पर्वत : लकडाउनको बेलामा अन्य आर्थिक कारोबार खासै हुँदैनन्। तर घरखर्च चलाउन र लेनदेनका हिसाब मिलाउन मानिसहरू बैंक तथा वित्तीय संस्थामा आफूले राखेको रकम निकाल्न पुगिरहेका हुन्छन्।
यतिखेर बैंकहरूले निश्चित समय तोकेर सेवा दिइरहेका छन्। लकडाउन लागू भइरहेको अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाहरूमा बाक्लो भीडभाड हुने गरेको छ। वित्तीय संस्थाहरूमा हुने गरेको पाइएको छ।
जहाँ मानिसको भीडभाड बढी हुन्छ त्यहाँ नै कोभिड–१९ भाइरस सङ्क्रमण जोखिम बढी रहन्छ। सङ्क्रमण फैलन सक्ने जोखिमको क्षेत्रका रूपमा आर्थिक कारोबार गर्ने बैंक तथा सहकारी संस्थाहरू पनि रहेका छन्।
दैनिक आर्थिक कारोबार चलाउन बैंकिङ कारोबार अत्यावश्यक भएपनि वित्तीय संस्थाहरूमा जाँदा सावधानी अपनाउन आवश्यक छ। सावधानी कसरी अपनाउने त ? विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, चिकित्सक, प्रहरी तथा सेवाग्राहीहरूले बताएका तथा सामाजिक सञ्जालहरूमा भेटिएका १० उपायहरू यस्ता छन् :
१. सकेसम्म बैंक तथा वित्तीय संस्थाका ढोकाहरू आफैं नखोली कार्यरत सुरक्षा गार्डलाई अनुरोध गर्ने। आफैंले खोल्नै पर्ने भएमा सबैले छुने गरेको ह्यान्डल बाहेक अन्य ठाउँमा समातेर तान्ने वा धकेल्ने,
२. बैंकमा राखिएको सेनिटाइजर हातका औँला र हत्केलामा मात्र होइन, नाडीसम्म प्रयोग गर्ने,
३. बैंकमा भीड भएको बेलामा भन्दा खाली भएको मौकामा जाने,
४. आफ्नो पालो आउनै लागेको भएमा सकेसम्म छुट्टै उभिने, बस्नको लागि बेन्च प्रयोग नगर्ने, बस्नै परेमा फराकिलो अन्तरमा बस्ने, बसिरहेको बेलामा बेन्च टेबल वा अन्य बस्तुलाई नछुने,
५. सकेसम्म घरबाट नै चेक भरेर लैजाने तथा केही भौचरहरू घरमै लगेर तयार गरेर ल्याउने, बैंकको भौचर डेस्कको प्रयोग नगर्ने, प्रयोग गरिहालेमा आफ्नो पालो कुर्ने बेला सम्म चेक वा भौचर खल्तीमा राख्ने, हातले आँखा मिच्ने, नाक कोट्याउने काम नगर्ने, खैनी सुर्ती लगायत बस्तु खान वा अन्य प्रयोजनका लागि अनुहारमा हात नलैजाने।
६. ‘क्यासियर’ लाई चेक दिनुभन्दा पहिले नै चेकको पछाडि देखिने गरेर दुई ओटा हस्ताक्षर र मोबाइल नम्बर लेखेर दिने, यो अवस्थामा सकेसम्म आफ्नै कलमको प्रयोग गर्ने तथा उभिँदा वा चेक र भौचर बुझाउँदा ‘काउन्टर डेस्क’ लाई नछोई दिने।
७. ‘क्यासियर’ ले पैसा गनिरहेको बेलामा सकेसम्म उसैसँग मनमनै गन्ने, ‘मसिन’ मा पैसा गनिएको बेलामा ‘काउन्टर डिस्प्ले’ हेर्ने। यसको अर्थ सकेसम्म आफूले पैसा खेलाउने वा गन्ने काम नगर्ने।
८. बैंकबाट निस्कनु पहिले फेरि पनि ‘सेनिटाइजर’ प्रयोग गर्ने, आफैंले ढोका नखोल्ने।
९. सकेसम्म बैंकबाट फिर्ता पैसा लिनु नपर्ने गरी पैसा जम्मा गर्ने।
१०. आफ्नै खातामा जम्मा गर्ने भएमा पैसा जम्मा भएको म्यासेज मोबाइलमा चेक गर्ने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।