|

कोरोना भाइरस संक्रमणको असर श्वासप्रश्वास प्रक्रियासँग मात्रै सम्बन्धित रहेको भन्ने बुझाइलाई हालै गरिएको नयाँ अध्ययनले खारेज गरेको छ। भाइरसको असर मानिसका विभिन्न अङ्गमा देखिन सक्ने उक्त अध्ययनको निष्कर्ष छ। 

रिपोर्टका अनुसार, भाइरसको असर फोक्सोमा मात्र सीमित नरही घाँटी, मुटु, मिर्गौला, मष्तिष्क, कलेजो र आन्द्रामा पनि देखिन सक्छ। जर्मनी र हङकङमा गरिका भिन्दाभिन्दै अध्ययनले यस्तो निष्कर्ष निकालेका हुन्। संक्रमितहरूमा देखिने लक्षणलाई बुझ्न यी अध्ययन फलदायी हुने विश्वास लिइएको छ।

कोरोना संक्रमित बिरामीमा अनौठा-अनौठा लक्षण पाइँदै आएको छ। धेरैजसो बिरामीमा श्वासप्रश्वासको समस्या देखिए पनि केहीमा रगत जम्ने, हृदयघात हुने, मिर्गौला फेल हुने र टाउको दुख्ने जस्ता समस्या देखिएका छन्। त्यसैको अध्ययन गर्ने क्रममा अनुसन्धाताहरूले नयाँ तथ्य फेला पारेका हुन्।

कोभिड-१९ लाई हाल श्वासप्रश्वास सम्बन्धी रोगका रुपमा बर्गीकरण गरिएको छ। खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने थोपाबाट रोग सर्न सक्ने र यसबाट कसैकसैलाई पखाला तथा पाचनसम्बन्धी समस्या हुनसक्ने बताइएको थियो।

तर, हालैको अध्ययनमा संलग्न वैज्ञानिकहरूले मानिसको दिसामा पनि कोरोना भाइरस भेटिएको जानकारी दिँदै सरसफाइको कमीबाट पनि संक्रमण फैलन सक्ने चेतावनी दिएका छन्।

हङकङ विश्वविद्यालयका वैज्ञानिकहरूले मानिसको आन्द्रामा भाइरसले पार्नसक्ने असरबारे अध्ययन गरेका थिए। 'मान्छेको आन्द्रा सार्स-कोभ-२ को प्रसारण मार्ग हुन सक्ने देखियो,' नेचर मेडिसिनमा प्रकाशित रिपोर्टमा वैज्ञानिकहरूले लेखेका छन्।साथै,'संक्रमितको दिसामा भेटिएको भाइरस अरूलाई संक्रमित गर्न सक्षम पाइएको' उनीहरूले बताएका छन्। 

जर्मन वैज्ञानिकहरूको अध्ययनले के देखायो? 

जर्मनीको ह्यामबर्ग-एप्पेनड्रोफ मेडिकल विश्वविद्यालयका वैज्ञानिकहरूले कोरोनाका कारण ज्यान गुमाएका २७ जनाको अटोप्सी गरेका थिए।

सो क्रममा मृतकहरूका विभिन्न अङ्गमा भाइरस भेटियो। 'शरीरका फोक्सो, घाँटी, मुटु, कलेजो, मष्तिष्क र मिर्गौलाजस्ता अङ्गहरूमा भाइरस देखियो,' न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा छापिएको रिपोर्टमा भनिएको छ।

'भाइरसले मिर्गौलामा चर्कै असर पारेको देखियो,' रिपोर्टमा भनिएको छ, 'यसले कोभिड-१९ का बिरामीको मिर्गौलामा देखिन सक्ने असर बुझ्न मद्दत गर्छ।'

अध्ययनका अनुसार, पहिल्यै मुटु, मधुमेह तथा मिर्गौलासम्बन्धी रोगसँग जुधिरहेका मानिसका समस्याग्रस्त अङ्गमा भाइरसले सहजै असर गर्न सक्छ। त्यस्ता बिरामीहरू कोभिड-१९ को उच्च जोखिममा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.