विश्वास नै ठूलो सम्पत्ति

|

गुल्मी : गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेका ८२ वर्षीया मानबहादुर घर्ती दुई महिनादेखि पेट दुख्ने समस्याले पीडित थिए। गाउँमै घरेलु उपचारबाहेक अरू गरेनन्। समस्या झन् बल्झिँदै गएपछि गुल्मी अस्पताल तम्घास आए। स्वास्थ्य परीक्षणको क्रममा चिकित्सकहरुले हर्नियाको भएको पत्ता लगाए।

समस्या समाधानका लागि शल्यक्रियाबाहेक अन्य विकल्प थिएन। तर, घर्तीको उमेर धेरै भएकाले शल्यक्रिया धेरै जोखिमपूर्ण थियो। उनले दुखाइको पीडाले सहन नसकेर शल्यक्रिया गर्ने निधो गरे।

गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यासहितको चिकित्सकको टोलीले जेठ १ गते सफल शल्यक्रिया गरे। हर्नियाको समस्याले पीडित घर्ती अहिले अस्पतालमै आराम गरिरहेका छन्। ‘शल्यक्रिया राम्रो भयो बुढेशकालमा सजिलोसँग बाँच्ने आस पलाएको छ,‘उनले भने,‘स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।’ घर्तीको ७५ प्रतिशत छुटमा स्वास्थ्योपचार भएको अस्पतालले जनाएको छ।

यस्तै, रेसुंगा नगरपालिका २ बागमारेकी सुशीला श्रेष्ठको अण्डबाहिनी नली फुटेको पत्ता लागेपछि डाक्टर उत्तम पच्या लगायतको टोलीले श्रेष्ठको सफल शल्यक्रिया गरे अहे उनी घरमै आराम गरिरहेकी छन्।

अण्डवाहिनी नलीमा गर्भ बसे खतरा

केही महिलाहरुमा गर्भधारणपछि गर्भ आमाशयमा नगएर अण्डबाहिनी नलीमै विकसित हुने गर्दछ। जसलाई मेडिकल भाषामा ‘एक्टपिक प्रेग्नन्सी’ भन्ने गरिन्छ। विस्तारै गर्भ विकसित भएपछि अण्डबाहिनी नली फुट्ने र अत्यधिक रगत बगेर आमाको ज्यान जान सक्ने खतरा भएकाले समयमै उपचार गर्नुको विकल्प नभएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए।

शल्यक्रियापछि एकपटक फलोअपसमेत भएकाले अहिले सुशीलाको अवस्था राम्रो भएको उनका श्रीमान बालकृष्ण श्रेष्ठले जानकारी दिए। यो आर्थिक वर्षमा श्रेष्ठको जस्तै समस्या भएका तीन जना महिलाको सफल शल्यक्रिया गरिएको गुल्मी अस्पतालका सूचना अधिकारी कासीराम विकले बताए।

नागरिकको विश्वास बढ्दै

गुल्मी अस्पताल तम्घासमा अहिले विभिन्न रोग र प्रसूतिका जटिल शल्यक्रिया भइरहेका छन्। केही वर्ष पहिले रेफर सेन्टर जस्तै रहेको गुल्मी अस्पतालले आफूलाई अब्बल बनाउँदै लगेका कारण अस्पतालप्रति आम नागरिको विश्वास बढ्दै गएको छ।

रेसुंगा बहुमुखी क्याम्पसका स्ववियु सभापति श्रीराम महतले पहिलो सन्तानको लागि जिल्लाबाहिर लगेर श्रीमतीको शल्यक्रियामार्फत प्रसूति गराएका थिए। अहिले उनले गुल्मी अस्पतालमै प्रसूति गराए। आइतबार डाक्टर उत्तम पच्यासहितको चिकित्सकको टोलीले जटिल शल्यक्रिया गरेपछि छोरा जन्मिएको महतले बताए।

यस्तै, नेकपाका नेता हिरा एसीले पहिलो सन्तानका लागि श्रीमतीलाई लुम्बिनी मेडिकल कलेज प्रभास पुराएर प्रसूति गराए। पहिले प्रभास पुगेका उनी अहिले बाहिर गएनन्। गुल्मी अस्पतालमै जटिल शल्यक्रियामार्फत छोरी जन्मिइन्। उनले अस्पताल प्रमुख डाक्टर उत्तम पच्या र उनको टोलीको सक्रियाताको कारण अस्पतालको सेवा प्रवाह अब्बल भएको बताए।

‘अस्पतालको स्वास्थ्योपचार र अन्य सेवा प्रबाहबाट प्रभावित भएकै कारण मैले पनि श्रीमतिको प्रसूति गराएँ,’ उनले भने,‘ अहिले गाउँबाट पाल्पा बुटवल भनेर हिँडेकाहरू पनि एक पटक गुल्मी अस्पताल पसेको पाएका छौँ।’

लकडाउनको समयमा मात्रै पनि सामान्य अवस्थामा प्रसूति नभएका २८ जना गर्भवतीहरुको शल्यक्रियामार्फत प्रसुति गराएको अस्पतालको अन्तरंग शाखा प्रमुख सीता कार्कीले बताइन्। यो आर्थिक वर्षमा गुल्मी अस्पतालबाट पाँच सय आठ गर्भवति आमाहरु प्रसुति भएका छन्।

गुल्मी अस्पताल तम्घासका प्रमुख उत्तम पच्याले आफूसँगै कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, समिति, जनप्रतिनिधि, दल तथा सबै माध्यमबाट सहयोग गर्ने संघ–संस्था र व्यक्तिहरुको कारण अस्पताललाई अहिलेको अवस्थामा ल्याउन सकिएको बताए।

अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले गुल्मी र अर्घाखाँचीका नागरिकको बीचमा अस्पतालले कमाएको विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.