विचार

संस्कृतिको निर्माता संस्कृतिकै जञ्‍जालभित्र

जेठ ४, २०७७

    हामी कहाँ मात्र होइन संस्कृति र सांस्कृतिक पहिचानका कुराले बेलाबखत चर्चा पाउने गर्छन्। यसलाई कतिपय अवस्थामा राजनीतिको विषय पनि बनाइन्छ। कतिले यो अपरिवर्तनशील र निजी विषय ठान्छन्। वास्तवमा संस्कृति न राजनीति हो नत अपरिवर्तनशील नै हुन्छ। यो परिवर्तनशील सामाजिक विषय हो।

    सामान्यतया परम्परागतगत रूपबाट हामीले सिक्दै र अवलम्बन गर्दै आएको खानपिन, भेषभुषा, नाचगान, चाडपर्व, गीत-सङ्गीत, धर्मकर्म-संस्कार लगायतका कुरालाई संस्कृति भनेर बुझिन्छ।

    तर संस्कृति यतिमात्र होइन। समग्रमा भन्दा कुनै पनि जाति, वर्ग र समुदायले मानिसको सृष्टिकालदेखि नै अनवरत रूपमा अवलम्बन गर्दै आएको, अङगीकार गर्दै आएको समग्र क्रियाकलापको समष्टि रूप नै संस्कृति हो।

    भाषा, साहित्य, धर्म, संस्कार, मूल्य-मान्यता, रीतिरिवाज, गीत-सङ्गीत, सिप,कला, खानपान, भेषभुषा, नाचगान, बाजागाजा लगायतका कुरा संस्कृति अन्तर्गत पर्छन्।

    जीवनशैली जात र धर्म

    मान्छेले परम्परागत रूपमा एक पुस्ताबाट अर्को पुस्तासम्म सिक्दै र भोग्दै आएको समग्र जीवनशैली संस्कृति हो। संस्कृति मानव निर्मित अवधारणा  हो। मानिसले खाना, छाना र नाना अर्थात गाँस, बास र कपासको आवश्यकता पूरा गर्ने सन्दर्भमा अथवा जीविकोपार्जन गर्ने क्रममा नै संस्कृतिको निर्माण भएको हो त्यसैले संस्कृति मानिसको जीवनशैली हो।

    संस्कृति मानिसको जीविकोपार्जनका सिलसिलामा आवश्यकता, परिस्थिति र भूगोलअनुसार निर्माण भएको हुन्छ। मानिसको उत्पत्ति पछि बसाइँसराइ र सभ्यता विकास हुने क्रममा विभिन्न जाति, वर्ग र समुदायमा विभाजन हुन थाले। यसरी विभाजित जाति, वर्ग र समुदाय अलग अलग ढङगले जीवनयापन गर्ने क्रममा अलगअलग प्रकारको संस्कृति निर्माण भएको हो।

    मानिसको संस्कृतिलाई वर्तमान समयमा आइपुग्दा अलगअलग ढङगले चिन्ने-बुझ्ने गरिन्छ। धर्मको आधारमा हिन्दू, बौद्ध, किराँत, ईस्लाम, इशाई संस्कृति आदि। यसरी नै जातको आधारमा राई, लिम्बू, तामाङ, नेवार, मगर, थारू, क्षेत्री, बाहुन, शेर्पालगायत अथाह जातजातिका आफ्नै संस्कृति छन्।

    भूगोल र देश

    देशअनुसार पनि संस्कृति निर्माण हुने गर्छ नेपाली, भारतीय, बेलायती, जर्मनी, अमेरिकी मात्र होइन महाद्विप र उपमहाद्विपका पनि आफ्नै संस्कृति छन। एशियाली, अफ्रिकी, पुरोपेली, दक्षिण अमेरिकी संस्कृति आदि। देश अनुसारको भेष त्यसै भनिएको होइन सायद। व्यापक रूपमा संस्कृतिलाई छुट्याउदा दुनियाँमा पूर्वीय संस्कृति र पाश्चात्य संस्कृतिले मुल रुपमा प्रभाव राखेको पाइन्छ।

    समूह र पहिचान

    मानिसले आफू र आफ्नो चेतना र विकासको गतिसँगै सोही अनुरुपको संस्कृतिको विकास गर्दै लग्यो। मानिस जीविकोपार्जनको लागि जहाँजहाँ पुग्यो त्यही अनुसारको खानपिन, भेषभुषा, नाचगान, चाडपर्व, भाषा-साहित्य आदिको निर्माण गरेको हो।

