|

काठमाडौं : सबै ठिकठाक थियो। चीनको बुहानमा डिसेम्बरमा जब कोरोना भाइरस देखियो। पश्चिमा विश्वले यसलाई औसत भाइरस नै मान्यो, तर यो भाइरस कति भयानक रह्यो भने यसले अहिले विश्वको आधा बढी जनसंख्यालाई घरमा नै कैद गरिदिएको छ। अन्यत्र जस्तै फुटबलमा पनि यो भाइरस प्रकोप परेको छ। अनि विश्वकै प्रतिष्ठित फुटबल प्रतियोगिताहरु एकपछि अर्को गर्दै स्थगित भएका छन्‌।

दुई महिना लामो स्थगन पछि केही प्रतियोगिताहरु रद्ध भए भने कुनै प्रतियोगिताहरु बन्द रङ्गशालामा सञ्चालन गर्ने तयारीमा छन्। यसैबीच जर्मनीले लामो समयदेखि स्थगित फुटबललाई बन्द रङ्गशालामा सुरूवात त गरेको छ। यसले फुटबलमा नै नयाँ मानक स्थापना गरेको छ।

बन्द रङ्गशालामा दर्शकविहीन फुटबल प्रतियोगिता विश्व फुटबलको सर्वाधिक कारुणीक क्षण हो। बुन्डेस लिगा सुरू हुँदा फुटबल मैदानमा फर्किएकोमा दर्शक खुसी रहे, तर दर्शकविहिन रङ्गशालामा भने कुनै चमक थिएन। पहिलो खेलमा बोरुसिया डर्टमन्डले साल्केलाई ४-० ले हराउँदा खुसी मनाउने कोही थिएनन्। खेलाडीले सामाजिक दुरीलाई ख्याल गर्दे खुसी साँटे, तर त्यो वर्तमान पुस्ताले हेरेको सर्वाधिक कठिन फुटबल क्षण थियो।

यसैबीचमा फिफाले कोरोना भाइरसलाई मध्यनजर गर्दै केही दिनअघि फुटबलमा तीन नभएर पाँच खेलाडीसम्म 'सब्स्टिच्युट' गर्न पाउने नियम ल्याएको थियो। साल्के त्यो नियमको उपयोग गर्ने पहिलो टिम बन्यो। साल्केका प्रशिक्षक डेभिड वेग्नरले पाँच खेलाडीलाई सब्स्टिच्युट गरेका थिए। दुई महिनाको लामो अन्तरालपछि मैदानमा फर्किएका खेलाडी घाइते हुने डर दुबै टिमलाई थियो। जसको खतरा कम गर्न पनि पाँचजना सब्स्टिच्युट व्यवस्था गरियो।

मैदानमा देखिएको अर्को मानक भनेको एर्लिङ हल्यान्डले गरेको सेलिब्रेसन शैली पनि हो। उनले लिग रोकिनुअघिको आफ्नो उत्कृष्ट लयलाई दुई महिनापछि पनि कायम राख्न सफल भए। डर्टमन्डलाई शनिबार उपाधि होडमा कायम राख्ने क्रममा सुरूवाती अग्रता उनैले दिलाएका थिए। थोर्गन हजार्डको क्रसमा गोल गर्दै १९ वर्षीय हालान्डले ९ बुन्डेसलिगा खेलमा आफ्नो १० औं गोल संभव बनाए। उनले गोल गरेपनि सामाजिक दुरी कायम राखे।

अन्य खेलाडीहरुबाट अलि टाढै बस्दै केही क्षण उनले खुशीयाली मनाए। हालान्डसँगै दुरी कायम गरेका खेलाडीहरु त्यसपछि पुन: खेलमा फर्किए। बुन्डेसलिगा सुरू गर्ने शर्त मध्येको एक खेलाडीहरुलाई गोलको खुशीयाली मनाउनका लागि अंकमाल गर्नबाट लगाइएको बन्देजको उनले पालना गरे।

फुटबल मैदानमा फर्कँदा विश्वले केहि आशा अवश्य गर्‍यो। कोमामा पुगेको फुटबल मैदानमा फर्कँदा समर्थक केही खुसी भए। तर अस्बर्गका समर्थकहरुले भने लिग सुचारु गर्नुको औचित्यमा प्रश्न उठाए। खाली रङ्गशालाको एक ठाँउमा अस्बर्गका समर्थकहरुले एउटा ब्यानरमा लेखे 'फुटबल भनेको जीवन हो, तर तिम्रो लागि व्यापार बिरामी छ।' यसको सांकेतिक अर्थ युरोपमा अझै पनि हजारौं मृत्यु शय्यामा छटपटाइरहेका छन्। तर व्यापार सुरू गरेको र यो फुटबल हुन नसक्ने तर्क समर्थकको थियो।

लिग सुरू गर्दैगर्दा बेञ्चमासमेत सामाजिक दुरी कायम गर्नुपर्ने थियो। खेलाडीहरुबीच १.५ मिटरको सामाजिक दुरी कायम गर्नु अनिवार्य थियो। जसका लागि बेन्चमा आवश्यक ठाउँ नपुग्ने भएपछि आरबि लाइपजिगले अनौठो उपाय निकाल्यो। उसले खेलाडीहरुलाई बेञ्चको सतहदेखि तीन मिटर माथि रहेको स्ट्यान्डमा राख्यो र खेलाडीलाई तलमाथि गर्न सहजताका लागि नजिकैको एयरपोर्टबाट विमानमा यात्रु चढाउन र ओराल्न प्रयोग हुने भर्‍याङ नै रङ्गशालामा ल्यायो।

जुनसुकै अवस्थामा पनि ८२ हजार समर्थक आकर्षित गर्ने डर्टमन्डको इडुना पार्क दर्शकबिना फिक्का देखियो। रङ्गशाला शुन्य त थियो नै, टेलिभिनजमा प्रत्यक्ष प्रसारण हेरेका समर्थकहरुले बेञ्चमा मास्क लगाएर बसेका खेलाडीहरु देख्दा 'अबको फुटबल यस्तै हुने हो?' भन्ने प्रश्न छोडेर गयो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.