पर्वत : सामान्यतः पिङ सजिलो ठाउँमा लगाइन्छ। दुर्घटनाको जोखिम र सहजताका लागि समथर ठाउँमा पिङ बनाइएको हुन्छ।
तर, पछिल्ला केही समयदेखि सिाहसिक पर्यटकहरूको गन्तव्यका रूपमा विकास गर्न अप्ठ्यारा ठाउँमा पिङ निर्माण गर्न थालिएको छ। कुस्मा नगरपालिका–५ मा यसअघि साहसिक पर्यटकीय गन्तव्यका लागि कालीगण्डकी नदी किनारको भीरमा पिङ लगाइएको थियो। पछिल्लोपटक सोही नदी किनारमा अर्को पििङ निर्माण भएको छ।
बाह्य तथा आन्तरिक पर्यटकहरूमा समेत ‘एडभेन्चर एक्सन’को क्रम बढेपछि हेर्दैमा नै डरलाग्दो कालीगण्डकी नदीको खोँचमा पिङ बनाइएको हो। बन्जी जम्प, प्याराग्लाइडिङ, ¥याफ्टिङ, जीपलाइनजस्ता साहसिक खेलहरूको तीव्र विकास बनिरहेको बेलामा विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालनको तयारीमा रहेको ‘द क्लिफ प्रालि’ले आफ्नै रिसोर्ट परिसरमा नेपालकै अग्लो र नमुना पिङ निर्माण गरेको हो।
बन्जीका लागि कालीगण्डकी नदीको खोँचमा निर्माण भएको पर्वतको कुस्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २२८ मिटर छ भने सोभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २४८ मिटर छ। जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक छ। यो गुलेलीको शैलीमा निर्माण गरिएको छ। सामान्यतया पिङमा अरूले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर छोडिन्छ अनि पिङ मच्चिन्छ।
पिङ निर्माणदेखि र सञ्चालनसम्म सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने द क्लिफका अध्यक्ष तथा सञ्चालक राजु कार्कीले बताए। चट्टान आरोहणलगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरीको प्रयोग गरिएको र दक्ष प्राविधिकबाट डिजाइन गरी निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ। विश्वकै अग्लो स्विङ र स्काई साइक्लिङ समेत निर्माण गरेको कम्पनीले सो क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने अध्यक्ष कार्कीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।