर नमूनालाई परीक्षण गरिन्छ। उक्त नमूनाको रिपोर्ट नेगेटिभ आए पाँचै जनाको नमूना पुनः परीक्षण गर्नु पर्दैन। यो हिसाबले बाँकी चार वटा कीट बचत गर्न सकिन्छ। तर नतिजा पोजेटिभ आए पाँचै जनाको नमूना छुट्टाछुट्टै पुनः परीक्षण गर्नुपर्ने हुन्छ।

पीसीआर कीटको बचत गर्न र धेरै भन्दा धेरैको कोरोना परीक्षण गर्न मन्त्रालयले 'पुलिङ टेष्ट'लाई औपचारिक स्वीकृति दिएको हो। मन्त्रालयले बिहीबार स्वीकृति दिएसँगै हाल टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासहित देशभर पीसीआर परीक्षण हुने प्रयोगशालामा समेत पुलिङ टेष्टको काम भइरहेको डा. कार्कीले बताए।

पुलिङ टेष्टको माध्यमबाट एकैपटक थोरै कीटले धेरै जनामा कोरोना संक्रमण भए/नभएको परीक्षण गर्न सकिन्छ। यही विकल्पमाथि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले काम गर्दैछ। एउटै कीटबाट पनि पाँचदेखि १० जनाको एकै पटक कोरोना परीक्षण गर्न सकिने गरी मन्त्रालयले स्वीकृत दिएको हो।

संक्रमितको संख्या बढ्दै गएको बेला पुलिङ परीक्षण राम्रो होइन विज्ञ

कोरोना संक्रमण भए/नभएको पत्ता लगाउन सरकारले पुलिङ विधि अपनाएपनि विज्ञहरूले यसो गर्नु प्रभावकारी नहुने जनाएका छन्‌। संक्रमित संख्या घट्दै गएका बेला पुलिङ परीक्षण प्रभावकारी हुने, तर नेपालमा हाल संक्रमितको संख्या बढ्दै गएकाले यो विधि प्रभावकारी नहुने विज्ञहरुले बताएका हुन्।

संक्रमितसँग सम्पर्कमा आएको व्यक्ति पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गरी नमूना संकलन र परीक्षणको दायरा बढाइरहेको बेला पुलिङ परीक्षण राम्रो नभएको विज्ञहरुको भनाई छ।

जनस्वास्थ्यविद् एवम्‌ इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासैनीले खास समुदायमा पुलिङ परीक्षण गर्नुपर्ने र हालको परीक्षण 'कन्ट्याक ट्रेसिङ'मा केन्द्रीत भएकाले पुलिङ परीक्षण खासै प्रभावकारी नहुने वरिष्ठ बताए। 

उनले भने, ‘संक्रमितको संख्या बढ्दै गएको बेला पुलिङ परीक्षण खासै प्रभावकारी हुँदैन, यो त संक्रमित नदेखिएको क्षेत्रमा संक्रमितहरु छन् कि भनेर खोज्नको लागि गरिने परीक्षण हो।‘

वीर अस्पतालका एक माइक्रोबायोलोजिष्टका अनुसार हाल नेपालमा सुरू गरिएको पुलिङ विधिले परीक्षणको दायरा फराकिलो हुनुको साटो भएका संक्रमित पनि नभेटिने बताए। उनले भने, ‘धेरै जनाको स्वाब एकै ठाउँमा राखेर परीक्षण गर्दा कहिलेकाही भाइरस संक्रमित नभएको नतिजा आउनसक्छ, जसले गर्दा संक्रमण झन् फैलिन सक्छ।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.