क्वारेनटाइनमा बसेका सात जनाको आरडिटी पोजेटिभ

|

(पार्थ मण्डल) भद्रपुर, (झापा)। भारतमा अलपत्र नेपाली नागरिक पूर्वी जिल्ला झापाबाट धमाधम स्वदेश फर्किन थालेका छन्। तीन दिनको अवधिमा झापाका सीमा नाकाबाट सात सय बढी नेपाली नागरिक स्वदेश फर्किएका हुन्। 

सबैभन्दा बढी आज आएका छन्। आज एकैदिन साढे चार सय बढी नेपाली नागरिक स्वदेश आएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए। मङ्गलवार १५० र सोमबार ४८ जना नेपाली नागरिक आएको बताइएको छ। उनीहरू सबै भारतका विभिन्न राज्यमा रोजगारी, अध्ययन, घुम्न गएका थिए। कोरोना त्रासपछि सीमा सिल भएपछि उनीहरू भारतमै अलपत्र परेका थिए।

सबै भन्दा बढी काँकडभिट्टा नाकाबाट लुकिछिपी भित्रिएका छन्।  काँकडभिट्टा नाकाबाट तीन दिनको अवधि करिब ५ सय बढी भित्रिएको बताइएको छ। त्यसपछि भद्रपुर, कचनकवल, झापा र गौरीगञ्ज नाकाबाट भित्रिएका हुन्। कचनकवलमा मात्रै करिब एक सय ५० बढी भित्रिएका छन्। नेपाल फर्किएका उनीहरूलाई स्थानीय तह र झापाका प्रहरी प्रशासनले नियन्त्रणमा लिएर सोजै क्वारेनटाइन पठाउन थालेका छन्। 

नेपाल सरकारले अलपत्र नेपालीलाई स्वदेश फर्काउन लिखित आदेश नदिएपछि सीमा नजिकै आइपुगेका उनीहरू लुकिछिपी आउन थालेका हुन्। ‘भारतमा रेलसहित यातायातका सवारीसाधन चल्दा उनीहरू सबै जिल्लाका नाकाहरूबाट लुकिछिपी आएका हुन्,’ सहायक प्रमुख जिल्ला अधिकारी राईले भने, ‘लुकिछिपी झापाका सीमासम्म आइपुगेपछि उनीहरूलाई उद्धार गर्नु पर्ने हुन्छ, फेरि भारत पठाउन मिल्दैन, उद्धार गरिएका सबैलाई सुरक्षित रूपमा क्वारेनटाइन पठाउने काम भइरहेको छ। कसैलाई घर जान दिइएको छ। ‘क्वारेनटाइनमा राखिएका सबैको स्वास्थ्य परीक्षण गरिन्छ, स्वास्थ्य देखिए मात्र घर पठाइन्छ,’ यसका लागि सबै निकाय लागि परेका छन्, उनले भने।

जिल्लामा ९५० शय्याको क्वारेनटाइन

भारतका सीमा नाकामा रहेका नेपालीलाई ल्याएर राख्नका लागि जिल्लामा ९५० शय्याको होल्डिङ सेन्टर अर्थात् क्वारेनटाइन तयारी गरिएको छ।

भद्रपुरस्थित मेची बहूमुखी क्याम्पसमा ३००, कलवलगुरीमा १००, बिर्तामोडस्थित कञ्चनजङ्घा हेल्थ इन्स्टिच्युटमा २००, शिवसताक्षीस्थित राष्ट्र रमणीय आदर्श माविमा १५० दमकस्थित मानसरोवर इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी र मदन भण्डारी प्राविधिक शिक्षालयमा १००/१०० गरी जम्मा ९५० बेडको होल्डिङ सेन्टर तयार गरिएको कोरोना सङ्क्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए।

भारतका विभिन्न स्थानबाट फर्किएका नेपालीलाई झापाका सम्बन्धित पालिकाको क्वारेनटाइनमा पठाएर स्वास्थ्य परीक्षणपछि सम्बन्धित प्रदेश वा जिल्लामा पठाइने व्यवस्था गरिने उनले बताए। 

त्यसमध्ये मेची क्याम्पसमा १७० जना, कलवगुरीमा ७१, कञ्चनजङ्घा हेल्थमा २०० र दमकमा ३७ जना नेपाली नागरिकलाई राखिएको छ। उनीहरू सबै जना भारतबाट आएका हुन्। 

क्वारेनटाइनमा बसेका सातको आरडिटी पोजेटिभ

मेची बहूमुखी क्याम्पस भद्रपुर र कलवलगुरी प्रशिक्षण केन्द्रका क्वारेनटाइनमा बसेका १४५ जनाको यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको छ। त्यसमध्ये सातको आरडिटी रिपोर्टमा कोरोना एन्टीबडी पोजेटिभ आएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए। 

उनका अनुसार क्याम्पसका ४ र कलवलगुरीका ३ गरी सात जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो। आरडिटी रिपोर्ट पोजेटिभ आएपछि २५ जनाको स्वाब थप पीसीआर परीक्षणका लागि कोसी अस्पताल विराटनगर पठाएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.