    कालान्तरमा विभिन्न झुण्डझुण्ड भएर हिँड्ने क्रममा अनेक प्रकारका जातजाति, वर्ग समुदायको निर्माण हुन पुग्यो र त्यही जाति, वर्ग र समुदाय अनुसार कै संस्कृतिको निर्माण हुन पुग्यो। यसरी मानिसको संस्कृतिको अनेक रूप र आयामहरू देखा पर्न पुग्यो।

    संस्कृति मानिसको पहिचान हो। संस्कृतिलाई निरन्तरता दिने चेतनाका कारण मानिस अन्य प्राणीहरु भन्दा फरक भएका हुन्। अन्य प्राणीमा मानिसको जस्तो संस्कृतिमा बलियो पकड रहेको पाइँदैन।

    संस्कृतिको शाब्दिक अर्थ परिष्कार, परिमार्जन, शुद्ध, सुधारिएको, सुव्यवस्थित आदि भन्ने लाग्दछ।

    अङग्रेजीमा संस्कृतिलाई "कल्चर" भनिन्छ। यो ल्याटिन भाषाको कल्टुरा/ कल्चुरा बाट आएको हो र यसको अर्थ पनि मानिसको सभ्यता वा परिवर्तित रुप भन्ने नै लाग्दछ। कतिपय समीक्षकले अङग्रेजी कल्टिभेटबाट कल्चर शब्दको निर्माण भएको भो भन्ने गरेको पनि देखिन्छ। यसको अर्थ पनि परिष्कार, परिमार्जन भन्ने नै लाग्दछ।

    नेपालीमा भन्ने गरिएको "संस्कृति " शब्द पनि संस्कृत शब्द सम् उपसर्गपूर्वक "कृयँ" धातुमा क्तिन प्रत्यय लागेर "संस्कृति" शब्दको निष्पन्न भएको मानिन्छ। समग्रमा भन्दा "संस्कृति" शब्दको शाब्दिक अर्थ परिमार्जन, परिष्कार भन्ने नै हो तर यसको व्यापक अर्थ भने मानिसको जीवनशैली हो जुन परिवर्तन र परिष्कार निरन्तर भइ नै रहन्छ।

    संस्कृतिको प्रारम्भका कुरा

    मानिस सामाजिक प्राणी हो। ऊ समाजमै जन्मन्छ, हुर्कन्छ र जीवनयापन गर्दछ। त्यसैले मानिसले समाजबाटै सम्पूर्ण ज्ञान सिक्दछ। मानिस जुन जाति, वर्ग र समुदायमा जन्मन्छ सोही अनुसारको संस्कृति उसले सिक्दछ। मानिसले सृष्टिकालदेखि नै आफ्नो जीवनयापन गर्ने क्रममा अनेक प्रकारको क्रियाकलापहरु अवलम्बन गर्नु पर्ने बाध्यता थियो।

    मानव सभ्यताको शुरुमा नांगै हिँड्ने मानिसले रुखको बोक्रा, पातपतिङगरले आफ्ना अङगहरु छोप्न सिक्यो। बिस्तारै लत्ताकपडा बुन्न सिके यसरी भेषभुषा संस्कृतिको विकास हुन पुग्यो।

    शुरुमा काँचै खाने मानिसले विस्तारै आगोमा पकाएर खान जान्यो। सिकार गरेर र वनका फलफुल, कन्दमूल मात्र खाएर बाँच्ने मानिसले विस्तारै खेती गर्न सिके यसरी खाना संस्कृतिको विकास हुन पुग्यो।

    सुरुमा रूखका फेद, रूखका टोड्का, ओडार आदिमा बस्ने मानिसले रुखका हाँगाबिगा भाँच्दै जोडेर ससाना छाप्रा बनाउन सिके पछि बिस्तारै काठका र माटाका घरहरु बनाउन थाल्यो। यसरी विस्तारै वास्तु संस्कृतिको निर्माण हुन पुग्यो।

    मानिस जीविकोपार्जन गर्दा गर्दै कैले खुसी हुने, कहिले दु:खी हुने क्रममा गीत-सङ्गीत, नाचगान संस्कृतिको विकास हुन पुग्यो।

    मानिसको चेतना र विकासको गतिसँगै उसलाइ गाँस, वास र कपासले मात्र ऊ खुसी हुन सकेन। उसलाइ मनोरञ्जन पनि गर्नुपर्ने भयो। यही क्रममा नाचगान, बाजागाजा खेलकुद आदि संस्कृतिको विकास हुन पुग्यो। यसरी मानिसका चेतना र चिन्तनको विकाससँगै सोही अनुरूपको संस्कृतिको निर्माण भएको देखिन्छ।

