वडाअध्यक्ष भन्छन् : ठोरी–३ का जनता ढुक्क भए
वडाअध्यक्ष भन्छन् : ठोरी–३ का जनता ढुक्क भए
पर्सा : भारतको जंगलबाट आएका जनावरले खेतीबाली खाएर हैरान भएका पर्साको ठोरी–३ का बासिन्दा अहिले ढुक्क हुन थालेका छन्।ठोरी गाउँपालिका–३ को नेपाली भूमिमा काँडेतार लगाइएपछि जंगली जनावरबाट बालीनाली जोगिँदा स्थानीय ढुक्क हुन थालेका हुन्।
विकास बजेट काँडेतारमा
सीमा क्षेत्रनजिक १० गजा छाडेर ठोरी–३ मा ४ किलोमिटर जमिनमा काँडेतार लगाइएको छ। २०÷२५ बर्षबाट जंगली जनावरले हैरान नागरिकको समस्या तीन वर्षदेखि लगाउन थालिएको काँडेतारले राहत दिएको स्थानीयले बताए।
गत स्थानीय तहको निर्वाचनमा आफू वडाध्यक्ष भएपछि जनताकै चाहना अनुसार बिकास बजेटबाट काँडेतार लगाइएको ठोरी–३ का वडाध्यक्ष सूर्य लामाले थाहाखबरसँग बताए।
काँडेतारले खुल्ला सीमाको फाइदा उठाउँदै हुने अन्य आपराधिक गतिविधि पनि रोकिएको छ। अझ कोरोना संक्रमितको आशंकामा भारतबाट सुटुक्क सीमा कट्नेहरुलाई पनि काँडेतारले छेकेको उनले बताए।
भारतीय पक्षसँग नै सहमति गरेरै दशगजा क्षेत्र छोडेर काँडेतार लगाउन थालिएकोे उनले बताए।
सहमतिमै सुरु, अहिले भने अवरोध
पर्सामा नेपाली किसानले कर बुझाइरहेको जमिनमा त भारतीय पक्षले हडप्न खोजिरहन्छन्। यस्तो अवस्थामा दशगजा क्षेत्र छोडिएको भूगोल उनीहरुले भोली हस्तक्षेप गर्ने सम्भावना रहेन त? भन्ने जिज्ञासामा वडाध्यक्ष लामाले भने, ‘ठूला माछाले सानो माछा खाएझैं भारतले त्यसो गरे त्यो वेइमानी हुन्छ।’
दशगजा क्षेत्रमा कुनै पनि देशले हस्तक्षेप गर्न नपाउने अन्तराष्ट्रिय कानून छ। त्यहाँ कसैले पनि केही गर्न पाउँदैन। हामीले भारतीय एसएसबी, नेपालका सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनप्रतिनीधि सहितको सहमतिमा आफ्नो भूभागमा जंगली जनावरसँग बाली बचाउन भनी काँडेतार लगाएका हौं। यो काम २०७४ सालबाटै सुरु भएको हो। बरु अहिले पो उनीहरुले के सोचे काम गर्न रोक लगाएका छन्।’
डेढ किमिक्षेत्रमा बाँकी
वडा नम्बर ३ मा साढे ५ किलोमिटर जति भूभाग सीमा क्षेत्रमा जोडिएको छ। त्यसमा ४ किलोमिटर क्षेत्रमा काम सकिएको छ। बाँकी क्षेत्रमा काम गर्न अवरोध भयो।
‘हामीले ठोरीको ठुटेखोलास्थित ४३४ नम्बरको जंगेपिलर हुँदै पहिलो वर्ष १५ लाख, दोस्रो बर्ष १० लाख र चालु आर्थिक वर्षमा ८ लाख बजेट काँडेतार लगाउनमा नै खर्चिएका छौं’, वडाध्यक्ष लामाले विस्तारमा भने।
हाम्रो प्रमुख उद्देश्य भारतबाट आउने जंगली जनावरलाई सीमा कट्न नदिनु रहे पनि अहिले भूगोलको संरक्षण भएको कुरा पनि स्वभावैले महसुुस भइरहेको उनको भनाइ छ।
पहिले जनता बचाऊँ
ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले पनि भारतीय जंगलबाट आउने जंगली जनावरसँग नेपाली किसानको बालीनाली संरक्षण गर्न विकास बजेटलाई काडेतार लगाउन खर्चिएको बताए।
काँडेतार लगाएपछि के के फाइदा भयो? के के बेफाइदा भयो समीक्षा गर्ने बताउँदै उनले यसबाट नागरिकलाई केही राहत भने मिलेको बताए। ‘गाउँपालिकाले नागरिकको बाली र खेतीयोग्य जमिन बचाउन सिमानातर्फ र खोलामासमेत तटबन्ध गरिरहेका छौं’, उनले भने, ‘पहिले जनता बचाउने काम हुन्छ। त्यसपछि अन्य कुरामा समीक्षा हुन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।