थाहा संवाद : स्थानीय सरकार

'महामारी बढ्दै गए गुन्द्रीमा मात्रै सुत्‍ने दिन आउँछ'

भारतमा फसेका नेपाली ल्याउन प्रधानमन्त्रीस्तरकै निर्णय हुनुपर्छ

जेठ २, २०७७

    डडेल्धुरा : अजयमेरु गाउँपालिका साबिकका समैजी, अजयमेरु, भद्रपुर, चिपुर र देवल दिव्यपुर गाउँविकास समिति मिलाएर बनाइएको हो। यसको कुल क्षेत्रफल १४८.९० वर्ग किलोमिटर रहेको छ।  २०६८ सालको जनगणनाअनुसार यस गाउँपालिकाको जनसंख्या १७ हजार ६६ जना रहेको छ, जसमा नौ हजार १७२ महिला र सात हजार ८९४ पुरुष छन्। उक्त गाउँपालिकामा तीन हजार ३११ घरधुरी छन्।

    अजयमेरुकोट, देवल, जगन्नाथ मन्दिर, डागेश्वरी मन्दिर, गंगेश्वर मन्दिर, दुर्गा भगवतीलगायतका धार्मिक पर्यटकीय क्षेत्रहरू यहाँ छन्। यस गाउँपालिकामा फलामखानीको पनि सम्भावना छ। यहाँ प्रायः सबै जातजातिका मानिसहरूको बसोबास छ। सडक मार्गबाट जिल्ला सदरमुकामदेखि अजयमेरु गाउँपालिका १८ किलोमिटर टाढा छ।

    स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट (विकास)सँग कोरोना भाइरसविरुद्ध लड्न गाउँपालिकाले गरेको पहलको विषयमा केन्द्रित रहेर थाहाखबरकर्मी प्रकाश पार्कीले गरेको कुराकानीको सम्पादित अंशः 

    लकडाउनका दिनहरू कसरी बित्दैछन्?

    अन्य कार्य सम्पादनभन्दा कोरोनविरुद्धको लडाइँमै छौं। दिनरात नभनी भोकभोकै पनि कोरोनाविरुद्धको अभियानमा लागिरहेका छौं। गाउँपालिकामा यसलाई प्रवेशै गर्न नदिने गरी विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेका छौं। यसबारे प्रचार–प्रसारका साथै राहत वितरण तथा क्वारेन्टाइन व्यवस्थापनमा व्यस्त छौं अहिले। स्वास्थ्य सामग्रीहरू खरिद पनि गरिरहेका छौं।

    कोरोना नियन्त्रण र रोकथामका लागि गाउँपालिकाले के गरिरहेको छ?

    चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको छ। गाउँपालिकामा संक्रमण प्रवेश गर्न नदिन हामीले सबैभन्दा पहिले गाउँपालिका र वडास्तरीय समिति निर्माण गरेर कोरोनाबारे सचेत गराउने काम गरेका छौं।

    स्वास्थ्यकर्मी, सरक्षाकर्मी, कर्मचारी र जनप्रतिनिधिसहितको टोली घर–घरमा गएर यसबारे सचेतना जगाउने काम पनि हामीले गरेका छौं। सरकारले लकडाउन घोषणा गरेपछि हामीले लकडाउनका बारेमा पनि जनतालाई बुझायौं। स्वास्थ्यकर्मीहरूको सुरक्षालाई मध्यनजर गरेर उहाँहरूको सुरक्षाका लागि हामीले पिपिई, एन–९५ मास्क, थर्मल गन, सेनिटाइजर लगायतका सुरक्षाका सामग्री खरिद गरेर वितरण गरेका छौं।

    देशमा लामो सयम लकडाउन हुँदै गर्दा राहत पनि वितरण गरेका छौँ। साथै हामीले गाउँपालिकामा क्वारेन्टाइनको पनि व्यवस्थापन गरेका छौं। त्योसँगै हामीले १५ जनाको पिसिआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर पठायौं। ३० जनाको आरडिटी परीक्षण गर्‍यौं। आरडिटी किट हामीसँग थिएन। प्रदेश सरकारसँगको समन्वयमा त्यो किटको हामीले व्यवस्थापन गर्‍यौं।

    संघीय राजधानी काठमाडौंमा हाम्रो गाउँपालिकाका केही विद्यार्थी समस्यामा परेको खबर पाएपछि हामीले उनीहरूलाई उद्धार गरी गाउँसम्मै ल्याएका छौँ।

    यहाँले क्वारेन्टाइन व्यवस्थापन गरेको कुरा गर्नुभयो। अजयमेरुमा अन्यत्रबाट आएका व्यक्तिहरू क्वारेन्टाइनमा बसेका छन्?

