जीवनै नरहे पैसाको के काम? घरमै सुरक्षित बसौँ

|

मैले पहिलेदेखि भन्दै आएको छु, नेपालमा असार र साउनमा कोरोना संक्रमण धेरै बढ्नेछ यो अवधिमा हजारौंमा संक्रमण हुनेछ। तीमध्ये ८५ प्रतिशतलाई सामान्य लक्षण देखिएर आफैँ निको हुनेछ। बाँकी १५ प्रतिशतमध्ये आधालाई अस्पतालको सामान्य उपचारले निको हुनेछ| बाँकी ७-८ प्रतिशतलाई सघन उपचार / भेन्टिलेटर आवश्यक पर्नेछ। त्यसको आधाभन्दा कम अर्थात् ३ प्रतिशतको मृत्यु हुनसक्छ।

मृत्यु हुनेमा जोखिम वर्ग जस्तै ज्‍येष्ठ नागरिक, दीर्घरोगी, मुटु रोग, फोक्सो, मिर्गौला तथा क्यान्सरका तेस्रो तथा चौथो स्टेजका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, गर्भवती तथा सुत्केरी र रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामी हुनेछन्।
.
अहिलेसम्म नेपालमा सक्रिय उमेरका व्यक्तिमा संक्रमण धेरै देखिएको छ। संक्रमण कम भएकोले भाइरसको लोड थोरै छ| तर, संक्रमण बढ्दै जाँदा जोखिम वर्गका संक्रमितलाई आइसियु र भेन्टिलेटर आवश्यक हुनेछ। करिब २- ३.५ प्रतिशतको मृत्यु हुन सक्नेछ।

सिमाना १०० प्रतिशत शिल गर्ने, संक्रमित क्षेत्र सिल गर्ने, आवतजावत बन्द गर्ने, सुरक्षाका सम्पूर्ण उपाय अबलम्‍वन गर्नुपर्छ।  डर, त्रास  मान्‍नभन्दा पनि  आफ्नो इम्युनिटी पावर बढाउने गर्दा यो रोगसँग लड्न सकिन्छ। यसका लागि हामी मानसिक तथा भौतिक रूपमा तयार हुनुपर्दछ। भ्रम र हल्लाको भरमा त्रस्त हुनु हुँदैन। आधिकारिक सूचना लिने र विज्ञका सल्लाह अनुशरण गर्नु उपयुक्त हुन्छ।

एउटा कुरा हामीले आत्मसात गर्नुपर्छ कि कोरोना संक्रमण समुदायमा हल्का रुपमा फैलिएको छ । त्यसैले फाट्टफुट्ट रुपमा धेरै जिल्लामा देखिएको छ। नेपालमा सक्रिय उमेरका व्यक्ति तथा बालबालिकामा संक्रमण देखिएको हुँदा घरबाहिर नजाने, अत्यावश्यक काम परे मास्क, चस्मा तथा पञ्‍जा लगाएर जाने, सामाजिक दूरी कायम गर्ने, भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिने गर्नु आवश्यक छ। जीवन रह्यो भने कमाउन सकिन्छ। जीवन नै नरहे कमाएको के अर्थ रह्यो र? त्यसैले घरमै बसौं, सुरक्षित बनौं ।

.लकडाउनको पुरानो तरिका फेरौं

संक्रमितहरु सीमाबाट निर्बाध रुपमा आइरहे। परीक्षणको दायरा अत्यन्तै साँघुरो भयो। पास र पावरको दुरुपयोग गरेर सुरक्षित क्षेत्र असुरक्षित भए। कोरोना संक्रमण भित्रभित्रै निकै बढ्यो, क्वारेन्टाइन तथा परीक्षणको लापरबाहीले २ जनाको ज्यान गयो, लकडाउनको समयमा बस्तीभित्र भिडभाड भयो। अहिले देखिएको समस्‍या यही हो । त्यसैले अब नयाँ ढंगले सोचिनुपर्छ। नयाँ तरिका भन्नाले तत्काल देहाय अनुसारका काम गरिनुपर्छ :

- परिक्षणको दायरा तीव्र गतिमा होस्।
- सिमानामा कडाइ होस्।
- भारतसंग सिमाना भएका सबै जिल्लामा प्रतिजिल्ला ५ हजारको क्षमता भएको क्वारेन्टाइन केन्द्रको स्थापना होस्।

- क्वारेन्टाइनमा हावा, स्वच्छ खाना, पर्याप्त पानी, पंखा, पर्याप्त सौचालय, प्राथमिक उपचारका सामान, एकजना स्वास्थ्यकर्मी, एम्बुलेन्सको व्‍यववस्था, अस्पतालसँग कनेक्सन, इम्युनिटी पावर बढाउने जडिबुटी सेवन, व्‍यायाम, योग, ध्यान, प्रवचन आदिको व्‍यवस्था गरिनु आवश्यक छ।
- १५ दिन सकिन्छ भने देशभर कर्फ्यु वा वैकल्पिक रूपमा कर्फ्युस्तरको लकडाउन गर्नुपर्छ| यसो गर्दा संक्रमितमध्ये ८५ प्रतिशतलाई आफैँ निको हुन्छ।  लक्षण देखिए अस्पताल पुर्‍याउन सकिन्छ अनि रोग समुदायमा फैलिन पाउँदैन।

- मान्छेहरू मर्निंङ वाक, इभिनिङ वाक, सपिङ आदि कामले बिहानबेलुका घरबाहिर निस्किरहेका छन्। तसर्थ बिहानबेलुका कर्फ्यु लगाएर दिउँसो १२-३ बजेसम्म पसल जान समय तोकियो भने भीडभाड हुँदैन।
- डिपार्टमेन्टल स्टोर तथा तरकारी बजार बन्द गर्ने। फलफूल तथा तरकारी स्थानीय पसलबाट खरिद बिक्री गर्ने व्‍यवस्था भएमा भिडभाड हुँदैन।
- सडकमा ट्राफिक प्रहरी, भित्री बस्ती र गल्लीमा अन्य सुरक्षाकर्मिको गस्ती राखिनु पर्छ| भिडभाड मुख्य सडकमा हुँदैन, भित्रि बस्तीमा हुन्छ ।
- अत्यावश्यक काम परेर घर बाहिर जाँदा सही तरिकाले मास्क नलगाएमा, सामाजिक दूरी कायम नगरेमा तथा ३ जनाभन्दा धेरैजना सँगै हिँड्ने गरेमा अन्य देशमा जस्तै जरिवानाको व्‍यवस्था हुनुपर्छ।
- १५ दिनपछि लकडाउन खुकुलो गर्नको लागि रेड, एल्लो, ग्रीन जोन छुट्याउने, विभिन्‍न चरणको प्रारूप तयार गर्ने, अस्पतालमा आइसियु तथा भेन्टिलेटरको संख्या बढाउने लगायतका तयारी जरुरी छ| साथै किसानलाई मल, बिउ तथा अन्य राहत उपलब्ध गराउनुपर्ने देखिन्छ।
यसो गर्‍यो भने अहिले भित्रभित्रै फैलिएको कोरोना संक्रमण नियन्त्रणमा आउनेछ। पुरानो मोडेलअनुसार लकडाउन थप्नुको कुनै औचित्य छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.