|

पर्सा : मंगलबार एकैदिन ५७ कोरोना संक्रमित पुष्टि भएको पर्सामा ती व्यक्तिको सम्पर्कमा रहेका मानिसहरुको अहिले स्वाव संकलन भइरहेको छ। नेपालमा पहिलो पटक २ पत्रकारसमेत संक्रमित फेला परेको पर्सामा संक्रमित सबैको सम्पर्कमा रहेका मानिसहरुको यतिवेला धमाधम स्वाव संकलन भइरहेको हो।

बुधबार पर्साका ८० जनाजति पत्रकारहरुले वीरगन्जको नारायणी अस्पतालमा पुगी आफैँ थ्रोट स्वाब संकलन गराएका छन्। बाँकी संक्रमित मानिसका निकटस्थहरुको पनि पहिचान गरी स्वाव संकलन सुरु गर्न थालिएको नेपाली सेनाको वीरगन्जस्थित चण्डीप्रसाद गणका गणपति मधुजंग राणाले बताए। स्वास्थ्यकर्मीसँगै फ्रन्ट लाइनमा रहेर सहयोग गरिरहेको नेपाली सेनाले मंगलबार साँझ ८ बजेबाट भने पर्साको निशेधाज्ञामा सुरक्षार्थ पनि साथ दिइरहेको छ।

खुल्ला सीमा क्षेत्र भएको पर्सामा एकैदिन यत्रो संक्रमित फेला परेका मध्ये पहिलो चरणमा सार्वजनिक गरिएका पर्साका ३९ र बाराका एक संक्रमित गरी ४० जनालाई भने वीरगन्जको नारायणी अस्पतालको आइसोलेशन कक्षमा ल्याई सकिएको छ। दोस्रो चरणमा मंगलबार राती संक्रमित पुष्टि गरिएका पर्साका १८ जनालाई पनि वीरगन्जको नारायणी अस्पतालमा नै ल्याउने तयारी भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

५ बेडबाट २५ बेड, फेरि ५० बेड र पछि ७० बेड सम्म विस्तार गरिएको नारायणी अस्पतालको आइसोलेशन कक्षमा थप १८ जना पनि थपिने भएपछि बेड विस्तार गरी व्यवस्थापन गर्ने तयारी भइरहेको छ। यो भन्दा बढि संक्रमित थपिए अब नारायणी अस्पतालमा राख्न नसकिने नारायणी हस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ( मेसु ) डा.मदनकुमार उपाध्यायले बताए। दिनदिनै संक्रमित बढ्ने क्रम रहेकोले यसको लागि अर्को विकल्प गर्न स्थानीय जिम्मेवार निकायले सहयोग गर्नुपर्ने उनको तर्क छ।

परिक्षणका लागि यहाँ किट पनि ५०० भएकोमा त्यसबाट स्वाव संकलन भइरहेको छ। थप किट आइनपुगे अरु स्वाव संकलनमा पनि कठिनाइ हुन्छ। वीरगन्ज क्षेत्रमा एकै दिन ५७ जना संक्रमित पुष्टि भएपछि भने केन्द्रबाट एकहजार र प्रदेश सरकारले पनि ५०० किट पठाउने भनेकोमा अहिलेसम्म वीरगन्जमा भने आइनपुगेको नारयाणी अस्पतालले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.