विचार

कोरोना संक्रमणबारे जान्‍नैपर्ने तथ्य र गर्नुपर्ने काम

घरमै छन् धेरै उपचार

जेठ ६, २०७७

    कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् ? यी र यस्ता विषय प्रस्तुत गर्ने जमर्को गरेको छु। 

    अहिलेसम्म अधिकांश कोरोना संक्रमित महिलाले जन्माएका शिशुलाई कोरोना संक्रमण देखिएको छैन। पाठेघरस्थित एम्नियोटिक फ्लुइड, आमाको दूध आदिबाट शिशुलाई कोरोना सर्दैन। कोरोना स्वाशप्रश्वासबाट सर्ने भाइरस भएको हुँदा शिशुको नाक, मुख तथा आँखातिर फर्केर खोकेमा, हाच्छ्यु गरेमा तथा असुरक्षित संसर्ग भएमा शिशुलाई कोरोना संक्रमण सर्न सक्छ। तर सबैलाई सर्दैन। नवजात शिशु जन्मिएपछि आमाबाट अलग राख्नु उपयुक्त हुन्छ।


    अहिलेसम्म लामखुट्टे, झिंगा आदिबाट कोरोना भाइरस सरेको देखिएको छैन। कोरोना भाइरस स्वाशप्रश्वासजन्य भाइरस भएकोले लामखुट्टे झिंगाको टोकाइबाट सर्दैन।खानाबाट कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ कोरोना भाइरसलाई न्यून फ्रिजिंग तापक्रम अनुकुल हुने भएकोले खानेकुरालाई सरसफाई गरेर सुरक्षित ढंगले सेवन गर्दा कोरोना भाइरस सर्ने सम्भावना न्यून हुन्छ।

    सरसफाइ

    स्यानिटाइजरभन्दा साबुनपानीले हात धुनु निकै प्रभावकारी हुन्छ। मास्क सही तरिकाले नलगाएमा कोरोना संक्रमण सर्ने डर हुन्छ। त्यसैले सही तरिकाले मास्क लगाउने, मास्क तथा अनुहारलाई नछुने, एकपटक प्रयोग गरेको मास्क पुन:प्रयोग नगर्ने र मास्कलाई सुरक्षित ठाउँमा विसर्जन गर्ने अभ्यास गर्नुपर्दछ।

    संक्रमित व्यक्तिले छुँदैमा तथा छोटो कुरा गर्दैमा कोरोना भाइरस सर्दैन । कोरोना भाइरस सर्न १ हजारदेखि ३ हजार भाइरस हाम्रो शरीरमा प्रवेश गर्न पर्छ । यसको लागि या त संक्रमित व्यक्तिले हाम्रो अनुहारतिर फर्केर खोक्नुपर्ने हुन्छ वा छ्युं गर्नुपर्ने हुन्छ। अन्यथा छोटो समयको सम्पर्कले कोरोना भाइरस सर्दैन भन्नेमा भर परे हुन्छ।

    कोरोना भाइरस हावाबाट सर्दैन । ६ फिटको दूरी कायम गरेमा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ। हाम्रो थुक्ने बानी, मान्छेतिर फर्किएर खोक्ने बानी, हाच्छ्युँ गर्ने बानी तथा सिँगान फाल्ने बानीले कोरोना भाइरस सर्ने सम्भावना हुन्छ।

    सामूहिक शाैचालय प्रोग गर्दा कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ। यो जोखिमबाट बच्न शाैचालयको ह्यान्डल, तालाचापी, चुकुल, भित्तो, सतह, प्यान वा कमोड पटकपटक संक्रमणरहित बनाउनुपर्छ। साबुनपानी, क्लोरिन पानी, स्प्रिट कपास, लाइसोल आदिले शाैचालय सफा गर्नुपर्दछ। त्यस्तै ट्वाइलेट फ्लस गर्दा ढकन लगाएर गर्नुपर्दछ।

    चीनमा भएको अध्ययनले देखाएको छ कि फ्यान ( पंखा ) वा एसीले कोरोना भाइरसलाई १० फिटसम्म फ्याँक्न सक्छ। अमेरिकामा भएको अध्ययनले पनि एसीको एक्जिट कर्नर असुरक्षित हुने भनेको छ। तसर्थ संक्रमित भएको ठाउँमा पंखा र एसिलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्दछ । संक्रमित नभएको परिवारमा पंखा र एसीले हानि गर्दैन।

    क्वारेन्टाइन

    धेरै सूचना लिएर कोरोनाबाट बच्न सकिँदैन। धेरै मिडिया हेर्दा तथा सुन्दा थप चिन्ता र तनाव हुन्छ। तसर्थ आधारिक सूचना लिने बानी गर्नुपर्छ। टेलिभिजन तथा सामाजिक संजाल धेरै हेर्दा ह्यांग हुन्छ। जसले थप तनाव उत्पन्न हुन्छ।

