|

कञ्चनपुर : भीमदत्त नगरपालिकाको उत्तर पश्चिम क्षेत्रको चुरे फेदी र महाकाली नदी किनारमा दुर्गम बस्ती छ। खल्ला, टुडीखेल र मुसेट्टी नामका ती बस्ती राजा ब्रह्मदेब, किसान नेता भीमदत्त पन्त र ब्रह्मदेब मण्डी अर्थात अहिलेको बाउन्न ढोके (कुनै बेला सुदूरपश्चिम क्षेत्रमा खाद्यान्न लगायतका दैनिक सामानको आपूर्तिकर्ता को इतिहासम्म जोडिएका छन्।

कुनै बेला यी बस्ती आगलागी भएर ध्वस्त हुँदा काठमाडौं सरकारले ६ महिनापछि महाकालीको पानीले आगो निभाउने निर्देशन दिएको थियो। काठमाडौंबाट  यतिसम्म जवाफ पाएको बस्तीका झण्डै चार सय घर परिवारका दुःख पीडा कस्ता होलान भनेर सहज अनुमान गर्न सकिन्छ।

वि.सं. २०७४ को स्थानीय तह निर्वाचनम्म यो बस्तीको हालत निकै लामो समयसम्म जस्ताको त्यस्तै रह्यो। स्थानीय बासिन्दाले आफ्ना दिन फर्किने आश राखेर हरेक चुनावमा आफ्ना जनप्रतिनिधि छाने। चुनावपछि आशा निराशामा परिणत भए। मत दिएका जनप्रतिनिधिले अर्को चुनावसम्म पनि प्रतिबद्धता पुरा गरेनन।

दुःखमाथि दुख, हारमाथि हार र आशामाथि निराशा खेपेको बासिन्दाले स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारहरुलाई त्यस्तै गुनासा र पीडा सुनाए। बस्तीमा बिजुली छैन, पानी छैन, बाटो छैन, फोन छैन, रोजागरी छैन, लाल पूर्जा छैन, माग यिनै थिए। विकासमा ओझेलमा परेका बस्तीको मुहार स्थानीय तहको निर्वाचनपछि फेरिन थालेको छ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट विकासमा कोल्टे फेर्न नसकेका खल्ला, टुँडीखेल र मुसेट्टी लगायत क्षेत्रमा विद्युत सेवा, सडक, खानेपानी, स्वास्थ्य सेवा र टेलिफोन सेवा विस्तारका लागि टावर निर्माण गर्ने कार्य अगाडी बढाइएको बताउँछन्‌। 'स्थानीयका मागलाई चुनावी घोषणा पत्रमा समावेश गरेको थिएँ,' उनले भने, 'ती प्रतिवद्धता पुरा गर्नका लागि तदारुकताका साथ कार्य अगाडी बढाइएका छन्‌।'

स्थानीय तह निर्वाचन पश्चातको अढाई वर्षे अवधिमा खल्ला, टुँडिखेल र मुसेट्टीमा बस्तीमा पहिलो पटक गाडी पुगेको छ। ब्रह्मदेबदेखि कौवानीसम्म सडक ट्रयाक खोलिएको छ। यस बर्षनै टुँडिखेसम्म गाडी पुर्‍याउने लक्ष्य राखिएको छ। सञ्चारका लागि टुँडिखेलमा टेलिफोन टावर निर्माण कार्य अन्तिम चरणमा पुगेको नगर प्रमुख बिष्टले बताए।

भारतीय मोबाइल प्रयोग गर्नुपर्ने बाध्यता हटाउन प्राथमिकताका साथ नेपाल टेलिकमसित पहल गरी टावर निर्माण अघि सुरू गरिएको हो। 'भारतीय बजार उजलीकोटको उज्यालो हेरेर रात काट्नुपर्ने बाध्यता थियो,' स्थानीय बासिन्दा दिनेश थापाले भने, 'विद्युतीकरण कार्य सुरू भएपछि बिजुली बाल्न पाउने आशामा छौं।' अहिले ब्रह्मदेबदेखि टुँडिखेलसम्म विद्युतका खम्बा गाडिएका छन्। लकडाउनका कारण टेलिफोन र विद्युत विस्तार कार्य रोकिएको छ।

बाउन्न ढोका संरक्षणका लागि तारबार गरिएको छ। स्थानीय बासिन्दाका घर-घरमा गोबर ग्याँस प्लान्ट जडान गरिएको छ। वनजङ्गल संरक्षण र स्थानीयलाई पशुपालनमा आकर्षित गर्न गोबरग्याँस निर्माण गरिएका हुन्।

महाकाली नदीमा पहिलो पटक साहसिक जलयात्राा (र्‍याफ्टिङ्ग) को सफल परीक्षण गरिएको छ। यसलाई व्यवसायिक बनाउन बस्तीका युवालाई तालिम दिइएको छ। स्थानीयलाई उत्पादनसित जोडेर स्वरोजगार बनाउने नगर प्रमुख विष्टको योजना छ। गाउँघर क्लिनिक व्यवस्थित गरिएको छ।

पहिलोपटक विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। वासिन्दाकोजग्गाधनी पूर्जाको समस्यालाई समाधान गर्न प्रदेश सरकारको कानुनको प्रतिक्षा गरिएको छ। खानेपानी, विद्यालय सुधार, कुलो सिँचाईको व्यवस्थालगायतका कार्य प्राथमिकतामा छन्।

महाकाली नदीको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माणका लागि संघ र प्रदेश सरकारसित पहल गरिएको छ। दुर्गम बस्तीलाई नमूना बस्ती बनाउने लक्ष्य राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.