एम्बुलेन्स रोकेको देख्नेबित्तिक्कै पसल बन्द गर्छन्
एम्बुलेन्स रोकेको देख्नेबित्तिक्कै पसल बन्द गर्छन्
काठमाडौं : 'महिला समानताको कुरा गरेपनी सिलाई बुनाई तथा ब्युटिसियन तालिम भन्दा माथी उठ्न सकेनौं हामी। पुरुषसँग बराबरी हुने हो भने पुरुषले गर्ने काममा सहभागी जनाउन जरुरी छ।' विगत ५० दिन देखि एम्बुलेन्स चालकको रुपमा लक्ष्मी थापा मगरले १० वर्ष अघि यहि सोचेर सवारी चलाउन सिकिन।
लकडाउन सुरु हुनु भन्दा केही दिन अघि उनी पुर्वि नेपाल पुगेको थिइन। लकडाउन भएपश्चात् उनी उतै अड्किइन। इटहरीमा प्रशस्तै एम्बुलेन्स थिए। उनलाई लाग्यो, 'यो संकटको बेला कोठामा थुनिनु भन्दा बरु बिरामीको सेवा गर्छु।'
१० वर्ष अघि सिकेको सवारी चलाउने काम उनले कोरोना संक्रमण बढ्दै जादा एम्बुलेन्स चालकको रुपमा सदुपयोग गरेकी छिन।
अधिकाशं मान्छेहरु कोरोनासंग सुरक्षित रहन घर भित्र हुँदा उनी भने पुर्वका अधिकाशं सडक पुगेका जील्लामा बिरामी ओसार्ने काममा खटिरहेकी छिन।
'मनमाया श्रेष्ठ ट्रस्ट' र 'भुवन मगर ट्रस्ट' का दुई एम्बुलेन्स बिना पारिश्रमिक आलोपालो चलाउछिन उनी।
बिना पारिश्रमिकमा सेवा गर्दै आएकी थापालाई कुनै गुनासो छैन। गुनासो त पसल, सरकार, प्रहरी र मिडियासङ छ।
बिरामी बोकेर विभिन्न ठाउँमा जादा भोकले अतालिन्छ शरीर। चाउचाउ भएपनी खाउ भनेर एम्बुलेन्स रोक्छिन उनी। तर विडम्वना चालक भन्ने थाहा पाएपछी पसलका साहुले ढोका बन्द गरिदिन्छन। उनले एउटा घटना सुनाईन, 'इटहरीबाट झापा जाँदै थिएं। चर्को गर्मी र भोकले खुबै अताइलिएको थिएं। राजमार्गका सबै पसल बन्द थिए। झापामा एउटा पसल खुल्ला थियो। त्यो पसलको साहुले एम्बुलेन्स रोकेको देखेपछी पसल बन्द गर्यो।'
बिरामी बोकेर अस्पताल वा घर पुर्याएपछी फर्किदा एम्बुलेन्स खाली हुन्छ। राजमार्गले प्रहरीले आफ्ना मान्छे लगिदिन आग्रह गर्छ। अर्को चेकिङ पोइन्टमा किन मान्छे बोकिस भनेर गाली गर्छ। एउटा प्रहरीको आग्रह स्विकार गर्दा अर्को चेकिङ पोइन्टको प्रहरीको हप्किधप्की सुन्नुपर्छ।
कतिपय अवस्थामा बिरामी बोकेर उनी काठमाडौ आएकी छिन। काठमाडौमा पनि उनका लागि न खानाको व्यवस्थापन छ न सुत्नको लागि। कयौं दिन आफ्नै गाडीमा सुत्नुपरेको छ। भन्छिन, 'दिनभर मरेको मान्छे राख्ने आफ्नै गाडिमा राती डराई डराई सुत्नुपर्छ।'
काठमाडौमा घर हुनेलाई त कुनै आपत्ती नहोला। तर, आफू जस्ता भाडामा बस्नेलाई भने अफ्ट्यारो हुने उनले बताइन।
दुई पटक त उनी पटक त उनी पशुपतिमा खाना खान पुगेकी छिन। मिडियाले अतिरन्जित शीर्षक हालेर भिडियो हालेपछि खाना खान पनि नपाइने होकि भन्ने लागेर मुख छोपेर खानाको लाइनमा बसेको सुनाउँछिन् उनी। भन्छिन्, 'भोक लाग्दा खाना नपाउने डरले गर्दा मिडियाले देख्ला कि भनेर लुकेर हिड्नुपर्ने भएको छ। अतिरन्जित शीर्षक हालेर मिडिया चलाउनेले यस्तो नगर्न आग्रह गर्दछु।'
