पक्ष–विपक्षमा देखिए विद्यार्थी नेता

|

इलाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतले लेखिएको पत्रको विषयमा सतारुढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियू इलाममा मतभेद पैदा भएको छ। 

जेठ ७ गते केन्द्रीय सदस्य रविन्द्र सुवेदी र जिल्ला संयोजक प्रवेश पराजुलीको नेतृत्वमा ९ जना विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतले लेखेको पत्र पठाएका थिए। 

उनीहरुले नेपाली भूमिमा भारतीय हस्तक्षेप स्वीकार्य नहुने भन्दै मोदीलाई इमेल मार्फत पत्र पठाएका थिए। तर अर्का केन्द्रीय सदस्य सन्धिभक्त शंकर र जिल्ला संयोजक विपिन पोख्रेलले उक्त कदम गुट रक्षाका लागि संगठनलाई ओझेलमा पार्ने प्रयास भएको बताएका छन्। 

‘विद्यार्थीहरुले यस्ता विषयमा आवाज उठाउनु पर्छ भन्नेमा हामी पनि दृढ छौं, तर यो कार्यशैली संगठनको हितविरुद्ध छ,’ शंकरले भने, ‘गुटको रक्षा गर्न गरिएको यस्ता कामले संगठनलाई फाइदा पुग्दैन।’ 

हस्ताक्षरको सम्बन्धमा पूर्वअखिल क्रान्तिकारी र केही पूर्वअखिलका विद्यार्थीहरुलाई समेत जानकारी नगराइएको आरोप छ। अनेरास्ववियू केन्द्रीय कमिटी निर्वाचन आयोगका सदस्य ईश्वरी तामाङले पछिल्लो कदम केन्द्रीय सदस्य रवीन्द्र सुवेदीसहितको स्वार्थ र आत्मकेन्द्रित राजनीतिको एउटा रुप भएको आरोप लगाए। काम राम्रो भए पनि शैली गलत भएको उनले टिप्पणी गरे। 

‘संगठनको एकतापछि अनेरास्ववियूमा सबैको दायित्व समान हुन्छ। एउटै सिंगो पाटो नै छुट्याइएको छ। यस्ता क्रम एक पटक हैन पटक पटक भएको छ। केन्द्रीय सदस्यले मात्र संगठन चलाउने हैन् हेक्का रहोस्’, उनले चुनौती दिए, ‘अनेरास्ववियू कसैको पेवा हैन। सबैको भूमिका समान हुनुपर्छ।’

शंकर र पोख्रेल पूर्वअखिल क्रान्तिकारी हुन् भने तामाङ अखिलका जिल्ला पूर्वअध्यक्षसमेत हुन्।
 
रगतको पत्रमा हस्ताक्षरको नेतृत्व गरेका केन्द्रीय सदस्य सुवेदीले भने यस विषयमा पटक पटक सरसल्लाह र छलफल भएको बताए। उनले एकतापछि दुवै संगठनले जिम्मेवारी उत्तिकै भएकाले अर्का केन्द्रीय सदस्य र सहसंयोजकले रगतले पत्र लेख्ने सन्र्दभमा छलफलमा जागरुकता नदेखाएपछि उपलव्ध विद्यार्थीहरु नै पत्र लेखेको बताए। 

विवादबारे जानकारी छैन : अनेरास्ववियू संयोजक महर

मोदीलाई रगतले पत्र लेखिएको पत्र सम्बन्धमा केन्द्रसँगको समन्वय भएको अनेरास्ववियू संयोजक ऐन महरले बताए। 

उनले केन्द्रीय सदस्य र जिल्ला संयोजकले आफूलाई जानकारी गराएर नै कार्य गरेको बताए। ‘साथीहरुले जुन रगतले पत्र लेख्नुभयो त्यो सही हो, त्यसका सम्बन्धमा मैले धन्यवाद पनि दिएको थिएँ,’ उनले भने। 

रगतले हस्ताक्षर गरेको पत्रमा एकपक्षीय भएको बारे थाहाकर्मीको  प्रश्नमा आफूलाई जानकारी नभएको महरले बताए। ‘राष्ट्रियताको सम्बन्धमा जे गरियो त्यो एकदमै रचनात्मक छ। मैले नै गर्नुस भनेकै हो। त्यहाँ को समेटियो को छुट्यो जानकारी भएन’, उनले जानकारी दिए। 

रगतले पत्र लेख्ने कार्य संस्थागत भएन : सहसंयोजक तामाङ

सीमा अतिक्रमणको सन्दर्भमा रगतले पत्र लेख्ने काम संस्थागत नभएको केन्द्रीय सहसंयोजक रन्जित तामाङले बताए। भने, ‘राष्ट्रियताको विषयमा नयाँ शैलीमा केही गर्नुपर्छ। त्यसका लागि ध्यानार्कषण गराउनु राम्रो कुरा हो। तर संस्थागत नभएको गुनासो आएको छ।’

राष्ट्रियताबारे केन्द्रीय कमिटीलाई सोध्नु जरुरी छैन, तर कमिटीगत रुपमा सल्लाह हुनुपर्ने उनको भनाइ थियो। विधि र पद्धतिलाई संस्थागत रुपमा मिलाउनुपर्नेमा उनले जोड दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.