    के भन्न सकिन्छ भने मानिसले जीविकोपार्जन गर्ने क्रममा अनेक प्रकारको क्रियाकलापहरु गर्नुपर्ने भयो मानिसको त्यही क्रियाकलाप वा जीवनशैली नै उसको संस्कृति बन्न पुग्यो। यसरी मानिसद्वारा निर्मित संस्कृति उसको बाँच्ने आधार,समय, भूगोल,परिस्थिति र पर्यावरण अनुसार फरक फरक हुँदै गयो।

    समय र अनुभव

    आजभन्दा एक हजार वर्ष अघिको मानिसको जीवनशैली वा संस्कृति र आजको मानिसको जीवनशैली वा संस्कृति फरक हुनको कारण यही हो।

    संस्कृतिलाई मानिसले आफ्नो अभिन्न अङगको रूपमा लिएको हुन्छ मानिस कुनै न कुनै संस्कृतिमा आबद्ध हुन्छ। समाजमा बाँच्न मानिस संस्कृति ग्रहण गर्न बाध्य हुन्छ। राम्रो, नराम्रो, असल, खरा, फाइदा बेफाइदा केही नहेरी मानिसले परम्परागत आफ्नो संस्कृतिलाई पछ्याइरहेको हुन्छ। त्यसैले मानवशास्त्रमा संस्कृति र व्यक्तिबीचको अन्तर्सम्बन्धलाई केलाउने गरिन्छ जसलाई मनोवैज्ञानिक मानवशास्त्र भनिन्छ

    मानिसको चेतना, विकास, समय, परिस्थिति र आवश्यकता अनुसारको संस्कृति निर्माण हुँदै जाने गर्दछ। मानिस जुन संस्कृतिमा जन्मन्छ सोही अनुसारको उसको सोचाइ, बुझाइ र भोगाइ हुने गर्दछ।

    किनभने संस्कृति सामाजिक कुरा हो। संस्कृति निर्माणमा व्यक्तिको पनि महत्त्वपूर्ण भूमिका रहन्छ। यसरी नै व्यक्तिमा पनि संस्कृतिको गहिरो छाप परेको हुन्छ।

    संस्कृति कसरी व्यक्तिको चरित्रमा हावी भएर बसेको हुन्छ भन्ने सन्दर्भमा पाश्चात्य विद्वान् भिक्टर वार्नो भन्छन् -संस्कृति र व्यक्तिको अध्ययनले खास खालको सामाजिक वातावरणभित्र रहने व्यक्तिगत वा सामाजिक चिनारीको बुद्धि र विकासलाइ बुझ्ने प्रयत्न गर्दछ। त्यसैले मानिस जुन सांस्कृतिक धरातलमा बाँचेको हुन्छ सोही अनुरुपको उसको व्यक्तित्त्व निर्माण भएको हुन्छ।

    कुनै पनि जाति, वर्ग वा समुदायको संस्कृतिको निर्माण र विकास तत्काल नभएर हजारौँ वर्षको निरन्तरताबाट भएको हुन्छ। त्यसैले संस्कृति हजारौँ वर्षको निरन्तरताको इतिहास पनि हो।

    वर्तमान समयमा चलेका चलन संस्कृति होइनन्। संस्कृति त त्यो हो जुन पितापुर्खाको पालोदेखि परम्परागत रूपमा एक पुस्ताबाट अर्को पुस्तासम्म निरन्तर हस्तान्तरण हुँदै आएको हुन्छ। अपरिवर्तनशील र परिवर्तनका नाउँमा बहकिने संस्कृति बाँच्न सक्दैन।

    संस्कृतिका विशेषता

    मानवनिर्मित: संस्कृति केवल मानिसमा मात्र हुने भएको मानवनिर्मित कुरा हो।

    प्राचीन: मानिसले प्राचीन समयदेखि सिक्दै, भोग्दै आएको हुनाले संस्कृति मानिसको प्राचीन सम्पत्ति पनि हो। परम्परागत मूल्य र मान्यता विपरीतको आधुनिक जीवनशैलीलाई संस्कृतिको रूपमा मानिदैन। त्यसैले प्राचीनता संस्कृतिको महत्त्वपूर्ण विशेषता हो।

    परिवर्तनशील: संस्कृति समय,परिस्थिति, आवश्यकता,चेतना आदि अनुसार परिवर्तन भइरहेको हुन्छ। त्यसैले आजभन्दा सय वर्ष अघिका मान्छेको संस्कृति र वर्तमान समयको मानिसको संस्कृतिबीच भिन्नता देखिएको हो।

    यसैगरी अहिलेको पुस्ताले जुन संस्कृतिलाई अवलम्बन गरिरहेको छ सय वर्ष पछिको मानिसको संस्कृति फरक हुनेछ।

