५१ करोड १४ लाख रुपैयाँ छुट्याइयो, कुन क्षेत्रमा कति बजेट ?

|

बुटवल : प्रदेश ५ सरकारले कोरोना कहरका कारण मारमा परेका किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ। साउन मसान्तभित्रै सम्पन्न गर्ने गरी ५१ करोड १४ लाख रुपैयाँको विशेष कृषि कार्यक्रम ल्याएको हो। 

प्रदेश ५ का १२ वटा जिल्लामा लागु हुने कार्यक्रम विभिन्न ७ क्षेत्रमा केन्द्रित हुनेछन्। जसमध्ये कृषि एम्बुृलेन्स परिचालन, बेमौसमी आलु उत्पादन कार्यक्रम, व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम र कोभिड १९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम रहेका छन्।

यी बाहेक साना किसान, ब्रोइलर कुखुरा उत्पादक किसान, बिउ उत्पादक किसान लक्षित कार्यक्रम र दुग्ध उत्पादक किसानलक्षित कार्यक्रम छन्। प्रदेश सरकारका अनुसार कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैयाँ, बेमौसमी आलु उत्पादन कार्यक्रमका लागि १ करोड २० लाख रुपैयाँ, व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदानका लागि १४ करोड रुपैयाँ र कोभिड १९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेतीउन्मुख प्रोत्साहन कार्यक्रमका लागि २१ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ। 

कार्यक्रमहरुमध्ये बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी, प्युठान, रुकुम र रोल्पा जिल्लामा सञ्चालन हुनेछन्। कम्तिीमा २ देखि ६ रोपनी जग्गासम्ममा आलुखेती गर्ने किसानलाई प्रतिरोपनी ६ हजार रुपैंयाँका दरले अनुदान उपलब्ध गराइनेछ। यस कार्यक्रमबाट ५ सय किसान लाभान्वित हुने सरकारको आकलन छ। 
त्यस्तै व्यावसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा र रुकुम गरी सात जिल्लामा  सञ्चालन हुने छ। 

कार्यक्रमअनुसार २ देखि ६ रोपनीमा खेती गरेका किसानलाई मल र बीउका लागि प्रतिरोपनि ५ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइने छ। १४ करोड रुपंयाँको यो कार्यक्रमलाई सरकारले ७ हजार कृषकलाई यस प्रकारको अनुदान दिने लक्ष्य राखेको छ। 

प्रदेश सरकारका अनुसार प्रदेशका १ सय ९ वटै स्थानीय तहमा लागु हुने गरी व्यवसायिक खेतीका लागि मल विषादी, ससाना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने गरी प्रतिकिसान २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ। १० हजार ९ सय जना प्रत्यक्ष लाभान्वित हुने सरकारको अनुमान छ। 
त्यस्तै प्रदेश सरकारले २ हजार ब्रोइलर कुखुरा पालन किसानहरुलाई प्रतिकिसान ३५ हजार रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको छ। ७ करोड रुपैयाँको यो कार्यक्रममार्फत ६ हजार जना ब्रोइलर कुखुरापालक लाभान्वित हुने सरकारको आकलन छ। 

त्यस्तै दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ। दूध उत्पादनको विगत आठ महिनाको बिक्री तथ्यांक हेरी लकडाउनको ४० दिनको प्रतिलिटर १० रुपैयाँका दरले अनुदान दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए। 

त्यस्तै बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ। सबै जिल्लामा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत २० हजार बिघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने लक्ष्यसहित प्रतिबिघा २० हजार रुपैयाँका दरले अनुदान दिइने छ। 

साउन मसान्तसम्म सम्पन्न हुने गरी घोषणा भएको कुल ५१ करोड १४ लाख रुपैयाँको विशेष कृषि कार्यक्रमबाट ४१ हजार ४ सय जना किसान प्रत्यक्ष लाभान्वित हुने प्रदेश सरकारको आकलन छ। 

रोल्पाको बम बिष्फोटमा ज्यान गुमाएका बालबालिकाको परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। 
प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेशको स्वास्थ्य नीति २०७७ र स्वास्थ्य नियमावली स्वीकृत गरेको छ। त्यस्तै केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभा समक्ष पेस गर्न स्विकृति दिने निर्णय पनि भएको प्रेस सल्लाहकार केसीले जानकारी गराए। साथै बैठकले जेठ ९ गते प्रदेशसभा आह्वानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ। 

क्वारेन्टाइन र अस्पतालको क्षमता विस्तार गरिने 

मन्त्रिपरिषद् बैठकले भारतदेखि आउने नेपाली नागरिकलाई नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्ने विशेष व्यवस्था गर्नका लगि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ। 

त्यस्तै बाँकेमा डेन्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने र बुटवलको कोरोना अस्पतालमा २ सय बेड थप्ने निर्णय गरेको छ। त्यस्तै भैरहवाको भीम अस्पतालमा पनि १ सय बेड थप्ने निर्णय गरिएको प्रेस सल्लाहकार केसीले जानकारी दिए। हाललाई बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा बिरामी पठाउने निर्णय गरिएको छ। 

त्यस्तै बिरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गरी त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले व्यवस्था मिलाउने निर्णय गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.