अस्पताल भन्छ : 'फैलँदैन, सहयोग गर्नुस्‌'

|

दाङ : दाङको तुलसीपुर १७ बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल व्यवस्थित रुपमा सञ्चालन नभएको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन्। 

बेलझुण्डी क्षेत्रमा रहेका एकिकृत टोल विकास संस्था, देवीपुर टोल विकास संस्था, जमेरामंगरी टोल विकास संस्था, वनकट्टी टोल विकास संस्था, निमुवा टोल विकास संस्था र वेलघारी टोल विकास संस्थाको बैठकले अस्पताललाई पूर्णरुपमा सुरक्षित बनाउने तथा संक्रमण फैलने सम्भावनालाई शुन्य बनाउनुपर्ने बताएका हुन्‌।

अस्पतालमा अहिले १६ जना बिरामीको उपचार हुदै आएको छ। अस्पतालमा बिरामी तथा स्वास्थ्यकर्मीहरुले खाना खाएका जुठा भाँडाहरु छाडा चौपायाले चाट्ने गरेको, अस्पताल परिषद्‌मा तारजालीको व्यवस्थापन हुन नसकेको, प्रवेशद्धारमा काम गर्ने तथा मेस चलाउने व्यक्तिहरुसमेत गाउँ-गाउँमा खुलेआम घुमिरहेको, तरकारी र पानी उपलब्ध गराउने साधनहरु अन्य बस्तीमा समेत घुमिरहेको देवीपुर टोल विकास संस्थाका अध्यक्ष पूर्णबहादुर वलीले बताए।

जिल्लामै कोरोना विशेष अस्पताल सञ्चालनमा आउनु गौरवको विषय भएपनि बिरामीहरुबाट संक्रमण फैलने प्रसस्तै सम्भावना रहेको भन्दै सम्बन्धित निकायले ध्यान दिनु पर्ने एकीकृत टोल विकास संस्थाका सचिव कपिल लामिछानेले बताए।

बिरामीले प्रयोग गरेका खाना खाने थाल र बचेको खानाको उचित व्यवस्थापन गरिनुपर्ने, सड्ने र नसड्ने बस्तुलाई दिनदिनै नियमित रुपमा विसर्जन गरिनुपर्ने, छाडा चौपाया तथा व्यक्तिहरुको आवत जावतलाई नियन्त्रण गरिनुपर्ने, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिनुपर्ने, गेटमा ड्युटी गर्ने सुरक्षाकर्मीलाई पनि अन्य बस्तीहरुमा घुमफिर गर्न बन्देज गर्नुपर्ने, भान्साबाट उत्पादित फोहर राख्ने स्थानमा अनिवार्य रुपमा तारजाली लगाएर व्यवस्थापन गर्न पनि स्थानीयले आग्रह गरेका छन्।

‘हामीहरु बिरामीलाई स्वागत गर्न चाहन्छौं र शीघ्र स्वास्थ्यलाभको समेत कामना गर्दछौं, तर कोरोना विशेष अस्पतालको फोहर व्यवस्थापन समस्याले स्थानीयबासी संक्रमित हुने अवस्था नआओस,’ देवीपुर टोल विकास संस्थाका तुलाराम भने। अस्पतालमा बजेटको भन्दापनि व्यवस्थापनको समस्या देखिएकाले संक्रमण फैलनबाट अस्पताल प्रशासन गम्भीर हुनुपर्ने उनको भनाई थियो। 

अस्पतालका प्रमुख डा. सर्वेश शर्माले अस्पतालको कारणले रोग नफैलिने बताए। ‘अस्पातल बिरामीको उपचार गर्ने ठाउँ हो, यदी अस्पतालबाट नै रोग फैलिन्छ भने अस्पताल बन्द गरे हुन्छ,’ उनले भने,‘अस्पातल परिसरमा गाईबस्तु आउँछ भने स्थानीयले नै यसरी पशुपंक्षी खुलेआम छाड्नुभएन।’ अस्पतालमा एक ठाउँमा मात्र खुलf रहेकाले त्यहाँबाट आउनसक्ने भन्दै स्थानीयतहलाई त्यसको व्यवस्थापन गरिदिन उनले आग्रह गरेका छन्‌। स्वास्थ्यकर्मीले मात्र नभइृ जनप्रतिनिधि र स्थानीयबासीले पनि व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाई छ।

अस्पातलबाट उत्पादित फोहोरलाई खाडल खनेर व्यवस्थापन गर्दै आएको समेत उनले बताए। ‘राजधानीको आश गर्ने दाङमा एउटा रोग फैलिन्छ भन्दै विभिन्न प्रचारबाजी गर्न उचित हुँदैन,’ उनले भने,‘भोलीका दिनमा दाङमा कुनै अस्पताल नआउन सक्छन्, जस्ले गर्दा दाङबासीलाई अप्ठेरो हुन सक्छ। त्यसैले अहिले सबै मिलेर सहयोग गर्नुपर्छ। ’

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका १७ र १८ नम्बर वडाले कोरोना विशेष अस्पतालको अनुगमन गरेका छन्। दुई वटै वडा प्रमुखले अस्पतालको अनुगमनपछि सरसफाईको व्यवस्थापन सुरू गरेको १८ नम्बर वडाध्यक्ष माधव वलीले सामाजिक संजाल फेसवुकमार्फत जानकारी गराएका छन्‌। बाहिर हल्ला फैलिएजस्तो अवस्था नभएको भन्दै स्थानीयबासीलाई त्रसित नहुन वडाध्यक्ष वलीले अनुरोध गरेका छन्‌।

बिरामीले खाना खाएपछि उब्रिएका फोहोरहरू खाडलमा राख्दै माटोले पुर्ने गरिएको र छाडा चौपायाहरू आउँछन् कि भनी हाल सुरक्षाकर्मी ड्युटीमा खटेको समेत उनले जानकारी दिएका छन्‌। अब एक-दुई दिनमै उक्त खाडलहरुलाई तारजालीले बेरेर सुरक्षित राख्नसमेत उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.