२८ जना अट्ने अस्पताल, बिरामी पुगे ६८

|

पर्सा : जिल्लामा एकै दिन भेटिएका ३९ र बाराका एकजना संक्रमितलाई उपचारका लागि व्यवस्थापनमा प्रशासनलाई चुनौती थपिएको छ। पर्सामा भेटिएका संक्रमितलाई वीरगन्जको नारायणी अस्पतालमा राख्‍न सुरुमा ५ वटा आइसोलेसन बेड तयार पारिएकाे थियो।  

तर त्यसलाई आन्तरिक विस्तार गरी २५ बेड बनाइएको थियो। अहिले त्यसमा थपेर २ महिने शिशुसहित २९ जनाको उपचार भइरहेको छ। मंगलबार एक्कासि पर्सा र बारामा ४० जना संक्रमित भेटिएपछि यो समस्या देखिएको हो। 

‘पूर्वतयारी भएन’ 

‘अझै यो पनि महामारीको उच्च रुपमा होइन। सुरुकै अवस्था हो। यति बिरामी संख्या थपिँदा त तनाव हुन थालेको छ। यस्तो त कति थपिन्छ कति ? कुनै निश्चित हुँदैन। खुला सीमा भएकाले यो क्षेत्रमा सयौं बिरामी पनि फेला पर्न सक्छन्,’ वीरगन्जको नारायणी अस्पतालका डा. निरज कुमार सिंहले थाहाखबरसँग भने। 

जेनरल अस्पतालका रुपमा रहेको नारायणी अस्पताललाई नै कोभिड अस्पताल बनाउने केन्द्रको निर्णय, प्रदेश तथा स्थानीय सरकारहरुको फितलो पूर्वतयारीले महामारीमा ठूलो समस्या निम्तिन सक्ने सिंहले बताए। 

‘हामी चिकित्सकलाई यस्तो हुन सक्छ भनी पहिल्यै चिन्ता थियो। तर हाम्रो सुझावलाई कसैले वास्ता गरेनन्’, उनले भने। नारायणी अस्पतालको कोभिड १९ का संक्रमित हेर्ने पहिलो टोलीको नेतृत्वसमेत गरेका डा. सिंहले थपे, ‘यो महामारीलाई सामान्य नठान्न हामी चिकित्सकले सुरुदेखि भनेकै हो। यतिमा नै आत्तिनुपर्ने अवस्था भइसक्यो।"

'फराकिलो ठाउँ खोजौँ'

खुला ठाउँ, चारैतर्फ बाहिर निस्कन नमिल्ने वीरगन्जको नेसनल ट्रेडिङ लिमिटेडजस्तो फराक ठाउँमा बिरामीलाई राख्ने व्यवस्था मिलाउनुपर्ने सिंहको भनाइ छ। 

‘जेनेरल अस्पताललाई कोभिड १९ अस्पताल बनाइनु हुँदैन,’ डा. सिंहले सुझाव दिए। केही निजी अस्पताललाई पनि सरकारहरुले कोरोना उपचारका लागि बिरामीहरुको व्यवस्थापन गर्न सकिने उनको भनाइ छ।
  
मंगलबार भेटिएका सबै स्थानीय !

मंगलबार भेटिएका ४० जना सबै स्थानीय भएको बताइएको छ। आज फेला परेका सबै जना वीरगन्जको छपकैया क्षेत्रका हुन सक्ने नारायणी अस्पताल प्रशासनले जनाएको छ।सबैको विस्तृत विवरण भने संकलन हुँदै गरेकोले अहिले नै सबै प्रस्ट भन्न सक्ने अवस्था नभएको अस्पतालले जनाएको छ। 

तेस्रो चरणमा प्रवेश गरेको कोभिड संक्रमणको यो अवस्थालाई कसरी न्यूनीकरण गर्नेबारे जिल्लाका स्थानीयस्तरमा अहिले बैठक बसिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.