कोरोना संकटको यो घडिमा एम्बुलेन्स चालकलाई सुरक्षित राख्न सरकारले कुनै योजना ल्याएको छैन। कुनै पनि बिरामी चिकित्सकभन्दा पहिले एम्बुलेन्स चालकसंग सम्पर्कमा आउने गर्दछन। के को बिरामी हो भन्ने कुरा पनि कतिपय चालकलाई थाहा हुँदैन। उनी भन्छि्न, 'बिरामीसँग सिधा सम्पर्क गर्ने एम्बुलेन्स चालकका लागि सरकारले कुनै योजना ल्याएन। यो मेरो व्यक्तिगत समस्या मात्र होइन।'
कतिपय साथीहरुले उनलाई बाचियो भने संसार देखिन्छ। मरियो भने सकियो भन्दै एम्बुलेन्स चलाउन बन्द गर भन्ने गरेका पनि छन। आफुले एम्बुलेन्स नचलाउदैमा नेपालमा एम्बुलेन्स चल्न बन्द नहुने र आफ्नो ठाउँमा अरु कसैले एम्बुलेन्स चलाउने कुरामा उनी सचेत छिन। अहिलेसम्म आफ्नै खर्चले कोरोनाबाट सुरक्षित रहन मास्क, पन्जा, चस्मा, सेनिटाइजरको प्रयोग गरिरहेकि उनले भनिन, 'कोरोनाको संकटको बेला छोडेर हिड्दा मान्छेहरु मलाई के भन्लान्? बरु मरे बिरामीको सेवा गर्द मरौंला।'
उनले हाल एम्बुलेन्सबाट बिरामीलाई काठमाडौं, पाचथत, धरान सम्म पुर्याउने काम गरिरहेकी छिन। लकडाउन थपिदै जादा उनको एम्बुलेन्स चलाउने दिन पनि थपिदै गएका छन। उनी भन्छिन, 'लकडाउन थपिदै गयो। मैले एम्बुलेन्स चलाउने दिन पनि थपिदै गए। बिचमा छोडेर हिड्न मन नभएपछी लकडाउन सकिएपछी पुन पुरानै काममा फर्किन्छु।'
काभ्रेमा जन्मिएकी थापा बनेपामा ड्राइभिङ इन्चिच्युट र होटल व्यवसाय गर्छिन। दुई बच्चालाई पढाइरहेकी पनि छिन। भन्छिन, 'एउटा ९ मा पढ्छ, अर्को ३ मा।'
आज भन्दा १० वर्ष अघि उनले सवारी चलाउन सिकेकी थिइन। काभ्रेको महाभारत गाउँपालिकामा जन्मिएकी उनले बनेपा आएपछी मात्र गाडी देखिन।
त्यसबेला उनी बनेपा आएपछि मायावादे श्रेष्ठसंग भेट भयो।उनी जिल्ला विकास कार्यलयका कर्मचारी थिए। महिला अधिकार क्षेत्रमा काम गरिरहेका श्रेष्ठसंग उनले पनि स्वयंसेवकको रुपमा काम गरिन। काम गर्दै जादा महिला शशक्तिकरण र आत्मनिर्भरका लागि महिलालाई विभिन्न तालिम दिइन्थ्यो। महिलाहरुले सिलाई बुनाई र ब्युटिसियन बाहेक अन्य क्षेत्रमा तालिम लिएको थापाले देखिनन। त्यसपछि उनले ड्राइभिङ सिकिन।
उनी पंक्तिकारको सम्पर्कमा आउदा बिरामी बोकेर झापा जाँदै थिइन्। सुरुवाती चरणमा कोरोनाको चर्चा चल्दै गर्दा उनलाई डर लागेको थियो। अचेल त्यो डर बिस्तारै हट्दै गएको छ। कोरोना विश्वव्यापी समस्या मात्र भएकाले सबै मिलेर कोरोना विरुद्द लड्न आवश्यक रहेको उनले बताइन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।