    छन्, हामीले नेपाल सरकारले बनाएको मापदण्डअनुसार यहाँ आएका व्यक्तिहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्छौं। १४ दिन राखिसकेपछि उहाँहरूको आरडिटी परीक्षण गरेर होम क्वारेन्टाइनमा बस्नू भनेर पठाउँछौँ। क्वारेन्टाइनमा आउने जानेक्रम चलिरहेको छ।

    हामीले भारत, काठमाडौं, कैलाली, कञ्चनपुर, बैतडीलगायतका ठाउँबाट आएका व्यक्तिहरू पनि क्वारेन्टाइनमा राखेका छौँ। यदि कुनै व्यक्ति हाम्रो गाउँपालिकामा प्रवेश गर्छ भने उसले अनिवार्य क्वारेन्टाइनमा बस्ने शर्तमा मात्रै आउन पाउँछ।

    क्वारेन्टाइन बस्दैन भने प्रवेश निषेध गरेका छौँ हामीले। गाउँपालिकाभर स्थानीय स्रोतसाधनको प्रयोग गरेर १२७ बेडको क्वारेन्टाइन बनाएका छौँ। कोरोनाको संक्रमण जुनसुकै मान्छेलाई पनि हुनसक्ने भएकाले सबैले सचेत हुनु आवश्यक छ।

    देश लामो समयदेखि लकडाउनमा छ। यो अवधिमा गरिब, मजदुरहरूको लागि गाउँपालिकाले राहतको व्यवस्था कसरी गरिरहेका छ?

    नेपाल सरकारले चैत ११ देखि लकडाउन सुरु गर्‍यो। हामीले राहत वितरणका लागि मापदण्ड तथा निर्देशिका बनाएका छौं। चैत १९ गते कार्यपालिका बैठक बसेर राहत वितरणसम्बन्धी कार्यविधि र मापदण्ड पारित गर्‍यौं।

    त्यहीँ मापदण्डअनुसार हामीले राहत वितरण गरिरहेका छौँ। पहिलो चरणमा स्थानीय व्यापारीहरूसँग समन्वय गरे खाद्यान्न उपलब्ध गराइदियौं। दोस्रो चरणमा हामीले १० प्रतिशत ढुवानी अनुदानमा घरघरमै खाद्यान्न आपूर्ति गर्‍यौं भने तेस्रो चरणमा गरिब, मजदुर र अतिविपन्नलाई निःशुल्क राहत वितरण गर्‍यौं।

    लकडाउन भएको ५३ दिन बितिसकेको छ। अझै लकडाउन थपिँदै गयो भने गाउँपालिकाका योजना के छन्?

    कोरोना यति महिनामा नियन्त्रण हुन्छ भनेर भन्न सकिने अवस्था छैन। लकडाउन बढ्दै गएपछि हामी हाम्रा गाउँपालिकाका बेरोजगार युवाहरूलाई कामसँग जोड्छौं। उहाँहरूलाई हामी रोजगारी दिन्छौँ। काम गर्दा नगद पैसा पाउँछन् अनि उहाँहरुको दैनिकी चल्छ।

    विदेशबाट मान्छेहरु गाउँमा आएका हाम्रो गाउँपालिकामा बाँझो जमिन पनि धेरै नै छ। हामीले यसपालि भूमि बैंकको ‘कन्सेप्ट’ अघि सारेका छौं। त्यो भूमि बैंकमा के हुन्छ भने हाम्रो गाउँपालिकाभरको जमिन भूमि बैंकमा सञ्चित हुन्छ। जग्‍गाधनीले त्यहाँ जग्गा राखेका हुन्छन् यदि कसैले जमिन लिन चाहेमा गाउँपालिकासँग समन्वय गरेर लिजमा ल्याउन पाउँछ।

    भारतमा अहिले धेरै नेपालीहरू अलपत्र छन्। त्यसमा अजयमेरुका पनि होलान् उनीहरूको उद्धारका लागि के गरिराख्‍नुभएको छ?

