|

दाङ : रुकुम खारा घरभई हाल तुलसीपुर १९ बिजौरी बस्दै आएका पूर्व जनमुक्ति सेना (लडाकु) रामचन्द्र खड्काले व्यवसायिक कागती खेतीमा उदाहरणीय र लोभलाग्दो प्रगति हासिल गरेका छन्‌।

खड्का २०७४ सालेदेखी व्यवसायिक कागती खेतमा लागेका हुन्‌। वि.सं. २०५८ सालदेखी जनयुद्धमा लागेका खड्का शान्ती सम्झौता भएपछि जनमुक्ति सेना छाडेर विदेश गए। सुरूमा अफगानस्तान र त्यसपछि २ पटक मलेसिया गएका खड्काले विदेशमा पनि भनेजस्तो नभएपछि स्वदेश फर्केर व्यवसायिक कागती खेतीमा लागेको बताए।

‘अफगानस्तानमा २४ महिना र मलेसियामा दुई पटक गरी करिब चार वर्ष बसेँ,’ उनले भने, ‘त्यहाँ सोचजस्तो भएन्, अनि देशमै केही गर्नुपर्छ भनेर कागतीको अनुसन्धानमा लागेँ र नेपालमा यो पेशा राम्रो हुने देखेपछि सुरू गरेँ।’

वार्षिक ५० भाडा तिर्ने गरी तुलसीपुर १९ बिजौरीमा करिब ८० लाख रुपैयाँ लागतमा २३ कठ्ठा जमिन १५ वर्षको लागी भाडामा लिएर १५ सय हाइब्रिड जातका बिरुवा रोपेर कागती खेती सुरू गरेको उनले बताए। भारतबाट कागतीको प्रति बिरुवा २५० रुपैयाँमा ल्याएर रोपेको कागती ६ महिनामै फल्न सुरू गरेपनि उनले डेढ वर्षपछिबाट बिक्रि गर्न थालेको बताए। ‘अहिलेसम्म २५ क्विन्टल बेचिसकेको छु,’ उनले भने, ‘हिजोआज कागतीको माग धेरै भएकाले पुर्‍याउन सकेको छैन्, जस्ले गदा दैनिक १०/१५ जना ग्राहकहरू खाली हात जाने गरेका छन्।’

प्रतिकिलो १२० र प्रति क्विन्टल १२ देखी १५ हजारमा बिक्रि गरेको उनले बताए। ‘अहिले बोटमा कागती कोही फल्दै र कोही रस भरिँदै गरेका छन्, तयार भएजति सबै बेचिसकेँ,’ उनले भने, ‘कागतीको माग बजारमा धेरै छ, बाहिरबाट वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढिको कागती आयात हुन्छ। तर अझै धेरै खेती गरौँ भन्दा न त राज्यबाट अनुदान पाइन्छ, न त बैंकबाट ऋण नै पाइन्छ।’ आफूले किसानहरूलाई राज्यले दिने अनुदानको लागी विभिन्न निकायमा गएको भएता पनि कतैबाट सहयोग नपाएको गुनासो गरे।

सुरूमा व्यवसायिक कागती खेती गर्दा घर परिवार तथा गाउँलेले नै पत्याएका थिएनन्। कागतीले आम्दानी दिन थालेपछि अहिले गाउँलेहरू पनि कागती किन्न र हेर्न आउन गरेको उनले बताए। ‘परिवारबाट पनि मलाई यो दु:खको काम गर्नु हुँदैन, बरु विदेश जाने वा अन्य व्यवसाय गरौँ भन्ने कुरा आएको थियो,’ उनले भने, ‘तर मलाई विदेशी भुमीमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गर्नु पर्छ भन्न लाग्यो, त्यहि भएर यो पेशामा लागेँ।’

नेपालमा करिब ५ देखी १० प्रतिशत मात्र सिजनमा कागती उत्पादन हुने भएकाले आफूले बाह्रैमास फल्ने कागती खेती गरेको उनले बताए। ‘उत्पादन गर्नसके बजारमा कागती बिक्छ,’ उनले भने, ‘तर बजारको समस्या भन्दा बिचौलियाको समस्या धेरै छ, हामी किसानले उत्पादन गरेपनि बिचौलियाहरूले नाफा लिइरहेका छन्, यसतर्फ राज्यले सोच्नुपर्छ।’

आफूले कागती मात्र उत्पादन नभई बिरुवाहरू पनि उत्पादन गर्ने तयारीमा रहेको उनले बताए। अहिलेसम्म १० हजार बिरुवा माग भएको र करिब एक लाख बिरुवा तयार गर्ने लक्ष्य लिएको खड्काले बताए। आफूले उत्पादन गर्ने प्रतिबिरुवाको मूल्य २०० रुपैयाँ पर्ने र रोपेको तीन वर्षमा एउटा बोटबाट करिब एक हजार कागती फल्ने उनको दाबी छ।

खड्काले दाङकै अर्को ठाउँमा करिब तीन बिगाह जमिन भाडामा लिएर केरा खेती, माछापालन र कुखुरापालन गर्न लागेको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.