संक्रमित स्वास्थ्यकर्मीमा बिरामीबाटै कोरोना सरेको आशंका

|

धनकुटा : धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सक्रमण देखिएपछि धनकुटाको चौबिसे गाउँपालिकालाई पाँच दिनका लागि सिल गरिएको छ। 

सदरमुकाममा देखिएपछि गाउँपालिकामा पनि संक्रमण हुन सक्ने भएकाले चौबिसे गाउँपालिकालाई सिल गरिएको हो। कोरोना भाइरस नियन्त्रणका लागि गठित विपत् व्यवस्थापन समिति चौबिसेको आकस्मिक बैठकले गाउँपालिकामा एम्बुलेन्सबाहेक सबै खालका सवारीसाधन आवतजावत र अत्यावश्यक सामानका पसल पनि जेठ ५ गतेदेखि ९ गतेसम्मलाई बन्द गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए। 

बिरामीबाटै स्वास्थ्यकर्मीमा कोरोना सरेको आशंका

धनकुटामा आइतबार कोरोना भाइरस संक्रमित भएकी युवती विगत तीन महिनादेखि जिल्ला बाहिर नगएकाले बिरामीबाटै संक्रमित भएको हुन सक्ने आशंका गरिएको छ। 

गत फागुनदेखि आफू कहीँकतै नगएकोले बिरामीबाट आफूमा सरेको हुन सक्ने उनले बताएकी छन्। अस्पतालबाट करिब ६ किलोमीटर टाढा घर भए पनि बजारमा डेरामा बस्दै आएकी छिन् उनी। अस्पताल नजिकै डेरामा रहेकोले शिशुलाई पनि ख्याल गर्न सहज हुने र ड्युटीमा पनि समय दिन सकिने भएकाले अन्यत्र कतै नगएको उनले बताएकी छन्।

सामान्य लक्षण देखा परेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको स्वाब परीक्षणका लागि पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्माले बताए। उनीसँगै अन्य तीन स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मीको स्वाब परीक्षणका लागि प्रतिष्ठान पठाइएको विश्वकर्माले बताए। जसमध्ये एक जनाको मात्र पोजिटिभ रिपोर्ट आएको थियो। 

आइतबार सा“झ कोरोना भाइरस पोजिटिभ भएलगत्तै जिल्ला अस्पतालमा राखिएकी संक्रमित युवतीलाई अस्पतालमा रहेको आइसोलेसन वार्डमा राखिएको थियो। उनलाई सोमबार बिहान कोरोना अस्पताल विराटनगर लगिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.