औषधि पसल नौबजेसम्म मात्रै खोलिने

|

भक्तपुर : दुईजनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएपछि भक्तपुरमा लकडाउनलाई कडा बनाइने भएको छ। 

जिल्लास्तरीय विपद् व्यवस्थापन समिति (सिएमसी)को बुधवार सम्पन्न बैठकले अति आवश्यक कामको लागि बाहेक सर्वसाधरणलाई घर बाहिर निस्कन नदिने निर्णय गरेको हो। 

समितिको बैठकले जिल्लामा कोभिड–१९ को संक्रमणको जोखिम र समुदायमा बिस्तारको खतरा देखिएकाले कोही पनि सर्वसाधारण घरबाहिर निस्कन नपाउने तथा अति आवश्यक वस्तुबाहेक व्यापार, व्यवसाय र उद्योग सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

त्यसैगरी संक्रमित व्यक्तिहरुको यात्रा विवरणका आधारमा अविलम्ब कन्ट्याक्ट ट्रेसिङ गर्ने, उनीहरुको बासस्थान सिल गर्ने, उनीहरुका परिवारका सदस्यहरुको तुरुन्त कोरोना परीक्षण र आवश्यक परे आइसोलेसनमा राखेर उपचार गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले गृहमन्त्रालयको निर्देशन अनुसार भक्तपुरबाट अन्यत्र जान यसअघि जारी गरिएका सबै सवारी पास खारेज गर्ने निर्णय गरेको छ।

बैठकले भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अति आवश्यक बाहेक व्यक्ति तथा सवारी साधन निषेध गर्ने, स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको व्यवस्थापन तथा नियमनको काम गर्ने, विपन्न खाद्यान्न अभाव भएकाहरुलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।

त्यस्तै नगरपालिकाहरुले क्वारेन्टाइन चुस्त दुरुष्ट राख्ने, वडाहरु मार्फत आफ्नो क्षेत्रमा बाहिरबाट आएकाहरुको लगत संकलन गर्ने, निगरानी गर्ने, कोरोना परीक्षण गराउने र त्यस्ता व्यक्तिहरुलाई आवश्यकता अनुसार क्वारेन्टाइनमा पठाउने काममा समन्वय गर्ने निर्णय गरेको छ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, विरदल गण सूर्यविनायक व्यारेकका प्रमुख सेनानी शिवप्रसाद पौडेल, महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधान, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमसहित उपस्थित थिए।

थिमीमा नौ बजेसम्म 

यसैगरी एक जना कोभिड १९ संक्रमण देखिएको मध्यपुर थिमि नगरपालिकाले खाद्यान्न, औषधी पसल तथा अतिआवश्यक वस्तुको पसल बिहान ९ बजेसम्म मात्र खोल्न दिने निर्णय गरेको छ। 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दै कोभिड १९ संक्रमण देखिएको गम्भिर परिस्थितिलाई मध्यनजर गरी नगरपालिका क्षेत्र भित्र पर्ने अरनिको राजमार्ग र भक्तपुर जाने पुरानो बाटो पेप्सीकोला–निकोशेरा सडकमा मात्र सवारी चलाउन पाउने जनाएको छ। 

कोरोना भाइरसको संक्रमणको प्रभाव यस नगरपालिकामा समेत देखिएकोले यस गम्भिर परिस्थितीलाई मध्यनजर गरी यस नगरपालिका क्षेत्रभित्र पर्ने अरनिको राजमार्ग र भक्तपुर जाने पुरानो सडक राजमार्गबाहेक अन्य मार्ग तथा बाटोहरुमा सार्वजनिक आवागमन निषेध गरिन विज्ञप्तीमा जनाइएको छ।

त्यसैगरी नगरभित्र आफ्नो घर वा भाडामा बस्ने जिल्ला बाहिर गएको भए हाललाई फर्की आउन नदिने, आएका भए कोरोना परीक्षण नगराई प्रवेश नदिन घरधनीहरुलाई सचेत बनाउने, सो अनुसार नगरे घरधनीलाई कडा कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेर पठाउने विज्ञप्ती मार्फत नगरप्रमुख श्रेष्ठले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.