अन्तर्राष्ट्रिय नियमविपरीत काम गरेको छैन

|

नेपाली भूमि मिचेर भारतले एकलौटी तवरले सडक निर्माण गरेपछि अहिले नेपाल–भारत सीमा विवादको विषय थप पेचिलो बनिरहेको छ। यही बेला पर्सा जिल्लाको ठोरी गाउँपालिका-३ का वडाध्यक्षले भारतीय सीमा क्षेत्रमा काँडेतार लगाएका छन्।

उनको यस कार्यले नेपालमा चर्चा पाएको छ। राजनीतिक दलका केही नेताहरूले पनि सीमामा काँडेतार लगाउने विकल्प प्रस्‍तुत गरेका बेला वडाध्यक्षले सीमा क्षेत्रमा तारबार गरेपछि आमनेपाली खुसी भएका छन्। यसै सन्दर्भमा थाहाकर्मी दिनेश न्यौपानेले वडाध्यक्ष सूर्य लामासँग सीमाक्षेत्रमा काँडेतार नै लगाउनुपर्ने विषयमा गरेको कुराकानीको सम्पादित अंश :

नेपाल–भारतको सीमाक्षेत्रमा काँडेतार लगाउनुभएछ। तारबार नै लगाउनुपर्ने विचार कसरी आयो?
आज मात्रै मलाई सय २ सय जनाले यो प्रश्न गर्नुभयो । काँडेतार लगाउनुपर्ने आवश्यक्ता भएर नै लगाइएको हो। पर्सा जिल्लाको ठोरी गाउँपालिकाको ठोरीस्थित ठुटेखोलामा आजभन्दा २०/२५ वर्षदेखि जनता झगडामा परेका थिए। भारतीयहरूले नेपाल आएर कुटपिट गर्थे। जनता सुरक्षाकर्मी र पत्रकार जोसुकैलाई पनि उनीहरूले कुटपिट गरिरहेका  थिए। नेपाली जनताले भोगचलन गरिरहेको जग्गा, जसले नेपाल सरकारलाई कर तिरिरहेको छ, ऊसँग जग्गाधनी पुर्जा छ। यसरी भनौं दु:ख परेर काँडेतारको  विचार आयो।

कहिले सुरु गर्नु भयो काम?

आठ वर्ष अगाडि अचानक त्यो जग्गा भारतको भएको भनियो। त्यसपछि जनताले मलाई जसरी हुन्छ यो भूभाग जोगाउनुपर्‍यो भने। उनीहरूले काँडेतारबार लगाउन सके हाम्रो २ वटा काम हुने सुझाव दिए। हामीले यहाँ आफ्नो जमित र भूभागको लागि वर्षौंदेखि लडाइँ लड्दै आउनुपरेको छ। काँडेतार लगाउन सकियो भने भारतले दबाब गर्न सक्दैन भन्‍ने लाग्‍यो।

अर्को कुरा भारतको यो वालिमकी टाइगरसप एउटा जंगल छ। त्यो टाइगरसपले सबै जनावर यहाँ ल्याएर छाड्छ। ती जनावरले नेपालीको खेती तथा बालीनाली सबै नष्ट गर्न थालेपछि मैले गाउँपालिकाको अध्यक्षसँग कुरा गरेर वडालाई बजेट छुट्याउन लगाएर २०७४ सालबाट तारबार लगाउन सुरु गरेका हौँ।

सीमा क्षेत्रमा यसरी बार लगाउनुअघि कसैसँग कुरा गर्नुभयो?

सीमामा तारबार गर्नुअघि मैले अन्तर्राष्ट्रिय मामला भएकाले भोलि विवाद होला कि भनेर भारतीय एसएसबी र नेपाल प्रहरीको इन्स्पेक्टर बोलाएर छलफल पनि गराएँ। छलफलपछि एसएसबीले दशगजा छोडेर काँडेतार लगाउन भनेपछि तारबार लगाउन मैले सुरु गरको हुँ। त्यसपछिका वर्षमा पनि मैले गाउँपालिकाबाट बजेट छुट्याएर, त्यसैअनुसार सल्लाह गर्दै निरन्तर काम गर्दै आएको छु। २ वर्षसम्म भारतको वन विभागले अवरोध पनि ल्याएन। तर, अहिले काम सकिने बेलामा भने भारतले केही सातायता काम रोक्न भनेको छ। 
सीमाक्षेत्रमा देखिएका समस्या सुल्झाउने काम त संघीय सरकारको हो। तपाईंले यो काम गर्दा संघ सरकारको समन्वयमै गर्नुभएको हो कि आफैँले?