    उहाँहरू उद्धारका लागि हामीलाई सम्पर्क गरिराख्‍नुभएको छ। तर, अहिले हामी उहाँहरूलाई ल्याउन सक्ने अवस्थामा छैनौं। किनकि नेपालभित्रकै भए हामी उनीहरू उद्धार गरेर ल्याउँथ्यौं। तर उहाँ भारतमा हुनुहुन्छ। हाम्रो देशको प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीबीचको कुरा हो।

    दुई देशको सरकारबीचको सहमतिका आधारमा ल्याउन सकिन्छ हामी त ल्याउन चाहन्छौं तर हामीले भनेर मात्रै हुँदैन। संघीय सरकारले पहल गर्नुपर्छ। यो कूटनीतिक पहलबाट सामाधान हुने कुरा हो।

    म यसो सामाजिक संजाल हेर्छु मुख्यमन्त्री के हेरिरहेको छ? गाउँपालिका के हेरिरहेको छ? भन्ने प्रश्नहरू उठिरहेका छन्। उहाँहरूले अपेक्षा राख्‍नु पनि ठीकै हो। उहाँहरूको पीडालाई बुझ्दै हामीले उद्धारका लागि संघीय सरकारलाई अनुरोध गरेका छौं।

    उहाँहरुको उद्धार गरेर ल्याएर घरघरमा पठाइदिने हो भने जोखिम बढ्छ। उहाँहरु जुन नाका भएर आउनुहुन्छ त्यहाँ नै क्वारेन्टाइनको व्यवस्थापन गरौँ। १४ दिन क्वारेन्टाइनमा राखौँ। स्वास्थ्य परीक्षण गरे घरघर पठाइदिने हो भने समस्या हुँदैन।

    यदि संघीय सरकारले विदेशमा अलपत्र नागरिकलाई ल्याएपछि अजयमेरुसँग आफ्ना नागरिक क्वारेन्टाइनमा राख्ने क्षमता छ?

    हामीसँग क्षमता छैन त भन्नै मिल्दैन। पहिलो कुरो त त्यहाँका जनताको सुरक्षा नै हो। सरकार केका लागि? कसका लागि? म मेरा देशका जनताको सुरक्षा दिन सक्दैन पाल्न सक्दैन भन्नेलाई नेतृत्व गर्ने नैतिक अधिकार पनि हुँदैन। हाम्रा गाउँपालिकाका २० हजार नागरिकमध्ये हजार, १५ सय नागरिक विदेशमा होलान्।

    ती मान्छे आएपछि हामी उहाँहरूलाई धेरै व्यवस्थित तरिकाले खानबस्नको व्यवस्था गर्न नसकौंला। क्वारेन्टाइनमा संख्या बढ्दै गयो भने भोलिका दिनमा त्यति धेरै सुविधा दिन नसकिएला। चामल उमालेर त्यसमा नुन मात्रै राखेर खानुपर्ने दिन आउन सक्ला! त्यो मान्न सकिन्छ। तर, आफ्नो नागरिकलाई मैले पाल्न र व्यवस्थापन गर्न सक्दैन भन्न मिल्दैन।

    अहिले क्वारेन्टाइनमा हामीले बेड सेटसहित दिएका छौँ भने महामारी बढ्दै गए एउटा मेट, परालको गुन्द्रीमा मात्रै पनि सुत्नुपर्ने दिन आउन सक्ला! जनताको सहकार्य तथा सहयोगमा मात्रै कोरोनालाई नियन्त्रण गर्न सकिने हो। विदेशबाट आएकाहरू घरमा कहाँ सुत्नुहुन्छ? जहाँ सुत्छन् ती बेड ल्याएर क्वारेन्टाइनमा राख्न सकिन्छ।

    यसरी हामीले गर्‍यौं भने व्यवस्थापन गर्न नसकिने भन्ने केही हुँदैन, सकिन्छ। यदि जनताले नै हामी जनप्रतिनिधिहरूलाई साथ दिएनन् भने हामीले फाइभ स्टारस्तरको क्वारेन्टाइन बनाए पनि व्यवस्थापन गर्न सकिँदैन।

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]