    हस्तान्तरित: संस्कृति एक पुस्ताबाट अर्को पुस्तासामु निरन्तर रूपमा हस्तान्तरण हुँदै आएको हुन्छ। पितापुर्खाले बोलेका भाषा, भेषभुषा, खानपिन, गीतसङगीत, चाडपर्व, आस्था अनुष्ठान, मूल्यमान्यता आदि परम्परागत रूपमा हस्तान्तरण हुँदै आएको हुन्छ

    परिमार्जन र परिष्कार: समय, परिस्थिति अनुसार परिष्कृत परिमार्जित हुँदै जाने गर्दछ। संस्कार अनुष्ठान गर्दा खर्च कटौती, दिन घटौती आदि यसका उदाहरण हुन्।

    आध्यात्मिकता: कतिपय संस्कृति आध्यात्मिक चिन्तनको आधारमा खडा भएका हुन्छन्। त्यसैले हरेक धर्म, जाति, वर्ग र समुदायको आआफ्नै प्रकारको कुलदेवता, इष्टदेवता, आराध्यदेवता, धर्मकर्म, पूजाआजा, मठमन्दिर, चर्च, मस्जिद, माङखिम, गिर्जाघर, गुम्बा विहार आदि हुने गर्दछ।

    पृथक पहिचान: हरेक जाति, वर्ग र समुदायको अलग अलग साँस्कृतिक परम्परा हुनु यसको अर्को महत्त्वपूर्ण विशेषता हो।

    मूर्त र अमूर्त संस्कृति

    संस्कृतिको वर्गीकरण सन्सारमा मूलतः दुई प्रकारको संस्कृति भएको मानिन्छ ती हुन्- मूर्त संस्कृति र अमूर्त संस्कृति जसलाई भौतिक संस्कृति र अभौतिक संस्कृति पनि भन्ने गरिन्छ।

    मूर्त संस्कृति भन्नाले भौतिक वस्तुहरु जसलाई छुन, देख्न र स्पर्श गर्न सकिन्छ जस्तैः खानपान, भेषभुषा, बाजागाजा, हातहतियार, गरगहना,वास्तु सामग्री, कला सामग्री आदिलाई बुझिन्छ।

    अमुर्त संस्कृति भन्नाले अभौतिक वस्तुहरु जसलाई छुन, देख्न र स्पर्श गर्न सकिँदैन तर सुन्न, आस्वादन गर्न, अनुभव गर्न सकिन्छ जस्तैः भाषा,साहित्य, गीतसङ्गीत,मूल्यमान्यता, चिन्तनमनन, सिपकला, धर्म अनुष्ठान,मिथक,गाथा, कथा आदिलाई बुझिन्छ।

    सयुक्त राष्ट्रसंघ युनेस्कोले अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी महासन्धि सन् २००३ अनुसार अमुर्त संस्कृति भन्नाले (क) भाषासहितका मौखिक अभिव्यक्ति तथा परम्परा, ( ख) अभिनय कलाहरु, (ग) सामाजिक व्यवहार र चाडपर्वहरु, (घ) प्रकृति र ब्रह्माण्डसङ्ग सम्बन्धित ज्ञानहरु र ( ङ) परम्परागत सिपकलाहरु गरी यी पाँचवटा प्रमुख विधालाइ अमूर्त संस्कृति भनी परिभाषित गरेको छ।

    मेरो आफ्नै कुरा

    मैले संसारका संस्कृतिलाई फरक ढंगले प्रमुख तीन क्षेत्रमा वर्गीकरण गरेको छु। जसअनुसार - (क) आस्था-अनुष्ठानमूलक संस्कृति, (ख) जीविकोपार्जनमूलक संस्कृति र (ग) मनोरञ्जनमूलक संस्कृति।

    संस्कृति मानवनिर्मित मानवमात्रले अवलम्बन गर्ने मानवीय जीवनशैली वा जीवनपद्धति हो जुन परम्परागत रूपबाटै आएको हुन्छ। परिष्कार, परिमार्जन र परिवर्तन यसको विशेषता हो।

    संस्कृति मानिसको पहिचान हो। मानिस संस्कृतिबाट अलग त्यसबेला मात्र हुन्छ जुनबेला ऊ मानिसमै गनिँदैन। संस्कृतिको निर्माता मानिस, संस्कृति कै जञ्जाल भित्र जकडिएर रहेको हुन्छ।

    त्यसैले मानिस जहाँजहाँ पुग्दछ आफ्नो संस्कृतिलाई सँगसँगै लाने प्रयास गर्दछ। देश गुनको भेष भनेजस्तै मानिस जुन संस्कृतिमा हुर्केको हुन्छ सोहीअनुसार उसको विचार, चिन्तन र व्यवहार हुने गर्दछ।

डा. भक्त राई

डा.राई प्राज्ञ हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]