काठमाडौं : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस कोभिड–१९ को अस्तित्व सधै रहिरहने भन्दै सचेतताका लागि पुनः अपिल गरेको छ।
भाइरस र यसको संक्रमण निर्मूल हुने संभावना न्यून रहेकोले हेलचेक्र्याईं नगर्न पनि उसले सचेत बनाएको छ। स्वास्थ्य संगठनका आपतकालिन निर्देशक माइक राइनले कोरोनालाई एचआइभीको भाइरस सरह नै भन्दै कोरोना भाइरसको समाप्तिका विषयमा गरिएका हल्लाहरुमा विश्वास नगर्न आग्रह गरेका छन्। उनले खोप पत्ता लागेपछि पनि भाइरसको पूर्ण नियन्त्रण निकै कठिन हुने बताए।
हालसम्म विश्वभर झण्डै ३ लाख मानिसको मृत्यु भइसकेको र ४४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेको अवस्थामा कोरोना भाइरस मानव समुदायमा ठूलो प्रकोप बनिरहेको र यो कहिल्लै पनि समाप्त नहुने उनको भनाइ छ।
तर सबैको प्रयास भएमा यसलाई नियन्त्रण गर्न सकिने भएकाले महामारीविरुद्ध सबै एक जुट हुन विश्व स्वास्थ्य संगठनको आव्हान छ। कोरोना भाइरसको संक्रमणबाट युरोप र अमेरिकाका विकसित मुलुकहरु नै सबैभन्दा प्रभावित छन्।
विश्वमा संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या सबैभन्दा बढी रहेको छ। अमेरिकामा हालसम्म ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने १३ लाख ८८ हजारभन्दा बढी संक्रमित छन्। पछिल्लो समय एसियाली मुलुकहरुमा पनि संक्रमण तीब्र गतिमा बढिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।