    कोरोना संक्रमण भएको दिनदेखि नै अरुलाई रोग सर्न सक्छ। त्यस्तै निको भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्दछ। एकजनाले औसत ३ जनालाई संक्रमण सार्न सक्छ। कन्ट्याक्ट ट्रेसिंगको आधारमा यो औसत निकालिएको हो। १-२ जनलाई संक्रमण भएका परिवारमा परिवारका सबै सदस्यलाई संक्रमण सर्दैन। एउटा क्वारेन्टाइनमा बसेका सबैलाई सर्दैन। कोरोना संक्रमण सर्नको लागि धेरै संयोग र जोखिम मिल्नुपर्ने हुन्छ। त्यस्तै रोगप्रतिरोधात्मक क्षमता हरेक व्यक्तिको अलग अलग हुन्छ।

    बालबालिका जोखिम वर्गमा पर्दैनन्। तर उनीहरुबाट आफ्नो घरका जोखिम उमेरका व्यक्तिलाई संक्रमण सार्न सक्छन्। कोरोना संक्रमण भएको व्यक्तिमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुनेलगायत लक्षण हुनैपर्छ भन्ने छैन। हाल लक्षणविहीन कोरोना संक्रमण धेरै देखिएको छ। त्यसैले ट्राभल हिस्ट्री र कन्ट्याक्ट हिस्ट्री हेर्नुपर्ने हुन्छ।

    खानपान र सामान्य उपचार

    कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा बस्नुपर्छ भन्ने अनिवार्य छैन। अधिकांश देशमा संक्रमितलाई आफ्नै घरमा आइसोलेसनमा राख्ने गरिन्छ। आराम गर्ने, झोलिलो खाना प्रशस्त खाने, ज्वरो आएमा पारासिटामोल खाने तथा अरु परिवारसँग दूरी कायम गर्दा ८५ प्रतिशत संक्रमितलाई निको हुन्छ। लक्षणहरु देखिएमा तथा गाह्रो भएमा तुरुन्त अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ।

    कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन। ८५ प्रतिशत संक्रमितमा सामान्य लक्षण देखिएर आफैं निको हुन्छ। मुटुको रोग, किड्नीको रोग, फोक्सोको रोग, अटोइम्युन डिस्अर्डर, क्यान्सर आदिका दीर्घरोगीलाई मात्र जोखिम हुन्छ। मृत्युदर जम्मा ३ प्रतिशत हुन्।

    कोरोना भाइरस अत्यन्तै घातक भाइरस हैन। सार्स, मर्स, इबोला, प्लेग, बिफर लगायतका रोगभन्दा यो निकै कम घातक छ।
    संक्रमण फैलिएको यो अवस्थामा सेवन गरिरहेका औषधि तथा नबिग्रिने खाध्य पदार्थ - महिनाको स्टोर गर्ने, तरकारी फलफूल हप्ताको एकपटक किन्ने, दूध दिनमा एकपटक किन्ने गर्दा थप सुरक्षित हुन सकिन्छ।

    कोरोना भाइरस मार्न लागि सोडा, एसिड, अल्कोहल, स्टेरोइड औषधि, इथानोल, तेल आदिले कुल्ला गर्ने वा निल्ने गरेमा खतरा हुन्छ। तसर्थ सरसफाइ, सामाजिक दूरी र बाहिर एकदम कम समय जानेजस्ता सुरक्षित अभ्यासले कोरोना संक्रमणबाट बच्न सकिन्छ।

    हावा ओहोरदोहोर गर्ने ठाउँमा यो भाइरस लामो समय रहँदैन। साबुनपानी, स्प्रिट कपास, तथा स्यानिटाइजरले सफा गर्दा सतहमा वा सामानमा भाइरस निस्क्रिय हुन्छ।

    गर्भवती र नाबालकको सुरक्षा

    नेपालमा मृत्यु भएको पहिलो बिरामीलाई सुरुमा पिआरसी परीक्षण गरेर प्रसव गराएको भए आइसियुमा राखेर बचाउन सकिन्थ्यो। दोस्रो केसको हकमा पनि सुरुमा परिक्षण गरेर अस्पताल पुर्याएको भए, झाडापखाला हुँदा जीवनजल/सलाइन दिएको भए वा अस्पताल पुर्याएको भए बचाउन सकिन्थ्यो।

    संक्रमण धेरै फैलिएर हाम्रा अस्पतालले थेग्ने अवस्था नभएमा हामीले विभिन्न राष्ट्र तथा संस्थाबाट सहयोग पाउनेछौं। चीनलगायत धेरै देशमा कोरोना संक्रमण काबुभित्र आइसकेको छ। हामी पनि आशावादी हुनैपर्छ।

डा. रवीन्द्र पाण्डे

डा. पाण्डे जनस्वास्थ्य विज्ञ हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]