मैले दशगजा मिचेर अन्तर्राष्ट्रिय मापदण्डविपरीत काम गरेको छैन। जनता सर्वैसर्वा हुन्। मैले जनताले भनेबमोजिम गरेको छु। जनताले नम्बरी जग्गाको कर तिरिरहेका छन्  मैले त्यसै आधारमा काम गरेको हो। 
सीमाक्षेत्रमा तारबार लगाइसकेपछि अब के कस्ता समस्याहरु समाधान होलान्? सीमा अतिक्रमणको समस्या के होला भन्ने लाग्छ यहाँलाई? 

मैले जनताले भनेअनुसार काम गरेको हुँ। सीमामा काँडेतार लगाएपछि पहिलो कुरा भारतले सीमा अतिक्रमण गर्न सक्दैन। अर्को भारतबाट आउने जनावरहरूले नेपालको बालीमा क्षति गर्न सक्दैनन्। मैले अन्तर्राष्ट्रिय नियमविपरीत काम गरेको छैन म ढुक्क छु। तर, अहिले आएर भारतले काम रोक भन्नुको कारण चाहिँ मैले बुझ्‍न सकेको छैन।
कति क्षेत्रमा काँडेतार लगाई सक्नुभयो? अहिले केही ठाँउमा काम रोकिएको भन्ने कुरा पनि छ। किन रोकिएको हो?

मेरो वडामा साढे ५ किलोमिटर सीमाक्षेत्र पर्छ। अहिले  साढे ४ किलोमिटर लगाइसकियो। अब एक किलोमिटर बाँकी छ। ०७४ सालबाट सुरु भएको काम भारतले अहिले आएर किन रोक्यो त्यो त म पनि जान्दिनँ। 

सीमाक्षेत्रमा तारबार लगाउने कार्यको सुरुवात भइसकेपछि नेपाली नागरिकहरूको प्रतिक्रिया कस्तो पाउनुभयो? के भन्छन् त्यहाँका जनता?

जनता एकदम खुसी छन्। उनीहरूले जसरी पनि काँडेतारको कामलाई निरन्तरता दिनुपर्छ भनेका छन्। जनताले बरु हाम्रो बजेट काट्नुस् जसरी पनि सीमामा काँडेतार लगाउनुस् भनेर सहयोग गरेका छन्। 

अहिले सीमाको विषयमा बोल्दा डराउनुपर्ने अवस्था पनि छ, थुप्रै राजनीतिक दलका नेतृत्वहरूले पनि यस विषयमा बोल्न सकिरहेको देखिन्‍न। तपाईंले तारबार नै गर्न थालेपछि असुरक्षित महसुस गर्नुपरेको छ कि छैन?

मलाई मेरो व्यक्तिगत सुरक्षाको निम्ति टेन्सन छैन। भारत त म पस्दै पस्दिनँ। ८ वर्ष भइसक्यो त्यता नगएको पनि। भारत नपस्दा खान नपाएर मरेँ भने पनि यतै मर्छु। किनकि राष्ट्रका हितमा काम गर्दा मर्नु परे पनि आपत्ति छैन। कसैले मार्छन् भने पनि मारून् आपत्ति भएन।

तर, मैले अन्‍तर्राष्ट्रिय मापदण्डविपरीतको काम गरेको छैन। यदि गरेको भए मलाई फाँसी लगाऊन्। मैले जनताको आवाजअनुसार काम गरेको छु। नेपाली भूमि र यहाँका जनताको जिउधन जोगाउनैपर्छ भन्‍ने हिसाबमा मैले काम गरेको हो। कसैले इस्यु बनाएर मलाई मार्छन् भने मर्न तयार छु। मलाई खतरा धेरै छ तर डराएको भने छैन।

यो पनि पढ्नुस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.