भारतबाट लुक्दै आएका वडाध्यक्ष क्‍वारेन्टाइनमा

|

इटहरी : लकडाउनको समयमा भारतबाट लुकिछिपी सीमावर्ती गाउँहरूबाट मानिस नेपाल आइरहेका छन्। नदी भएका सीमावर्ती ठाउँहरूमा ट्युबको सहाराले नेपाल प्रवेश गरिरहेका छन्। 

नदीमा ट्युब तरेर मात्र हैन, सुनसरीमा भने अन्नबाली लगाएको खेतमा लुक्दै नेपाल प्रवेश गर्ने गरेका छन्। सुनसरीको सीमा क्षेत्रका गाँउहरुमा अहिले मकैमा घोगा लाग्न थालिसकेका छन्। घोगा लाग्ने समय भएका मकै खेतीमा मान्छे छिरेपछि देख्न सकिँदैन। लकडाउनको समयमा भारतबाट आउने सजिलो बाटो त्यही सीमाक्षेत्रमा लगाइएका मकै खेती भएका छन्।

सीमा क्षेत्रमा नेपाल भारतका किसानले लगाएका मकै खेतीको बाटो हुँदै भारतबाट मान्छेहरू आउन थालेपछि कोरोना भाइरस संक्रमण फैलिने उच्च जोखिम सुनसरीमा बढ्दै गएको छ।

सुरक्षा निकायहरूले सीमाको आवतजावत कडा पारे पनि सीमावर्ती इलाकामा लगाइएका मकै बारीबाट सुनसरीमा मान्छेहरू आउन छाडेका छैनन्। सुनसरीको भाण्टाबारीदेखि इनरुवासम्म राजमार्गमा भारतबाट आएका धेरै घर पुगिसकेका छन्।

नेपाल र भारतमै लकडाउन भए पनि भारतमा रेल सेवा सुरु भएपछि नेपाल आउन चाहानेहरुका लागि थप सहज भएको हो। सीमावर्ती कोसी गाउँपालिकाका स्थानीय वीरेन्द्र महतोका अनुसार भारतका विभिन्न सहरबाट नेपालको सीमासम्म रेलमा र त्यहाँबाट मकैबारी हुँदै नेपाल छिर्ने गरेका छन्।

दशगजा क्षेत्रको सानो भाग मात्र खालि गरेर सीमा क्षेत्रका बारीहरूमा मकै लगाउने गरिन्छ। ‘१० जना आएर मकै घारीभित्र छिरेपछि कसैले पनि भेट्टाउन सक्दैन’, स्थानीय महतोले भने, ‘अस्ति सरकारले लकडाउन खुकुलो पारेका बेला धेरै मान्छेहरू हिँडेको रहेछ, मेरो मकैबारी पनि बिगारेछन्।’ दैनिक मकैबारीमा लुक्दै छिप्दै नेपाल आउनेहरूले बालीसमेत नष्ट गरेका गुनासो स्थानीयहरूको छ। 

भारतबाट लुक्दै आएका वडाध्यक्ष क्‍वारेन्टाइनमा

सामान्य नागरिक मात्र हैन जनप्रतिनिधिहरू समेत सुरक्षाकर्मीको आँखा छलेर नेपाल छिरेका छन्।  केही दिनअघि मात्र इनरुवा नगरपालिकाका एक वडाध्यक्ष सिमानाको चोरी बाटो हुँदै नेपाल छिरेका थिए। 

सीमामा रहेको मकैबारी हुँदै इनरुवा नगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष श्यामदेव मेहता इनरुवा आइपुगेका हुन्। लकडाउन लम्बिँदै गएपछि भारत पुर्णियामा रहेर ससुरालीमा बस्दै आएका मेहेता मकैबारी भएरै नेपाल छिरेका थिए।

नेपाल छिरेपछि हाल उनी इनरुवा नगरपालिकाले बनाएको क्‍वारेन्टाइनमा बसेका छन्। मेहेता पुर्णियाबाट भाण्टाबारीको सीमासम्म एम्बुलेन्समा आएर राति नेपाल छिरेका थिए। मेहेता मात्र हैन, नेपाल–भारत गरिरहने अधिकांश सीमामा भएका सुरक्षाकर्मीको आँखा छलेर नेपाल छिर्ने गरिरहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.